अमेरिकामा कैयौँ मानिसहरूलाई गोली प्रहार गरिएपछि प्रहरीद्वारा हमलाकारीको खोजी

    • Author, माइकल साइल्स म्याकनामी
    • Role, बीबीसी न्यूज
  • Published
  • पढ्ने समय: ३ मिनेट

अमेरिकाको केन्टकी राज्यको लन्डन सहर नजिकै एउटा राजमार्गमा कैयौँ मानिसहरूलाई गोली प्रहार गरिएपछि प्रहरीले हमलाकारीको खोजी गरिरहेका छन्।

कम्तीमा ७ जना घाइते भएका विवरण आएका छन् तर प्रहरीले कसैको पनि ज्यान गएको जानकारीमा नआएको उल्लेख गरेको छ।

केन्टकीको सिटी अफ लन्डनका मेयरले सन्दिग्ध हमलाकारी अझै फरार रहेकाले मानिसहरूलाई आफ्नो घरको ढोका लगाएर बस्न आह्वान गरेका छन्।

प्रहरीले उक्त आक्रमणमा संलग्न भएको आशङ्कामा एक जना ३२ वर्षका व्यक्तिको नाम सार्वजनिक गरेका छन्। तर ती व्यक्ति कहाँ छन् आफूहरूलाई थाहा नभएको उनीहरूको भनाई छ।

घटनाबारे हामीलाई के थाहा छ?

उक्त घटना स्थानीय समय अनुसार शनिवार साँझ छ बजे भएको थियो जतिबेला प्रहरीलाई 'इन्टरस्टेट ७५'मा सवारी साधनहरूमाथि गोली चलेको जानकारी गराइएको थियो।

उक्त सहरका मेयर र्‍यान्डल वेडलले उक्त घटनामा सातजना घाइते भएको जानकारी दिए।

उनले ती सबैलाई गोली नलागेको उल्लेख गर्दै कसैले पनि ज्यान नगुमाएको पनि जनाएका छन्।

लाउरेल काउन्टी सेरिफको कार्यालयले ३२ वर्षका जोसेफ ए काउच शङ्कास्पद व्यक्ति भएको जानकारी दिँदै उनको साथमा हतियार रहेको र उनी खतरनाक भएको जनाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार राजमार्गनजिक रहेको रूखहरू भएको क्षेत्र वा ओभरपासबाट गोली चलेको थियो।

“शङ्कास्पद व्यक्ति वा शङ्कास्पद व्यक्तिहरू अहिलेसम्म पक्राउ परिसकेका छैनन् तर उनीहरूको खोजी कार्य चालिरहेको छ,” मेयर र्‍यान्डलले फेसबुकमा राखिएको एउटा भिडिओमा भनेका छन्।

उनले थपे: “उनीहरू जहाँ छन् त्यो अप्ठेरो भूगोल हो र त्यहाँ धेरै रुखहरू छन्।”

अनि गोली चलेको थाहा पाइन्

सीएनएनसँग कुरा गर्दै 'इन्टरस्टेट ७५'मा एकजना साथीसँग सवारी चलाइरहेकी क्रिस्टिना डिनोटोले ‘आफ्नो पछाडिको झ्यालबाट एउटा ढुङ्गा गएको जस्तो महसुस गरेको’ र आफ्नो कानमा चोट लागेको बताइन्।

उनले भनिन्, “हामीले एक अर्कालाई हेर्‍यौ र हामीले भन्यौँ, 'के त्यो गोली चलेको हो?' र त्यसपछि हामीलाई लाग्यो, 'होइन, त्यो गोली चलेको होइन'”

उनले झन्डै डेढ घण्टापछि मात्रै आफूले गोली चलेको थाहा पाएको बताइन्।

शुक्रवार अबेर माउन्ट भेर्नोन फायर डिपार्टमेन्टले गोली चलेको ठाउँ नजिकैको राजमार्गको खण्ड झन्डै ३ घण्टा बन्द भएपछि पुन: खुलेको बताइन्।

लेक्सिन्टनस्थित युनिभर्सिटी अफ केन्टकी मेडिकल सेन्टरका प्रवक्ताले अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजलाई उक्त घटनासँग सम्बन्धित दुई बिरामी अस्पतालमा आएको भएपनि उनीहरूको अवस्थाबारे केही नखुलाइएको जनाए।

केन्टकी राज्यका प्रहरी प्रवक्ताले स्थानीय वासिन्दाहरूलाई घरभित्रै बस्न अनुरोध गरेका छन्। साथै आशङ्का गरिएका व्यक्ति नजिक नजान चेतावनी दिएका छन्।

मदिरा, सुर्तीजन्य पदार्थ, हात हतियार र विस्फोटक पदार्थ हेर्ने ब्युरोले आफू पनि खोजीकार्यमा संलग्न रहेको जनाएको छ।

केन्टकीका गभर्नर एन्डी बसिरले सामाजिक सञ्जालमा गोली चलेको स्थान नजिकै सुरक्षाकर्मीहरूले ‘दुवै दिशाबाट इन्टरस्टेटलाई बन्द गराइएको’ बताए।

उनले उक्त क्षेत्र छलेर यात्रा गर्न भन्दै पीडितहरूका लागि प्रार्थना गर्न पनि भनेका छन्।

झन्डै ८ हजार बासिन्दा रहेको लन्डन ड्यानल बुन राष्ट्रिय वन क्षेत्र नजिकै अवस्थित छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।