भारतको उत्तर प्रदेशमा चितुवा लक्षित पिँजडा

    • Author, सेराज अली र शहबाज अन्वर
    • Role, बीबीसी न्यूज, बिन्जौर
  • Published

मनीषा सिंह आफ्नी ६ वर्षिया छोरी याशीलाई चितुवाले आक्रमण गरेको घटना कहिल्यै बिर्सन सक्दिनन्।

“मैले उक्त जनावर हाम्रो घरको आँगनतर्फ आएको, मेरो छोरीलाई समाएको र भागेको देखे। त्यो नै मैले उनलाई अन्तिम पटक जीवित रूपमा देखेको घटना हो।”

सिंहले कैयौँ घण्टापछि आफ्नी छोरीलाई उत्तर प्रदेशको बिज्नौर जिल्लाको एउटा सानो गाउँको उखुबारीमा फेला पारिन्। त्यसबेला तीनको ज्यान गइसकेको थियो।

उक्त आक्रमण बिजनौर चितुवाबाट भएका कैयौँ हमलाहरूमध्ये एक हो। पछिल्लो तीन महिनामा त्यहाँ चितुवाको आक्रमणमा परेर ७ जनाको ज्यान गएको छ। यसमध्ये पाँच वटा हमला एप्रिल १९ देखि २६ बीचका आठ दिनमा भएको थियो। उक्त घटनाले जिल्ला कतिपय गाउँहरूमा डर र तनावको वातावरण निम्त्याएको छ।

वन अधिकारीहरूले सो क्षेत्रमा चितुवाको आक्रमण नौलो नभए पनि पछिल्ला हप्ताहरूमा अकस्मात् आक्रमणको सङ्ख्या बढेको बताइरहेका छन्।

“हमलाहरू ज्यादै घातक खालका भएका छन्,” एक जना वन अधिकारी महेश चन्द गौतम भन्छन्। “तर किन यस्तो भइरहेको छ भन्ने निर्क्योल गर्न सकिएको छैन।”

वाइल्डलाइफ ट्रस्ट अफ इन्डियाका प्रमुख पशु चिकित्सक एनभिके असर्फ विस्तृत अध्ययन हुनुपर्ने ठान्छन्। उनले भने, “हामीले कुन परिस्थितिमा मानवमाथि आक्रमण भयो भन्ने पत्ता लगाउनुपर्छ। दिनको कुन समयमा त्यसो हुन पुग्यो, पीडितहरू को थिए र हमला हुँदाको समयमा उनीहरू कुन परिस्थितिमा थिए भन्ने पनि हेरिनुपर्छ।”

चितुवा लजालु प्रकारको जनावर हो तर पछिल्ला वर्षमा आफ्ना वासस्थान सङ्कुचित हुन थालेपछि उनीहरू गाउँ वा सहर प्रवेश गर्ने गरेका कैयौँ घटनाहरू प्रकाशमा आएका छन्।

हरियो घाँसे क्षेत्र, सिमसार र घना जङ्गलको सङ्गम रहेको बिजनौरमा उनीहरूलाई सजिलै देख्न सकिन्छ। त्यस्तो वातावरणले यी जनावरहरूलाई प्राकृतिक आश्रय प्रदान गर्ने असर्फ बताउँछन्।

उनका अनुसार चितुवाहरू विविधतायुक्त जङ्गल तथा खेतीपाती गरिने क्षेत्रमा सजिलै घुलमिल हुन सक्छन्।

बिजनौरमा कति चितुवा छन् भन्ने यकिन तथ्याङ्क छैन तर वन अधिकारीहरूले सङ्ख्या निरन्तर बढी रहेको बताउने गरेका छन्।

असर्फले हजारौँ एकर जमिनमा फैलिएको उखुबारीले उक्त जनावरलाई सिकार गर्न र लुक्न मद्दत गरिरहेको बताए।

“यसले चितुवाहरूलाई बच्चा जन्माउन पनि सघाइरहेको छ जसले गर्दा जनसङ्ख्या बढी रहेको छ,” उनी भन्छन्।

तर विज्ञहरूले चितुवाको प्राकृतिक वासस्थानमा मानिसहरूले वर्षौँदेखि अतिक्रमण गरिरहेकाले उनीहरू मानव बस्तिमा प्रवेश गर्न बाध्य भएको बताउँदै आएका छन्।

गौतम भन्छन्, “चितुवाले उखुबारीलाई नै आफ्नो बस्ने ठाउँ ठान्छ। त्यही भएर जब मानिसहरू त्यहाँ काम गर्न जान्छन्, आक्रमणको सम्भावना हुन्छ।”

वाइल्डलाइफ कन्जरभेसन ट्रस्टका अध्यक्ष अनीश एन्धेरीयाले ती आक्रमणहरू चितुवाको वासस्थान पातलिँदै जानुको परिणाम हुनसक्ने बताए।

उनका अनुसार मानव छेउमा बस्न थालेपछि मांसाहारी प्रजातिका ठूला जनावरहरूको व्यवहारमा परिवर्तन हुन थाल्छ। तीनले मानिसहरूलाई पनि पर्यावरण चक्रको हिस्सा ठान्दै आफ्नो सिकारका रूपमा हेर्न थाल्ने उनले बताए।

चितुवाले मानिसहरूमाथि आक्रमण गर्नु दुर्लभ नै मानिन्छ। तर असर्फका अनुसार चितुवा ‘नरभक्षी’ हुनसक्ने अवस्था हुन्छ। मानवको रगत चाखेकाले चितुवा त्यस्तो भएको ठान्नु गलत अवधारणा भएको उल्लेख गर्दै उनले सिकार गर्न सजिलो हुने भएकाले मानिसलाई निशाना बनाएको उनले बताए।

“चितुवा सिकार गर्न नसक्ने भएको हुनसक्छ। धारिलो दाँत वा पन्जामा क्षति पुगेको अवस्थामा उसले आफूले सजिलै सिकार गर्न सक्नेहरूलाई आक्रमण गर्ने अवस्था आएको हुनसक्छ।”

स्थानीयहरूले अहिले खेतमा काम गर्न जान छाडेका छन् र उनीहरूले बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनेका छन्।

एक जना स्थानीयवासी फैयाज भन्छन्, “हामी हाम्रो प्रतिरक्षाको लागि जुनसुकै बेलामा लाठी बोकेर हिँड्छौँ।”

अधिकारीहरूले चितुवालाई नियन्त्रणमा लिने प्रयास तीव्र रूपमा अघि बढाएका छन् आक्रमण भएका कैयौँ ठाउँमा पिँजडाको पासो थापेका छन्। “अहिलेसम्म हामीले १० वटा चितुवा समाइसक्यौ,” जिल्लाका वन अधिकारी एके सिंह भन्छन्।

त्यसरी नियन्त्रणमा लिइएका चितुवालाई उक्त गाउँ भन्दा २० किलोमिटर पर अवस्थित अमनगढ आरक्षमा पुर्‍याइएको छ।

वन अधिकारीहरू यस्तो प्रयासले विगतमा आक्रमणहरूमा कमी निम्त्याएको बताएका छन्। उनीहरूले गाउँलेहरूलाई हमलाको जोखिम कम गर्न समूहमा काम गर्न पनि सुझाव दिएका छन्। “चितुवाले सिकार ठान्न सक्ने भएकाले हामीले खेतमा काम गर्दा बसेर काम नगर्न उनीहरूलाई भनेका छौ,” गौतम भन्छन्।

चितुवालाई समाउने प्रयास जारी रहँदा बिजनौरमा त्रासको वातावरण कायमै छ।

मुसेपुर गाउँमा याशीका पिता टेकचन्द आफ्नो उत्पादन नजिकैको बजारमा बेच्ने तयारी गरिरहेका छन्।

उनले भने, “गाउँमा आतङ्कको अवस्था छ,” उनले भने। “मेरो परिवारको सुरक्षा सुनिश्चित गर्न घाम अस्ताउनुअघि नै म फर्किसक्नुपर्छ।”