तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के जाजरकोट भूकम्पको सम्बन्ध भारतीय दरारसँग छ?
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
जाजरकोटमा गत महिना गएको भूकम्पको सम्बन्ध भारतीय फल्ट (दरार) सँग देखिएको भन्ने दाबीलाई नेपालका एक वरिष्ठ भूकम्पविद्ले खण्डन गरेका छन्।
पृथ्वीको सतहमुनि दुईवटा प्लेट जुध्दा कमजोर भाग फुटेर बन्ने दरारलाई फल्ट भनिन्छ। विज्ञहरूका अनुसार त्यही फल्टबाट भूकम्प शुरू हुन्छ।
गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निट्यूडको भूकम्प जाँदा १५० जनाभन्दा बढीको ज्यान गएको थियो।
त्यसको एक महिनाअघि बझाङमा ६.३ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते भएका थिए।
भारतका पृथ्वी विज्ञानमन्त्री किरण रिजिजूले अल्मोडा फल्ट सक्रिय हुनु यो वर्ष नेपालमा भूकम्प गइरहनुको प्रमुख कारण भएको लोकसभामा बताएका थिए।
गत बुधवार दिएको एउटा लिखित जवाफमा उनले भनेका छन्, “भूकम्पीय गतिविधिमा हुने उतारचढावका कारण उत्तरी भारत र नेपालमा मध्यम खालका भूकम्पहरू गइरहनु सामान्य हो।”
“नेपाल र भारतका उत्तरी भेग हिमालय क्षेत्रमा अवस्थित सक्रिय फल्टहरू नजिकै पर्छन्। भूकम्पीय दृष्टिकोणले सक्रिय क्षेत्रमा हुने टेक्टोनिक कलिजनका कारण पटकपटक भूकम्प गइरहने जोखिम रहेको छ।”
अल्मोडा फल्ट पश्चिम-उत्तरपश्चिम-पूर्व-दक्षिणपूर्वदेखि लिएर उत्तरपश्चिम-दक्षिणपूर्वतर्फ सरिरहेको उच्च कोणयुक्त टेक्टोनिक प्लेट हो।
उक्त प्लेटले उत्तरका भित्री साना हिमालयहरू रहेका गढवाल समूहलाई दक्षिणका जौनसार र दूधातोली समूहका बाहिरी साना हिमालयहरूलाई छुट्ट्याउँछ।
भूकम्पविद् के भन्छन्?
नेपाली भूभाग युरेशियन र भारतीय गरी दुईवटा टेक्नोटिक प्लेटको दायरामा आउँछ।
विज्ञहरूका अनुसार भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेशियन प्लेटतर्फ सरिरहेकोले हिमालय क्षेत्रमा दरार पैदा भइरहेका हुन्छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रस्थित वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार जाजरकोट भूकम्पको सम्बन्ध नेपालकै स्थानीय फल्टसँग सम्बन्धित देखिएको छ।
“उनीहरू [भारतीय] ले नाम दिएको अल्मोडा फल्ट र हाम्रो स्थानीय फल्ट उही अक्षांशमा पर्छ। जाजरकोटमा गएको भूकम्पको सम्बन्ध भारतीय फल्टसँग छैन,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
“जाजरकोट भूकम्प रिभर्स फल्टबाट गएको हो। रिभर्स फल्ट भनेको दुइटा प्लेट जुधेर एउटा मुन्तिर छिर्नु र अर्को माथि खप्टिनु हो।”
कोइरालाका अनुसार नेपालमा तीनवटा सक्रिय फल्ट रहेका छन्: एमसीटी (मेन सेन्ट्रल थ्रस्ट), एमबीटी (मेन बाउन्ड्री थ्रस्ट) र एमएफटी (मेन फ्रन्टल थ्रस्ट)।
“जाजरकोटको करिब १० मिटर तल एमएफटीमा गएको भूकम्प थियो” कोइरालाले थपे।
एमएफटी भनेको हिमालयको काखदेखि गङ्गाको मैदानसम्म फैलिएको फल्ट हो जसलाई हिमालयन फ्रन्टल थ्रस्ट पनि भनिन्छ।
पश्चिम नेपाल ‘जोखिमपूर्ण’
सन् १५०० यता ठूलो भूकम्प नगएको नेपालको गोरखादेखि पश्चिम र भारतको देहरादुनदेखि पूर्वको करिब ८०० किलोमिटर भूभाग भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण रहेको विभिन्न वैज्ञानिक अध्ययनले देखाएका विज्ञहरू बताउँछन्।
“त्यो भएर जमिनको सतहमुनि ठूलो शक्ति सञ्चित भएको छ। सानासाना भूकम्पले अलिअलि शक्ति निकास त भएको छ,” वरिष्ठ भूकम्पविद् कोइराला भन्छन्।
“तर विगत ५२० वर्षयता सञ्चित भएको जुन शक्ति छ त्यो शक्तिको न्यून हिस्सा मात्र ६ म्याग्निट्यूडको भूकम्पले निकास हुन्छ।”
पश्चिम नेपाल भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण भएकैले त्यता भूकम्पहरू गइरहेका र ठूलो भूकम्प जाने सम्भावना रहेको उनी औँल्याउँछन्।
गत महिना बीबीसीसँग कुरा गर्दै भूगर्भविद् विशालनाथ उप्रेतीले पनि सो क्षेत्रमा भूगर्भभित्र सञ्चय भएको शक्तिले विसं १९९० मा नेपालमा गएको महाभूकम्पको भन्दा शक्तिशाली भुइँचालोको जोखिम रहेको बताएका थिए।
“सन् १५०५ को भूकम्प कत्रो हो भनेर जाँच्ने उपकरण त हामीसँग छैन। भुइँचालो गइसकेपछि चुरेको फेदमा सरेको चिरा हेर्दा २० मिटरसम्म जमिन सरेको पाइएको थियो।”
“त्यसलाई विश्लेषण गर्दा त्यति बेला ८.५ देखि ८.७ म्याग्निट्यूडसम्मको भूकम्प गएको होला भनेका हौँ,” उप्रेतीले भने।
वरिष्ठ भूकम्पविद् कोइरालाका अनुसार सानातिना भूकम्प गइरहँदा अलिअलि शक्ति निकास हुँदै आए पनि ठूलो भूकम्प निम्त्याउने गरी सञ्चित भएको शक्तिलाई क्षीण गर्न सक्दैन।
“सो क्षेत्रमा ८ म्याग्निट्यूडको भूकम्प जाने शक्ति सञ्चय भएको हुँदा त्यतिकै शक्ति निकाल्न ६ म्याग्निच्यूडका १,०२४ वटा अथवा ७ म्याग्निट्यूडका ३२ वटा भूकम्प गए भने ८ म्याग्निट्यूडको एउटा भूकम्पले निकाल्ने शक्ति बाहिर निस्किन्छ।”
विसं २०७२ सालमा विनाशकारी भूकम्प गएको हुँदा मध्य नेपालमा त्यस्तै भुइँचालो जाने सम्भावना कम रहेको कोइराला बताउँछन्।
गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको भूकम्प जाँदा नौ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो।
“गोरखाको भूकम्प गएर केही शक्ति निस्किसेकोले मध्य नेपालमा तत्काल ठूलो भूकम्प नजाला कि भन्ने अनुमान हो। तर नजाला नै भन्न सकिन्न,” उनले प्रस्ट पारे।
६/७ म्याग्निच्यूडको कति विनाशकारी?
भूकम्पले भन्दा पनि मानिसले बनाएका संरचनाका कारण मानवीय क्षति निम्तिने गरेको विज्ञहरू बताउँछन्।
“६ अथवा ७ म्याग्निट्यूडका भूकम्प जाने ठाउँको भौगर्भिक अवस्था, भौतिक संरचनाको गुणस्तर कस्तो छ भन्ने कुरामा भुइँचालो कति विध्वंसकारी हुन्छ भन्ने निर्भर गर्छ,” कोइराला भन्छन्।
हालै फिलिपिन्समा गएको ७.६ म्याग्निट्यूडको भूकम्पको उदाहरण उनले अघि सारे।
“हाम्रो गोरखाकै भूकम्प जतिकै शक्तिशाली हुँदा पनि मानवीय क्षति भएन। तर जाजरकोटमा ६.४ को भूकम्प जाँदा १५० जनाभन्दा बढीको मृत्यु भयो,” कोइरालाले भने।
“त्यो भएर हामीले पूर्वतयारीमा ध्यान दिनुपर्छ अर्थात् हामीले कस्ता भौतिक संरचना बनाउने, भूकम्प आइहाले के गर्ने भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।