तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेल र इरानबाट फर्कन चाहने नेपालीको विवरण सङ्कलन सुरु, उद्धारको 'उपयुक्त उपाय खोजिँदै'
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ७ मिनेट
युद्धरत इजरेल र इरानमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूको उद्धारका लागि विवरण सङ्कलन सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
परराष्ट्र मन्त्रालय र इजरेलस्थित नेपाली दूतावासले त्यस्तो विवरण सङ्कलनका लागि एउटा आवेदन फारम पनि सार्वजनिक गरेका छन्।
सरकारले उद्धारका लागि विवरण सङ्कलन सुरु गरेका बेला बीबीसीले कुराकानी गरेका इरानस्थित नेपालीहरूले "आवश्यक प्रबन्ध भएमा तत्काल आफूहरू फर्कन तयार रहेको" बताएका छन्।
यद्यपि इजरेलमा रहेका नेपालीहरूमध्ये केहीले "तत्काल फर्कन चाहेको" बताएका छन् भने कतिपयले "आफूहरू अहिले नै फर्कने सोचमा नरहेको" बताएका छन्।
सरकारको निर्णय के हो?
गत साता इजरेलले इरानमाथि आक्रमण सुरु गरेपछि अहिले दुवैतर्फबाट हमलाहरू भइरहेका छन्।
त्यसपछि दुवै देशमा रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे व्यापक चिन्ताहरू व्यक्त भइरहेका छन्।
सरकारी विवरणअनुसार इजरेलमा ५ हजार ५ सय जना नेपाली कार्यरत छन् भने इरानमा १७ जना नेपाली रहेका बताइएको छ।
ती दुई देशबीच लडाइँ अझै चर्कने अवस्था भएपछि स्वदेश फर्कन चाहने नेपालीहरूको उद्धार गर्न आवश्यक कदम चाल्ने निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका दाबीमा सन् २०२३ को अक्टोबर ७ मा इजरेलमा भएको हमलामा जस्तै नेपालीहरूको ज्यान जाने अवस्था नबनोस् भनेर उद्धारको पहल थालिएको हो।
त्यस बेला 'लर्न एन्ड अर्न' कार्यक्रमका लागि इजरेलको कृषि क्षेत्रमा काम गर्न गएका १० जना नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा मारिएका थिए।
बेपत्ता भएका एक नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ।
नेपालीहरूलाई उद्धार गर्नेबारे मङ्गलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवाला निकायहरूसँग एउटा बैठक गरेर विभिन्न निर्णय गरेको अधिकारीहरूले बताएका छन्।
मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख सहसचिव जीवलाल भुसालले भने, "ती देशहरूमा रहेका नेपालीहरूको रेकर्डहरू अद्यावधिक गर्ने र उद्धार गर्नुपर्ने अवस्थामा तत्काल उद्धारको काम गर्ने भन्ने निर्णय भएको छ।"
"त्यसका लागि उद्धारको व्यवस्थापनमा वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षाकोषले पनि आवश्यक तयारी गर्ने निर्णय भएको छ।"
उक्त बैठकमा ती देशहरूमा रहेका नागरिकहरूसँग सम्पर्कमा रहने र विवरण लिनका लागि परारष्ट्र मन्त्रालयले नियोगहरूलाई खटाउने निर्णय भएअनुसार काम सुरु भइसकेको अधिकारीहरूको भनाइ छ।
इजरेलस्थित नेपाली दूतावासले बुधवार जारी गरेको एउटा सूचनामा नेपालीहरूलाई उद्धारका लागि फारम भर्न भनिएको छ।
त्यसमा भनिएको छ,"इजरेलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना सङ्कलनको काम सुरु गरेको छ।"
"यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरूले तलको लिङ्कमा क्लिक गरी रजिस्ट्रेसन गर्नु हुन अनुरोध गरिन्छ।"
उक्त फारमलाई परराष्ट्र मन्त्रालयले पनि "इजरेल र इरानमा रहेका नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि विवरण फारम" भनेर त्यसलाई आफ्नो वेबसाइटमा राखेको छ।
यसअघि गत आइतवार परराष्ट्र मन्त्रालयले ती देशहरूमा विकसित घटनाक्रमलाई "नजिकबाट नियालीरहेको" र "त्यहाँ रहेका नेपालीहरूको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने" जनाएको थियो।
मन्त्रालयले इजरेल र इरानमा रहेका नेपाली नागरिकहरूलाई सहयोग चाहिएमा तेल अभिभस्थित नेपाली दूतावास र इरानसमेत हेर्ने कतारस्थित दूतावासलाई सम्पर्क गर्न आग्रह गर्दै केही कर्मचारीको मोबाइल नम्बर र इमेललगायतका विवरण सार्वजनिक गरेको थियो।
'इरानका सबै नेपाली फर्कन चाहन्छन्'
बीबीसीले कुराकानी गरेका इरानमा कार्यरत नेपालीहरूले "यदि सरकारले फर्काउने व्यवस्था गरिदिए" आफूहरू तत्काल स्वदेश फर्कने बताएका छन्।
विगत १७ वर्षदेखि इरानमा रहेका र हाल त्यहाँस्थित यूएई दूतावासमा 'शेफ'का रूपमा कार्यरत अर्घाखाँचीका विष्णुप्रसाद भुसालले "अहिलेको परिस्थितिमा मिलेसम्म सबैले फर्कन चाहेको" बताए।
उनको सम्पर्कमा हाल ११ जना नेपालीहरू छन् र उनीहरू प्राय: सबै त्यहाँका विभिन्न दूतावास तथा कम्पनीमा काम गर्छन्।
इरानसमेत हेर्ने कतारस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार हाल इरानमा १७ जना नेपालीहरू रहेको अनौपचारिक विवरण छ।
त्यसमध्ये 'अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा' पक्राउ परेका पाँच नेपाली युवाहरू पनि छन्।
उनीहरूलाई युरोप पठाउने बहानामा "मानव तस्कर"ले इराक हुँदै इरानतर्फ पुर्याएपछि त्यहाँ अलपत्र पारेको बताइन्छ।
"हामी अहिले जेलमा रहेका पाँच जना भाइहरूको पनि अदालती प्रक्रिया सकिएर छुट्ने निर्णय भइसकेकाले उनीहरूलाई छुटाएर होटलमा सार्ने पहल हामी गर्दैछौँ," भुसालले भने।
तेहरानस्थित सिरियाली दूतावासमा कार्यरत अर्घाखाँचीकै सागर पौडेलले पनि "सरकारले फर्कने व्यवस्था गरेमा तत्काल फर्किने" बताए।
उनले भने, "अहिलेसम्म कसरी फर्कने भन्ने व्यवस्था भएको छैन। यदि सरकारले व्यवस्था गर्यो भने हामी सबै यहाँबाट फर्कने भन्नेमा नै छौँ।"
भुसालका अनुसार सडक मार्ग हुँदै अजरबैजान गएर नेपाल फर्कने विकल्प सहज हुन सक्छ।
तर त्यसका लागि अजरबैजानले नेपालीहरूलाई भिसा दिनुपर्ने हुन्छ र त्यो प्राप्त भएन भने उक्त विकल्पले काम नगर्ने बताइएको छ।
"यताबाट टर्कीसम्म जाने व्यवस्था गरेर टर्कीबाट पनि फर्कन सकिन्छ तर त्यसको पनि व्यवस्था हुनुपर्यो," उनले भने।
इरानमा रहेका नेपालीहरूले हालसम्म व्यक्तिगत घर वा उनीहरू रहेका क्षेत्र अनि विदेशी नियोगहरूलाई इजरेलले निसाना नबनाएकाले आफूहरू सुरक्षित रहेको बताएका छन्।
इजरेलमा कोही फर्कन चाहन्छन्, कोही ढुक्क
गैरआवासीय नेपाली सङ्घ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारी अहिले इजरेलको अवस्था पहिलेपहिलेका लडाइँका बेलामा जस्तो नभई 'निकै संवेदनशील' रहेको बताउँछन्।
"यहाँ अहिले हामीले सुरक्षाका सबै उपायहरू अपनाएर दिइएका निर्देशन पालन गर्यो भने अवस्था धेरै बिग्रिएको छैन तर हामी शेल्टरमा त गएर बस्नै पर्छ हेलचेक्र्याइँ गर्नु हुँदैन," उनले भने।
"तर पनि केही नेपालीहरू आत्तिनु भएको छ। अवस्था राम्रो हो र आजबाट त झन् राम्रो भएको छ," बुधवार उनले भने।
यद्यपि इजरेलमा रहेका एक नेपाली चिकित्सकले त्यहाँस्थित नेपाली राजदूत धनप्रसाद पण्डितलाई इमेल नै लेखेर तत्काल नेपाल फर्किने व्यवस्था गर्न आग्रह गरेको पण्डितले नै बीबीसीसँग पुष्टि गरेका थिए।
"अहिलेसम्म खासै कसैले तत्काल उद्धार गर्नु पर्यो भनेका छैनन् तर केही फर्किने मनस्थितिमा पनि छन्। त्यसैले अब जसले फर्कन चाहन्छन् उनीहरूलाई फर्काउन हामीलाई पहल गर्न सहज होस् भनेर दूतावासले पनि फारम भराएको हो," उनले भने।
जेरुसलेममा रहेका भैरव खड्का पनि "तत्काल नेपालीले फर्कन आत्तिनु पर्ने अवस्था नरहेको" बताउँछन्।
"अहिले एआईबाट बनाइएका फोटो र भिडिओ हेरेर पनि कति मानिसहरू आत्तिएका छन् तर अवस्था खासै बिग्रिएको छैन त्यसैले अहिले नै आत्तिएर फर्कनु पर्ने भन्ने छैन," उनले बीबीसीसँग भने।
यद्यपि बीबीसीले सम्पर्क गरेका इजरेलको हाइफा क्षेत्रमा कार्यरत केही नेपाली महिलाहरूले आफूहरूलाई घरपरिवारका सदस्यहरूले पनि "फर्कन आग्रह गरिरहेको" र अवस्था पनि बिग्रिएकाले उद्धारको पहल भए तत्काल फर्कने बताएका छन्।
त्यहाँ केअरगिभरका रूपमा कार्यरत एक महिलाले भनिन्, "अहिले पहिलेको भन्दा अवस्था निकै बिग्रिएको छ। डर त लागेकै छ तर यहाँ साइरन बज्छ अनि बङ्करमा बसेपछि खासै असुरक्षा हुँदैन भन्ने लाग्छ।"
"यहाँ सुरक्षाको प्रबन्ध भए पनि घरपरिवारलाई बुझाउन सकिँदैन। उताबाट आइहाल्नू भन्नुहुन्छ त्यसैले मैले पनि दूतावासको फारम भरेँ अनि साथीहरूलाई पनि भराएँ। फर्किनु पर्ने अवस्था आएन भने कम्तीमा नेपालीहरू कति छन् भन्ने पनि थाहा हुन्छ भनेकाले फारम भरेको हो।"
यद्यपि उनले अझै फर्कने कि नफर्कने निर्णय गर्न नसकेको बताएकी छन्।
उद्धारका विकल्प कस्ता?
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्थामा "विभिन्न विकल्पहरू" अपनाउन सकिने बताएका छन्।
उनले बीबीसीसँग भने, "अब यो परिस्थिति कसरी विकास हुन्छ त्यसै अनुरूप हामी उपयुक्त कदम चाल्नेछौँ।"
उनले मन्त्रालयले प्रारम्भिक रूपमा नेपालीहरूको विवरण सङ्कलन सुरु गरेको बताए।
नेपाली नियोगहरूमा रहेका अधिकारीहरूका अनुसार इजरेलबाट नेपालीहरूलाई उद्धार गर्नका लागि जोर्डन वा इजिप्टहुँदै ल्याउनु पर्ने हुन सक्छ।
त्यस्तै इरानस्थित नेपालीहरूलाई टर्की वा अजरबैजानबाट ल्याउने विकल्पहरू रहेका छन्।
इरान र इजरेल दुवै देशमा अहिले हवाई सेवा बन्द भएको र क्षेप्यास्त्रहरू प्रहार भइरहेकाले स्थलमार्गबाट नजिकैको देशमा पुर्याएर नेपाल ल्याउने विकल्पबारे छलफल भइरहेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।
पराराष्ट्रका प्रवक्ता ढकालले पनि आफूहरूले विभिन्न विकल्पहरूबारे छलफल जारी राखेको बताए तर ती विकल्पहरूबारे खुलाएनन्।
उनले भने, "हामी विभिन्न विकल्पहरूमा छलफल गरिरहेका छौँ। कुन विकल्प उपयुक्त हुन्छ त्यसै अनुरूप कदम चाल्नेछौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।