तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
काभा महिला नेशन्स लीग भलिबलको फाइनलमा भारतसँग नेपालको हार
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
- Published
- पढ्ने समय: ३ मिनेट
काठमाण्डूमा जारी काभा महिला नेशन्स लीग भलिबलको फाइनलमा आयोजक नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको छ।
बुधवार काठमान्डूमा भएको एक रोमाञ्चक फाइनलमा भारतले नेपाललाई २३-२५, २५-१४, २२-२५,२५-२१ र १५-५ ले हराएको हो।
खेलको पहिलो र तेस्रो सेट जितेको नेपाल चौथो सेट जितेर भारतलाई रोक्ने दाउमा थियो। तर चौथो सेट भारतले जितेपछि पाँचौँ सेट निर्णायक भएको थियो।
काठमाण्डूको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हलमा बुधवार भएको खेलमा नेपाली भलिबल प्रशंसकहरूको उल्लेख्य उपस्थिति थियो।
लीग चरणमा भारतलाई इतिहासमै पहिलो पटक हराएको नेपाललाई फाइनलमा त्यही लय दोहोर्याउन दबाव थियो।
तर निकै कडा टक्करका माझ मेहनत गर्दागर्दै नेपालले खेल ३-२ ले गुमाउन पुग्यो।
नेपालले भारतलाई एकै प्रतियोगितामा लगातार दुई पटक पराजित गर्ने तथा पहिलो पटक घरेलु भूमिमा भलिबलको अन्तर्राष्ट्रिय उपाधि जित्ने अवसर पनि गुमाएको छ।
यसअघि दुई टोलीका खेल
पाँच वर्षअगाडि काठमाण्डूमै भएको १३ औँ दक्षिण एशियाली खेलकुदको फाइनलमा भारतसँग आमनेसामने हुँदा राष्ट्रिय महिला भलिबल टोली अन्तिम सेटमा दुर्भाग्यपूर्ण तरिकाले पराजित हुन पुगेको थियो।
तर त्यति बेला नेपाली महिला टोलीले अब भारतसँग टक्कर दिन सक्ने सङ्केत दिइसकेको थियो।
त्यसअघिको दुई दशकको अवधिमा जति पटक नेपाल-भारत आमनेसामने भए, नेपालले सहजै घुँडा टेकेको अवस्था थियो।
पाँच वर्षअगाडिको सागपछि नेपाल र भारतको त्यसपछिको भेट गत वर्ष चीनमा भएको १९ औँ एशियाली खेलकुदमा भयो।
तर त्यो भेटमा नेपाली टोलीले एक सेट मात्र जित्न सक्यो। खेल भारतले ३-१ ले आफ्नो पक्षमा पार्यो। त्यसपछि यसै प्रतियोगितामा यी दुई टोली भिडेका हुन्, जहाँ लीग चरणमा नेपालले पहिलो पटक भारतका विरुद्ध ऐतिहासिक जित हात पार्न सफल भयो।
लीगमा नेपालको प्रदर्शन
काभा महिला नेशन्स लीग भलिबलको यस संस्करणको लीग चरणमा नेपालले माल्दिभ्स, श्रीलङ्का र भारतसँग जित प्राप्त गर्दा नेपाल इरानसँग पराजित हुन पुगेको थियो। तर सेमिफाइनलमा इरानलाई नै पराजित गरी नेपालले फाइनलको यात्रा तय गरेको थियो।
अर्कोतिर भारतले लीग चरणमा नेपालसँग पराजित हुनुको अलावा माल्दिभ्स, इरान र श्रीलङ्कालाई हराउँदै सेमिफाइनल पुगेको थियो भने सेमिफाइनलमा श्रीलङ्कालाई नै सहजै हराउँदै फाइनल पुगेको थियो।
जारी प्रतियोगितामा पाँच राष्ट्रबीच राउन्ड रोबिन लीगको आधारमा खेल खेलाई उत्कृष्ट चार टोलीबीच सेमिफाइनल खेलाइएको थियो।
नेपाल भलिबल सङ्घले मध्य एशियाको यो प्रतियोगिता आयोजनाको अवसर पाएको हो।
काभा महिला भलिबल मध्य एशियाको ‘ए’ स्तरको प्रतियोगिता हो। यो क्षेत्रमा १४ राष्ट्र छन्। तर जारी प्रतियोगितामा सेन्ट्रल एशिया भलिबल असोसिएशन ‘ए’ र ‘बी’ स्तरका टोलीहरू मात्र सम्मिलित छन्।
यो प्रतियोगिताको विजेताले एशियाली स्तरको ‘एबीसी च्यालेन्ज कप’ प्रतियोगिता खेल्न सक्ने सम्भावना रहेको बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।