खो खो विश्वकप फाइनल पुगेका नेपाली पुरुष तथा महिला टोली भारतसँग पराजित

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

प्रथम खो खो विश्वकपको फाइनलमा पुगेर नयाँ इतिहास रच्न सफल भएका नेपाली पुरुष र महिला राष्ट्रिय टोलीहरू प्रतियोगिताको अन्तिम खेलमा भारतसँग पराजित भएका छन्।

नेपाली खेलकुदको ६ दशक लामो इतिहासमा कुनै पनि खेलमा विश्वकपमा सहभागी हुँदै फाइनलसम्मको यात्रा तय गरेको यो पहिलो पटक थियो।

आइतवार सुरुमा महिला टोली भारतसँग ७८-४० ले पराजित भयो भने त्यसपछि भएको पुरुषतर्फको फाइनलमा ५४-३६ ले भारतसँगै नेपाल पराजित भयो।

दुवै टोली उपविजेता बने तापनि नेपाली खेलकुदमा हरेक दृष्टिकोणले यो उपलब्धिलाई दुर्लभ मानिएको छ।

भारतमा जारी यस प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १९ टोली सहभागी थिए।

यसअघि नेपालबाट विश्वकप खेलेको एक मात्र खेल क्रिकेट थियो। जसको युवा टोली तथा राष्ट्रिय टोलीले विश्वकप खेलेको छ।

देशभित्रै लाखौँको पुरस्कार

खेलकुद विकास नियमावली २०७९ को दफा २८ मा अन्तर्राष्ट्रिय महासङ्घ (आईएफ) विश्व च्याम्पियनसिप खेलको सामूहिक प्रतिस्पर्धातर्फ स्वर्ण पदक जिते ५२ लाख तथा रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ।

जस अनुसार खो खो को महिला र पुरुष दुवै टोलीले ४५ लाख रुपैयाँ पक्का गरिसकेको छ।

फाइनल प्रतिस्पर्धा जित्न सकेको भए टोलीले ५२ लाख रुपैयाँ  प्राप्त गर्नेथियो।

यही नियमावलीको व्यवस्था अनुसार हालै प्यारिस पारा ओलिम्पिकमा कांस्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले रु ६५ लाख रुपैयाँ प्राप्त गरिसकेकी छिन्।

त्यस्तै पदक विजेता खेलको प्रशिक्षक, सहायक प्रशिक्षक, फिजिओ वा चिकित्सक, व्यवस्थापक र खेल सङ्घ पनि पुरस्कृत हुनेछ।

जस अनुसार प्रशिक्षकले स्वर्ण जितेका हकमा १३ लाख र रजत जिते ७ लाख ८० हजार प्राप्त गर्ने व्यवस्था छ।

त्यस्तै सहायक प्रशिक्षक, फिजिओ वा चिकित्सक र व्यवस्थापकको हकमा स्वर्ण जिते ६ लाख ५० हजार र रजत जिते ३ लाख ९० हजार र पुरस्कारको व्यवस्था छ।

त्यसै गरी सङ्घले १९ लाख ५० हजार र रजत जितेमा १५ लाख ६० हजार पाउने छ।

कसरी पाउनेछ रकम ?

मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपछि मात्र पदक विजेता टोली वा सम्बन्धितले पुरस्कार पाउने व्यवस्था छ।

खेलकुद विकास नियमावली २०७९ को धारा २७ अनुसार पदक विजेता सङ्घले पुरस्कार जितेको १५ दिन भित्र पुरस्कार पाउनका लागि निवेदन दिनुपर्नेछ।

त्यसपछि धारा २८ को व्यवस्था अनुसार युवा तथा खेलकुद मन्त्रालयले पदक पाउने टोलीको सुची तयार गरी मन्त्रिपरिषद् समक्ष स्वीकृतिको लागि पेस गर्नेछ।

त्यसपछि मन्त्रिपरिषद्ले अध्ययन गरेर स्वीकृति दिएपछि पुरस्कार वितरण गरिनेछ।

पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पाएको ६५ लाख रुपैयाँपछि कुनै पनि टोलीले सरकारबाट पाउन लागेको यो सबैभन्दा ठुलो पुरस्कार राशि हुनेछ।

नेपाली खो खो टोली फाइनलमा प्रवेश गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत टोलीलाई बधाई तथा फाइनलका लागि शुभकामना दिइसकेका छन्।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ फाइनल प्रतिस्पर्धा हेर्न नयाँ दिल्ली उडेका छन्।

फाइनल यात्रा कसरी भयो सम्भव?

प्रतियोगितामा नेपाललाई एक दाबेदारको रूपमा हेरिएको थियो। तर उद्घाटन खेलको कडा प्रतिस्पर्धामा नेपाललाई आयोजक भारतले ४२-३७ अन्तरले पराजित गर्‍यो।

तर त्यसपछिको चार खेल भने लगातार जित्यो। दोस्रो खेलमा नेपालले पेरुलाई, तेस्रो खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिललाई र लिग चरणको अन्तिम खेलमा भुटानलाई हराएको थियो।

क्वार्टर फाइनल नेपालले बाङ्ग्लादेशलाई पन्छाएको थियो भने सेमिफाइनलमा इरानलाई सिकार बनाएको थियो।

यसअघि नै नेपालको महिला टोलीले युगान्डालाई हराएर फाइनलमा स्थान बनाइसकेको छ।

महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको हो। महिला टोलीले खेलेको सबै ६ खेल जित्न सफल भयो।

टोलीले भुटान, जर्मनी, श्रीलङ्का र बाङ्ग्लादेशलाई लिग चरणमा तथा क्‍वाटरफाइनलमा इरानलाई हराएको थियो भने सेमिफाइनलमा युगान्डालाई हराएको थियो।

यसअघि साग गेम र एसियन च्याम्पियनसिपमा पदक जित्दै प्रभाव देखाएको नेपाललाई विश्वकपको दाबेदारको रूपमा हेरिएको थियो।

दुवै फाइनल खेल आइतवार साँझ सुरु हुनेछ।

२०३८ सालदेखि पाठ्यक्रममा खो खो

नेपालमा विसं २०३८ सालदेखि विद्यालयको पाठ्यक्रममा नै खो खो समावेश गरिसकिएको थियो।

सामान्य मैदानबाहेक खासै धेरै उपकरण नचाहिने भएकोले यो खेलको पहुँच विद्यालयहरूमा सहजै बढ्ने अनुमान गरिएको थियो।

तर प्रशिक्षकहरूको अभावमा यसले सोचे जस्तो चर्चा पाउन सकेन।

विसं २०५१ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षतामा खो खो सङ्घ गठन भएको थियो।

"भारतमा सिकेर हामीले यो खेललाई नेपालमा बढाउने पहल गर्‍यौँ," उनी भन्छन्।

कीर्तिपुर निवासी महर्जनले आफ्नो विद्यालय मङ्गल माविमा खेलाडीहरूलाई प्रशिक्षित गर्न थालेका थिए।

सन् १९९६ मा कोलकातामा भएको पहिलो एशियन च्याम्पियनशिपमा मङ्गल माविमा खेलाडीहरूको बाहुल्यता रहेको उनी सम्झिन्छन्।

अहिले पनि त्यही विद्यालयका उत्पादन खेलाडीहरू खो खोको विभिन्न पदमा छन्।

देशमा खो खोको पुरुषतर्फ ७ र महिला तर्फ ६ पटक राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ।

वर्तमान अध्यक्ष प्रदीप महर्जन भन्छन्: "दाङमा यही माघमा आठौँ राष्ट्रिय तथा फागुनमा महिलाको सातौँ राष्ट्रिय प्रतियोगिता सुनसरीको इनरुवामा हुने कार्यक्रम तय भइसकेको छ।"

यसबाहेक आगामी चैत्रमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुदमा पनि खो खो समावेश गरिएको छ।

यसअघि पाँचौँ, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा पनि खो खो समावेश गरिएको थियो।

अन्तर्राष्ट्रिय पदकको सम्भावना रहे पनि यो खेललाई राष्ट्रिय खेलकुद परिषद्ले चासो नदिएको भनेर औँल्याउने गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।