विश्वकपमा नेपाली खो खो टोली

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

'विश्वकप' खेल्नु कुनै पनि खेलको लागि सहज विषय होइन। सामान्यतया विश्वकपमा पुग्न कैयौँ छनोट चरण पार गर्नु पर्ने हुँदा नेपाल जस्तो देशको लागि यो सधैँ कठिन देखिँदै आएको छ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने क्रिकेट मात्र एउटा यस्तो खेल हो, जसमा १९ वर्ष मुनिको पुरुष र राष्ट्रिय पुरुष टोलीले विश्वकपमा छनोट भएर खेलेका छन्।

त्यसबाहेक यू-१९ महिला क्रिकेट टोली विश्वकप खेल्ने क्रममा हाल मलेसियामा छ भने राष्ट्रिय महिला कबड्डी टोली पनि विश्वकप खेल्ने क्रममा छ।

तर नेपालमा खेलिँदै आएको खो खो खेलको पुरुष र महिला दुवै टोली भने अहिले भारतमा भइरहेको खो खो विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिस्पर्धा मात्र होइन, दुवै टोलीले राम्रो नतिजा पनि ल्याइरहेका छन्। जसको अहिले नेपाली खेलकुद क्षेत्रमा चर्चा भइरहेको छ।

नयाँ दिल्ली जानुअगाडि बिदाइ समारोहमा नेपाल खो खो सङ्घका उपाध्यक्ष लक्ष्मी मानन्धरले आत्मविश्वासका साथ भने, "विश्वकपमा हाम्रो सहभागिता मात्र हुने छैन, हामी सकेसम्म ठूलो पदक लिएर फर्किने छौँ।"

कसरी छनोट भयो?

खो खो खेलको विकासमा भारतको महत्त्वपूर्ण भूमिका रहँदै आएको मानिन्छ।

भारतीय खो खो महासङ्घ र अन्तर्राष्ट्रिय खो खो महासङ्घले संयुक्त रूपमा नयाँ दिल्लीमा खो खो खेलको पहिलो विश्वकपको आयोजना गर्ने निधो गरे।

त्यसमा आयोजकले कुनै छनोट चरणको व्यवस्था नराखी खो खो खेल्ने देशहरूलाई सिधै विश्वकपमा समावेश गरिएको हो।

जस अन्तर्गत ६ महाद्वीपबाट २३ देशले सिधै विश्वकपमा प्रवेश पाए।

पाकिस्तानको टोली भिसाको समस्याका कारण प्रतियोगितामा अनुपस्थित भएपछि अहिले पुरुषतर्फ २० र महिलातर्फ १९ देशले भाग लिइरहेका छन्।

प्रतियोगितामा दक्षिण एसियाका मालदिभ्स र पाकिस्तानबाहेक सबै देशको सहभागिता छ भने अफ्रिकाको घाना र केन्यादेखि दक्षिण अमेरिकाको ब्रजिल र आर्जेन्टिना, एसियाबाट दक्षिण कोरिया र इरान, उत्तर अमेरिकाबाट अमेरिका अनि युरोपबाट नेदरल्यान्ड्स जस्ता राष्ट्रहरू समावेश छन्।

खेल इन्दिरा गान्धी रङ्गशालामा भइरहेको छ।

खो खो विशेषतः दक्षिण एसियामा चर्चित छ। खो खो खेलको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावशाली प्रदर्शन गर्दै आएको नेपालले महिला र पुरुष दुबै टीम तयार पारेको हो।

दाबेदार नेपाल

अन्तर्राष्ट्रिय खो खो मा नेपाल बलियो राष्ट्रमा गनिन्छ।

गत वर्ष भारतको गुहावटीमा भएको चौथो एसियाली खो खो च्याम्पियनशिपमा नेपालको पुरुष र महिला दुवै टोली फाइनलमा पुगेको थियो।

स्मरणीय के छ भने चारवटै एसियन च्याम्पियनशिपमा नेपाल पदक विजेता राष्ट्र हो।

पहिलोदेखि तेस्रो संस्करणमा नेपालको महिला पुरुष दुवै टोलीले लगातार कास्य पदक जितेको थियो।

दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १२ औँ र १३ औँ संस्करणमा खो खो समावेश गरियो।

जसमा भारतको गुहावटीमै भएको १२ औँ सागमा नेपालको दुवै टोलीले कास्य पदक जित्न सफल भए।

त्यस्तै नेपालमै सन् २०१९ मा भएको १३ औँ सागमा नेपालको महिला टोलीले रजत पदक तथा पुरुष टोलीले कास्य पदक जितेको थियो।

जारी विश्वकपमा पनि नेपाललाई एक दाबेदारको रूपमा हेरिएको छ।

प्रतियोगिताको मुख्य दाबेदारको रूपमा रहेको भारतका प्रशिक्षक अश्विनी कुमारले बीबीसी हिन्दीसँग इङ्गल्यान्ड र नेपाल बलियो टोली रहेको प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्, "इङ्गल्यान्ड र नेपाल टीम बलियो छ। त्यसमा पनि खास गरी नेपाल।"

नेपाल क्वार्टर फाइनलमा

आशा गरे अनुरूप नेपाली खेलाडीहरूले अब्बल प्रदर्शन गर्दै प्रतियोगितामा अगाडि बढिरहेका छन्।

प्रतियोगितामा पुरुष टोली क्वार्टर फाइनलमा प्रवेश गरेको छ। टोलीले लीग चरणमा  भुटान, ब्रजिल र पेरुलाई हराएर शीर्ष ८ मा पुगेको हो।

उद्घाटन खेलमा भने नेपाल आयोजक भारतसँग पराजित हुन पुगेको थियो।

महिलातर्फ पनि नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपालले श्रीलङ्का, भुटान, जर्मनी र बाङ्ग्लादेशविरुद्ध प्रभावकारी जित हात पारेको छ।

खो खो मा नेपालको इतिहास

नेपालमा विसं २०३८ सालदेखि विद्यालयको पाठ्यक्रममा नै खो खो समावेश गरिसकिएको थियो।

सामान्य मैदानबाहेक खासै धेरै उपकरण नचाहिने भएकोले यो खेलको पहुँच विद्यालयहरूमा सहजै बढ्ने अनुमान गरिएको थियो।

तर प्रशिक्षकको अभावमा यसले सोचे जस्तो चर्चा पाउन सकेन।

विसं २०५१ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षतामा खो खो सङ्घ गठन भएको थियो।

उनी भन्छन्, "भारतमा सिकेर हामीले यो खेललाई नेपालमा बढाउने पहल गर्‍यौँ।"

कीर्तिपुर निवासी महर्जनले आफ्नो विद्यालय मङ्गल माविमा खेलाडी उत्पादन गर्न थालेका थिए।

सन् १९९६ मा कोलताकामा भएको पहिलो एसियन च्याम्पियनशिपमा मङ्गल माविमा खेलाडीहरूको बाहुल्यता रहेको उनी सम्झिन्छन्।

अहिले पनि त्यही विद्यालयका उत्पादन खेलाडीहरू खो खोको विभिन्न पदमा छन्।

देशमा खो खोको पुरुषतर्फ ७ र महिला तर्फ ६ पटक राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ।

वर्तमान अध्यक्ष प्रदीप महर्जन भन्छन्, "दाङमा यही माघमा आठौँ राष्ट्रिय तथा फागुनमा महिलाको सातौँ राष्ट्रिय प्रतियोगिता सुनसरीको इनरुवामा हुने कार्यक्रम तय भइसकेको छ।"

यसबाहेक आगामी चैत्रमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुदमा पनि खो खो समावेश गरिएको छ।

यसअघि पाँचौँ, सातौँ, आठौँ र नवौँ  राष्ट्रिय खेलकुदमा पनि खो खो समावेश गरिएको थियो।

अन्तर्राष्ट्रिय पदकको सम्भावना रहे पनि यो खेललाई राष्ट्रिय खेलकुद परिषद्ले चासो नदिएको भनेर औँल्याउने गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।