केरलामा दुईतले डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु

Published

भारतको दक्षिणी राज्य केरलामा पर्यटकहरू चढेको एउटा दुईतले डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

आइतवार साँझ दुर्घटनाग्रस्त उक्त डुङ्गालाई हिलोयुक्त पानीबाट बाहिर निकालिएको छ।

दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्य जारी रहँदा मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार धेरै यात्रुहरू डुङ्गामुनि फसेका थिए भने राति अँध्यारोका कारण उद्धारकार्य अवरुद्ध भएको थियो।

ज्यान गुमाउनेहरूमा महिला तथा विद्यालय बिदामा रहेका बालबालिका समेत रहेका छन्।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मानिसहरूको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन्।

केरलाका मुख्यमन्त्री विजय पिनारईले स्थानीय प्रशासनलाई तीव्र गतिमा उद्धारकार्य गर्न निर्देशन दिइएको र त्यसको निगरानी क्याबिनेट मन्त्रीहरूले गरिरहेको बताएका छन्।

हाल फरार रहेको भनिएको डुङ्गाका मालिकविरूद्ध सोमवार प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ।

कसरी र कहाँ पल्टियो डुङ्गा?

मलप्पुरम जिल्लाको तनुर क्षेत्रमा अवस्थित तूवलतीरम समुद्री तटनजिकै एउटा नदीमुखमा आइतवार सो दुर्घटना भएको थियो।

डुङ्गा पल्टिँदा त्यसमा ५० जना भएको बताइएको छ।

पर्यटकहरू डुङ्गा चढेर समुद्रमा विहार गर्न जान्छन्। उक्त डुङ्गामा पनि पर्यटकहरू थिए।

मलप्पुरम जिल्लाका प्रहरी अधिकारी अब्दुल नजारले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार उक्त डुङ्गामा क्षमताभन्दा बढी मानिस थिए।

डुङ्गा पल्टिनुको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

केरलाका खेलकुद तथा मत्स्यपालनसम्बन्धी मन्त्री भी अब्दुरहिमानका अनुसार अस्पताल लगिएका केही व्यक्तिको जनाको अवस्था गम्भीर छ।

दुर्घटनामा परेर पनि ज्यान जोगिएका मानिसहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार डुङ्गा पल्टिँदा धेरै यात्रुहरूले लाइफ ज्याकेट लगाएका थिएनन्।

हराइरहेका यात्रुहरूको स्पष्ट सङ्ख्या तत्काल थाहा हुन सकेको छैन।

प्रत्यक्षदर्शीले जे देखिन्

घटनास्थलबाट नजिकैको तनुर क्षेत्रकी बासिन्दा अम्बिकाले डुङ्गा आउँदै गरेको देख्दा त्यसमा सवार सबै जना "खुसीले हर्षोल्लास" गरिरहेको मनोरमा न्युज च्यानलसँग बताइन्।

"तर एक्कासि बत्ती निभ्यो, डुङ्गा डुब्यो र मानिसहरू सहयोगको याचनासहित चिच्याउन थाले। केही क्षणमै माहौल बदलियो," उनले भनिन्।

आफूले तत्काल उद्धारका लागि प्रहरीलाई बोलाएको अम्बिकाले सुनाइन्।

"तर हामीले त्योभन्दा बढी केही गर्न सकेनौँ किनकि अँध्यारो हुँदै गइरहेको थियो र यात्रुहरूसम्म पुग्ने कुनै उपाय थिएन।"

भारतमा डुङ्गा दुर्घटना नौलो घटना होइन। त्यहाँ प्रायः ढुङ्गा खचाखच भीड हुन्छ, मर्मत सम्भार समयमा हुँदैन र सुरक्षा उपकरणहरूको अभाव हुन्छ।