तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भक्तपुरको गाईजात्रा: ‘फरक प्रस्तुति’ दिँदै विद्यार्थी
सामान्यतया गाईजात्राभन्दा महिना दिन अघिदेखि भक्तपुर नगरपालिकाका टोल टोलमा बेलुकीपख बाँसुरी, धिमे, परम्परागत नाचगानको प्रशिक्षण र अभ्यास हुने गर्दथ्यो।
यस पटक भने चार बजे बन्द हुने विद्यालय समेत साँझ छ बजेसम्म खुल्ला देखिए।
सल्लाघारीको मोडर्नमा होस् वा कमल विनायकको बागेश्वरी स्कुलमा, विद्यार्थीहरू हातमा लट्ठी लिएर परम्परागत नाचगान र बाजागाजामा निकै रमाइरहेका छन्। साथमा शिक्षकहरू पनि छन्।
वासु उच्च माध्यमिक विद्यालयमा पनि विद्यार्थीको बाक्लै उपस्थितिमा माक प्याखँको प्रशिक्षण चलेको शिक्षिका रामलक्ष्मी प्रजापतिले बताइन्।
नगरपालिकाले एक विद्यालय एक प्याखँ वा सांस्कृतिक विधामा गाईजात्रा वा सापारूमा प्रदर्शनको योजना बनाएको हो।
स्थानीय कला र संस्कृतिको सहज पुस्तान्तरण विद्यालयबाट मात्र सम्भव देखिएकाले यो अभ्यास थालेको नगरपालिकाको भनाइ छ।
शारदा उच्च माविमा पनि गाइँचा प्याखँको नियमित प्रशिक्षणमा विद्यार्थीहरू सहभागी छन्।
मिबाछेँको एभरेस्ट स्कुलमा पनि जङ्गली प्याखँ, कवाङ्चा प्याखँको प्रशिक्षण चलेको थियो।
‘समावेशी गाईजात्रा’
बागेश्वरी उच्च माविको कक्षा १२ मा अध्ययनरत विनिता तामाङलाई मज्जाले माक प्याखँ नाच्न आउँछ। बाजाको तालमा उनी हराउँछिन्। हातमा लट्ठी लिएर साथीसँग जुधाउँदा निस्किने ध्वनि उनलाई रोमाञ्चक लाग्छ।
कक्षा सात पढ्दादेखि गाईजात्रामा माक प्याखँ नाच्न थालेको बताउने उनी भन्छिन्, “यसपालि साथी अमृता यादव पनि नाच्न आएकी छन्। मेरो विद्यालयले दिएको यो अवसरको लागि म मुरी मुरी धन्यवाद भन्न चाहन्छु।”
गाईजात्रा वा सापारू मुख्यतया नेवार समुदायले मनाउने पर्व भनिन्थ्यो। बाजा बजाउने नेवार, नाच्ने-गाउने पनि नेवार।
“तर स्थानीय पाठ्यक्रम लागू भएयता भक्तपुरमा मनाइने पर्वहरू सबै जातजातिका भएका छन्,” माक प्याखँको प्रशिक्षणमा तामाङ, गुरुङ, राई, मधेशी, क्षेत्री र बाहुन समेत सहभागी रहेको बताउँदै बागेश्वरी उच्च माविका शिक्षक ज्ञान सागर प्रजापति भन्छन्, “सबै रमाएका छन्। हाम्रो पर्व समावेशी भएको छ। गाईजात्रामा सबै जना नाच्दै भक्तपुर परिक्रमा गर्दै छन्।”
सल्लाघारीस्थित मोडर्न बोर्डिङ स्कुलका विद्यार्थीहरू परम्परागत घिन्ताङघिसी नाच सिकिरहेका छन्।
नेवार समुदायका बाजा बजाउन र नाच्न जान्ने विद्यार्थीहरूबाट अन्य विद्यार्थीहरू प्रशिक्षित भइरहेको विद्यालयका प्रधानाध्यापक अनिल कसपालले बताए।
‘एक विद्यालय एक प्याखँ’
आठ रात नौ दिन लामो गाईजात्रा पर्वको निम्ति भक्तपुर नगरपालिकाले केही विद्यालयमा पहिलो पटक एक विद्यालय एक प्याखँ वा सांस्कृतिक विधाको अवधारणा अघि सारेको नगर शिक्षा समिति प्रमुख कृष्णप्रसाद कर्माचार्यले जानकारी दिए।
उनका अनुसार त्यसको निम्ति करिब एक महिना अगाडि केही विद्यालय छनोट गरिएको हो। तर त्यो विद्यालयका निम्ति बाध्यात्मक होइन।
भक्तपुर नगरपालिकामा छ सदस्यीय विद्यालय अनुगमन समिति छ। समितिका सदस्य रोशन तुइतुइले नगरपालिकाको शिक्षा समितिलाई एक विद्यालय एक सम्पदाको जिम्मेवारी दिए जस्तै स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न भनेर एक विद्यालय एक प्याखँको अवधारणा सुझाएको बताए।
“भक्तपुरको कुन टोलको सांस्कृतिक विशेषता वा क्षमता के हो भन्ने हामीले पहिल्यै पहिचान गरेका छौँ,” तुइतुइले भने, “त्यस आसपासका विद्यालयले कम्तीमा एउटा सांस्कृतिक विधाको जगेर्नामा सहयोग पुर्याउने उद्देश्य हो।”
तर कतिपय विद्यालयले प्रशिक्षकको अभाव बेहोरेको जनाएका छन्। प्रशिक्षक नहुँदा तयारी सम्भव नभएको मोडर्न र जेन्यूइन सेकेन्डरी स्कुलले बताएका छन्।
लामो समयदेखि गाईजात्रामा प्रदर्शन गरिने सांस्कृतिक विधाहरूको मूल्याङ्कनमा संलग्न ‘धिमे मैँचा’ नामले परिचित भक्तपुरकी इन्दिरा लाछिमस्यूले प्रशिक्षकको व्यवस्थाबारे नगरपालिकाले पर्याप्त ध्यान नदिएको ठानेकी छन्।
खर्चिलो किन?
सात-आठ वर्ष यता गाईजात्रामा युवा र महिलाको सहभागिता निकै बढेको उनको भनाइ छ। “यसपालि घिन्ताङघिसी मात्र होइन विद्यालय तहका विद्यार्थीहरूका विशेष तयारीहरू पनि देख्न पाइने भयो। एकदम रमाइलो हुने छ,” लाछिमस्यू भन्छिन्, “तर प्रशिक्षकको प्रबन्ध मिलाउन विद्यालय र स्थानीय गुरुबीच नगरपालिकाले समन्वय गरिदिनु पर्छ।”
द राइजिङ स्कुलका संस्थापक कपिल बनेपाली नगरपालिकाले दिएको एक महिनाको अवधि प्रशिक्षण र प्रशिक्षकको व्यवस्था गर्न अपुग ठान्छन्।
“देवी नाचको प्रशिक्षण र तयारी निकै खर्चिलो छ,” उनी भन्छन्, “नगरपालिकाले दिने केही रकमले विद्यार्थीलाई खाजा खुवाउन समेत पुग्दैन। यसरी एक पटक काम हुन्छ। तर निरन्तरता सम्भव छैन।”
कतिपय विद्यालयले खर्च बेहोर्न नसकेर तयारी नगराएको बताए। प्याखँ वा सांस्कृतिक विधा तयार पारेका कतिपय विद्यालयले पनि त्यो निकै खर्चिलो भएको जनाएका छन्।
वासु उच्च माविकी प्रधानाध्यापक अम्बिका न्याईँच्याईको अनुभव छ, “पोसाक विद्यालयले दिँदै छौँ। खाजा हामी नै खुवाउँदै छौँ। बाजा किन्यौँ। प्रशिक्षकलाई पनि केही पारिश्रमिक दिनु पर्नेछ।”
तर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति आर्थिक रूपमा सक्षम ठानिएका विद्यालयलाई सहभागी गराइएको बताउँछन्।
भक्तपुरका मेयरको निम्तो
प्रतिस्पर्धामा सहभागीलाई दिने पुरस्कारमा नगरपालिकाले करिब २० लाख खर्चिने छ। त्यसबाट केही आर्थिक राहत मिल्ने बताउँदै प्रजापति भन्छन्, “एक विद्यालय एक प्याखँ पहिलो प्रयास हो। स्थानीय पाठ्यक्रमको कार्यान्वयनमा हामी कति सफल भयौँ भन्ने हेर्ने अवसर पनि हो।”
टोल टोलमा हुने प्रशिक्षणहरूले सीमित समुदायका सीमित बालबालिकालाई मात्र समेट्ने हुँदा विद्यालयलाई संस्कृति र कला अर्को पुस्तामा हस्तान्तरण गर्ने थलोको रूपमा सदुपयोग गर्न खोजिएको नगर प्रमुख प्रजापति बताउँछन्।
“पहिले केही विद्यालयले विद्यार्थीलाई घिन्ताङघिसी नचाउँदै भक्तपुर परिक्रमा गराउँथे। यसपालि विशेष तयारीका साथ लाग्दा हाम्रो कला संस्कृति एउटा पुस्ताबाट अर्को पुस्ता र एउटा समुदायबाट अरू समुदायमा सहज हस्तान्तरण हुने देखियो,” प्रजापतिले अपेक्षा सुनाए।
बिस्केट जात्रापछि गाईजात्रा नै भक्तपुरको प्रख्यात जात्रा हो। यस अवसरमा भक्तपुरको कला सडकमा पोखिन्छ। “कोही बजाउँछन्, कोही नाच्छन्, कोही हँसाउँछन्,” नगर प्रमुख प्रजापति भन्छन्, “भक्तपुर जीवित शहर हो भन्ने प्रत्यक्ष अनुभूत गर्न गाईजात्रा हेर्न भक्तपुर आउनु पर्छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।