पोखरामा किन र कसरी लोकप्रिय भयो दशैँमा च्याङ्ग्राको मासु खाने चलन

- Author, कृष्णमणि बराल
- Role, पोखरा
- Published
- पढ्ने समय: ५ मिनेट
दशैँ सुरु भएसँगै मासुका लागि पश्चिम नेपालको पोखरामा नेपालका विभिन्न जिल्लासहित चीनको स्वशासित क्षेत्र तिब्बतबाट समेत भेडा, च्याङ्ग्रा, खसीबोका भित्रिएका छन्।
पोखराका हेमजा, यमदी र पुरानो टुँडिखेलमा दशैँका समयमा भेडा, च्याङ्ग्रा खरिदबिक्रीका लागि ठूला मेलाहरू पनि लाग्ने गर्छन्।
पोखरेलीका लागि दशैँमा च्याङ्ग्राको महत्त्व विशेष रहेको कतिपय जानकार बताउँछन्।
यद्यपि पोखरेलीहरूले कहिलेदेखि हिमाली जिल्लाहरूमा पाइने च्याङ्ग्रालाई विशेष महत्त्व दिन थाले भने यकिनका साथ भन्न सक्ने अवस्था नरहेको संस्कृतिविद् बताउँछन्।
च्याङ्ग्रा कसरी लोकप्रिय भयो?

एकजना संस्कृतिकर्मी तीर्थ श्रेष्ठ पोखरामा थकाली समुदायको आगमन र बसोबास सुरु भएसँगै हिमाली च्याङ्ग्राको महत्त्व बढेको हुन सक्ने ठान्छन्।
थकालीहरूले आफूँसँगै च्याङ्ग्रालाई पनि पोखरामा परिचित गराएको हुन सक्ने श्रेष्ठ बताउँछन्।
पोखरामा थकाली समुदायको आगमनको खोजी गर्ने क्रममा विसं १९९० भन्दा अघिदेखि नै उनीहरू आएको सङ्केत आफूले पाएको श्रेष्ठले बताए।
उनीहरूको आगमनसँगै च्याङ्ग्राको उपभोग गर्ने चलन चलेको र त्यो पोखरावासी सबै समुदायमा विस्तार भएको उनको दाबी छ।
पहिलेपहिले पोखरा बजारका नेवार समुदायले भने दशैँका निम्ति बोका पाल्ने उनको भनाइ छ।
श्रेष्ठ भन्छन्, "प्रत्येक घरमा एउटा बोका हुन्थ्यो । ती बोकालाई अष्टमीको दिनमा विन्ध्यवासिनी मन्दिरमा चढाउने र बलि दिने चलन थियो।"
विन्ध्यवासिनी धार्मिक विकास समितिका सचिव समेत रहेका श्रेष्ठका अनुभवमा अहिले बलि दिने चलन निकै कम देखिएको छ।
उनी भन्छन्, "अहिले मासु खाने चलन बढेको भए पनि मन्दिरमा बलि दिने चलन हट्दै गएको छ।"
उनका भनाइमा पोखरामा दशैँका बेलामा च्याङ्ग्रा खोजी गर्ने चलन बढे पनि यसको सांस्कृतिक रूपमा बलि दिनका लागि प्रयोग भने खासै हुने गरेको छैन।
पोखरामा मात्र होइन दशैँमा च्याङ्ग्राको मासु खाने चलन अहिले काठमाण्डू र देशका अन्य भागमा पनि फैलिएको छ।
कतिपयले हिमाली पानी र जडिबुटी खाएर हुर्केको च्याङ्ग्राको मासु स्वस्थकर हुने दाबी पनि गर्ने गरेका छन्। त्यस्तै खालको प्रचार गरेर च्याङ्ग्राको बिक्री गर्ने गरिएको पनि पाइन्छ।
च्याङ्ग्राको मासु खसीको भन्दा स्वस्थकर हो?
च्याङ्ग्राको मासु खसीबोकाको भन्दा स्वास्थ्यका लागि लाभदायी हो भन्ने दाबी सत्य नभएको एकजना चिकित्सक डा. तारा कोइराला बताउँछन्।
उनी भन्छन्, "च्याङ्ग्रामा हेमोग्लोबिन र चिल्लो पदार्थको मात्रा धेरै हुने भएकोले निकै सचेत भएर खानुपर्ने हुन्छ।"
उनी ज्येष्ठ नागरिक, मधुमेह र मुटुका बिरामीलगायतलाई च्याङ्ग्राको मासु धेरै नखान सुझाव दिन्छन्।
उनी उक्त समूहका मानिसहरूलाई माछा, हाँस, कुखुराको मासु खाना सुझाव दिन्छन्।
उनका अनुसार च्याङ्ग्राको सहित रातो मासु खाएका बेला हरियो सागपात, बोडी, सिमी, फलफूल पनि मात्रा मिलाएर खानुपर्ने हुन्छ।

पहिले यस्तो थियो चलन
पहिलेपहिले पोखराका मानिसहरू दशैँमा च्याङ्ग्रा खरिद गर्न खच्चडमा चाँदीका सिक्का बोकेर मुस्ताङ जाने गरेको ज्येष्ठ नागरिकहरू बताउँछन्।
पोखराको लामाचौरका ७९ वर्षीय खड्गबहादुर खत्री बाल्यकालमा खच्चडमा चाँदीका सिक्का बोकाएर च्याङ्ग्रा व्यापारका लागि मुस्ताङको टुकुचे पुगेको स्मरण गर्छन्।
उनले भने, "एक हजारको चाँदीको सिक्का एक भारी हुन्थ्यो। चिनेजानेका खच्चडका साहुलाई चाँदीका सिक्का बोकाएर अघिअघि पठाउँथ्यौँ।"
उनले करिब ४० वर्षसम्म च्याङ्ग्राको व्यापार गरेको बताए। त्यस बेला निकै सस्तोमा पाइने च्याङ्ग्राको भाउ क्रमश: बढ्दै गएको उनको भनाइ छ।
कष्टकर व्यापार

तस्बिर स्रोत, AP
च्याङ्ग्रा व्यापारीहरू हिमाली क्षेत्रदेखि पोखरासम्म च्याङ्ग्रा ल्याएर बिक्री गर्ने व्यवसाय निकै कठिन रहेको बताउँछन्।
खत्रीका भनाइमा पहिले अहिले जस्तो सडक र होटलहरू नहुँदा धेरै कठिन थियो।
"त्यस बेला बास बस्नका लागि हामी मित लगाउँदै हिँड्थ्यौँ। च्याङ्ग्रा किन्न जाँदा हामी मितहरूको स्वागत पाउँथ्यौँ। उनीहरू जाडोमा जडिबुटी बेच्न यता झर्दा हामी स्वागत गर्थ्यौँ।"
साँघुरो बाटोबाट च्याङ्ग्रा ल्याउँदा नदीमा खस्ने र कतिपय बाटोमै लुटिने घटनाहरू पनि हुने गरेको उनी सम्झन्छन्।
साउनपछि दशैँका लागि भनेर च्याङ्ग्रा गोठबाट निकालिन्थे र मुस्ताङको टुकुचेमा भेडा र च्याङ्ग्रा बिक्रीका लागि मेला लाग्थ्यो।
त्यो मेलाबाट खरिद गरेका च्याङ्ग्राहरूलाई विभिन्न स्थानमा व्यापारीहरूले हुलका हुल खरिद गर्दै पोखरा ल्याइपुर्याउँथे।
त्यसरी पोखरासम्म आइपुग्दा धेरै व्यापारीहरू फेरिइसकेका हुन्थे।
तिब्बतबाट पनि आउँछन् च्याङ्ग्रा

जुम्लाका ४० वर्षीय उर्गेन तामाङ २० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका छन् ।
उनले नेपालकै डोल्पा, हुम्ला, मुगुबाट मात्र होइन विभिन्न नाकाबाट तिब्बत पुगेर पनि च्याङ्ग्रा खरिद गर्ने गर्छन्।
उनी ती च्याङ्ग्रालाई पोखरा ल्याएर बिक्री गर्छन्।
मुगु जिल्लाको उत्तरी भेगको नाकाबाट दुई दिन लगाएर तिब्बती बजार पुगी च्याङ्ग्रा किनेर ल्याएको अनुभव पनि उनले सुनाए।
त्यस्तै हुम्ला र डोल्पाबाट पनि तिब्बत पुगेर च्याङ्ग्रा खरिद गर्ने गरेको उनी बताउँछन्।
"च्याङ्ग्रा ल्याउँदा धेरै कष्ट छ तर पनि दशैँ आयो कि पोखरा सम्झन्छु अनि फेरि च्याङ्ग्राको व्यापारका लागि उक्लन्छु," उनले भने।
यो वर्ष चाहिँ उनले बाजुराको ताक्लाकोट नाका नजिकैको सीमास्थित बजारबाट च्याङ्ग्रा खरिद गरेर पोखरा आएका छन्।
उनले त्यहाँबाट हिँडाएर र गाडीमा समेत हालेर गरी २० दिन लगाएर पोखरासम्म च्याङ्ग्रा ल्याएको बताए।
उनले तौलका आधारमा यो पल्ट ३० देखि ४० हजार रुपैयाँमा च्याङ्ग्रा खरिद गरेका हुन्। ती च्याङ्ग्रालाई प्रतिगोटा ३७ देखि ५० हजार रुपैयाँमा बिक्री गर्ने उनले बताए।
कोभिड महामारीपछि पहिलो पटक आफूले तिब्बत पुगेर यसपालि च्याङ्ग्रा ल्याएको उनले जानकारी दिए।
च्याङ्ग्रा ल्याउँदा बाटोमा विभिन्न जङ्गली जनावरले च्याङ्ग्रा खाइदिने डर पनि हुने व्यावसायीहरू बताउँछन्।

तिब्बतबाट आउने च्याङ्ग्राको लगत छैन
मुस्ताङको कोरला नाकाबाट यस वर्ष १७ सय वटा च्याङ्ग्रा भित्रिएको लोमान्थाङ गाउँपालिकाका सूचना अधिकारी विकास केसीले जानकारी दिए।
तिब्बतबाट मुस्ताङमा भित्रिने च्याङ्ग्राको यकिन विवरण भने पाउन कठिन छ।
व्यवस्थित भन्सार कार्यालय नहुँदा त्यस्तो समस्या भएको अधिकारीहरू बताउँछन्। गाउँपालिकाले भने प्रतिगोटा २० रुपैयाँका दरले तिब्बतबाट ल्याइने च्याङ्ग्राका लागि शुल्क लिने गरेको छ।
चीनतर्फ सुविधायुक्त भन्सार कार्यालय रहे पनि नेपालतर्फ व्यवस्थित कार्यालय नभएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्ह्र्वु गुरुङ बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























