जाभा सागरमा डुबेको इन्डोनेशियाको पानीजहाजका १०७ जनाको उद्धार, छ जनाको मृत्यु

तस्बिर स्रोत, Donny Muslim/BBC
- Author, ट्याबी विल्सन
- Published
- पढ्ने समय: २ मिनेट
जाभा सागरमा डुबेको इन्डोनेशियाको एक यात्रुवाहक फेरी (पानीजहाज) का छ जना यात्रुको मृत्यु भएको र त्यसमा सवार १०७ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
उक्त पानीजहाजमा सवार १३० जना अझैसम्म सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
खराब मौसमका कारण २४३ जना सवार 'भर्गो ट्रान्सपोर्ट ८' नामक पानीजहाजसँग सम्पर्क टुटेपछि खोजी तथा उद्धार अभियान सुरु भएको थियो।
उक्त फेरी सुराबायाबाट दक्षिण कालिमन्तानको सहर बन्जारमासिनतर्फ गइरहेको थियो। र आइतवार स्थानीय समयअनुसार बिहान करिब २ बजे बन्जारमासिनबाट करिब १५० किलोमिटर दक्षिणमा रहेको जानकारी अन्तिम पटक प्राप्त भएको थियो।
घटनास्थलमा खोजी तथा उद्धारका लागि पानीजहाज र हेलिकप्टर परिचालन गरिएको जनाइएको छ।
जाभा सागरको सो क्षेत्रमा रहेका अन्य सबै पानीजहाजहरूलाई यात्रुहरूबारे कुनै सङ्केत देखा परेमा जानकारी गराउन भनिएको छ।
अपरेसन केन्द्रको स्थापना

तस्बिर स्रोत, Getty Images
आइतबार बिहान त्रिशक्ति बन्दरगाह क्षेत्रमा दुर्घटना व्यवस्थापनका लागि एउटा अपरेसन केन्द्र स्थापना गरिएको थियो।
बान्जारमासिनकी एक बासिन्दा रुस्मिलावती उक्त पानीजहाजमा सवार आठ जना आफ्ना आफन्तबारे जानकारी लिन बन्दरगाह पुगेकी छन्।
उनीहरू जाभामा रहेका विभिन्न इस्लामिक विद्वानहरूको समाधि स्थलको भ्रमणपछि बान्जारमासिन फर्कँदै थिए।
"उनीहरू त्यहाँ हवाईजहाजबाट पुगेका थिए, तर फर्कने क्रममा भने पानीजहाजको यात्रा गर्ने प्रयास गर्न चाहेका थिए," उनले बीबीसी इन्डोनेसियालाई बताइन्।
स्थानीय समय अनुसार आइतबार दिउँसोसम्म आफ्ना आफन्तहरूको उद्धार भए नभएबारे अधिकारीहरूबाट कुनै जानकारी नपाएको रुस्मिलावतीले बताइन्।
परिवारले अन्तिम पटक ती आफन्तहरूमध्ये एकजनाको 'ह्वाट्सएप स्टाटस' मार्फत जानकारी पाएको थियो। उक्त पोस्टमा ती आफन्तले लेखेका थिए: "आज राति छालहरू निकै डरलाग्दा छन्। कि पानीजहाजको यात्रामा यस्तै हुन्छ जहाज हल्लिने र छालहरूसँग ठोक्किने?"
"आशा छ, उनीहरू सुरक्षित छन्," रुस्मिलावतीले भनिन्।
जानकारीका लागि व्यग्र परिवार

तस्बिर स्रोत, Donny Muslim/BBC
त्यहीँ आफ्ना पति अहमद सुपान्दी जीवितै रहेको थाहा पाएपछि मिसनाह भक्कानिएर रोइन्।
'भर्गो ट्रान्सपोर्ट ८' मा सवार अहमदलाई पछि 'एमभी हाइडा' नामक जहाजले उद्धार गरेको थियो।
सुराबायास्थित तन्जुङ पेराक बन्दरगाहमा चालक दलका सदस्यका आफन्तहरू पनि आफ्ना प्रियजनबारे जानकारी लिने प्रयास गरिरहेका छन्।
फ्रेडी नाम गरेका एक आफन्तले बताएअनुसार उनका कान्छा भाइ स्टेभी मानुहुवा सो जहाजमा किबोर्ड वादकका रूपमा काम गर्थे र यात्रुहरूलाई मनोरञ्जन प्रदान गर्थे।
"पानीजहाज सुराबायामा रोकिँदा दुई दिनअघि हाम्रो कुराकानी भएको थियो। त्यसयता अहिलेसम्म कुनै खबर आएको छैन," फ्रेडीले भने।
उनले आफ्ना भाइको अवस्था वा उनी कहाँ छन् भन्नेबारे अझैसम्म कुनै जानकारी नपाएको बताए।
गत महिना समेत इन्डोनेशियाको मादुरा टापुनजिकै एउटा फेरीमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो।
इन्डोनेसियाली द्वीप समूहमा १७,००० भन्दा बढी टापुहरू छन् र त्यहाँ फेरी यातायातका साधनको रूपमा व्यापक रूपमा प्रयोग हुनेगर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















