तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अस्ट्रेलियाको क्वीन्सल्यान्डमा गोली चल्यो, दुई प्रहरीसहित तीन जनाको मृत्यु
अस्ट्रेलियाको क्वीन्सल्यान्डस्थित ग्रामीण क्षेत्रको एउटा घरमा दुईजना प्रहरी अधिकृत र एक सर्वसाधारणको गोली हानी हत्या गरिएको छ।
अधिकारीहरूले ब्रिस्बेनबाट २७० किलोमिटर पश्चिमस्थित एउटा घरमा हराएका व्यक्तिको खोजी गरिरहेका बेला उक्त घटना भएको बताएका छन्।
बन्दुकधारीहरू अझै फरार रहेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
त्यस क्षेत्रका बासिन्दालाई "अर्को सूचना नआएसम्म" घरभित्रै बस्न भनिएको छ।
क्वीन्सल्यान्डकी प्रहरी आयुक्त क्याटरिना क्यारोलले चारजना प्रहरी अधिकृतहरू उक्त घरमा गएको बताइन्।
त्यसमध्ये एक जनालाई "गोलीको छर्रा" लागेको र अर्को एकजना त्यहाँबाट भाग्ने क्रममा घाइते भएका छन्। उनीहरू दुवैको अस्पतालमा उपचार भइरहेको क्यारोलले बताइन्।
उनले अपराधीहरूलाई अझै हिरासतमा लिइएको छैन तर प्रहरीले खोजी कार्य गरिरहेको उनले बताइन्। उनले त्यसका लागि प्रहरीलाई हवाई सहयोग गर्ने विशेषज्ञ बल पनि सहभागी भइरहेको जानकारी दिइन्। क्वीन्सल्यान्डका प्रहरी मामिला हेर्ने मन्त्री मार्क रायनले पनि घटनालाई "हाम्रो समुदायका लागि दर्दनाक, भिडन्तकारी र विनाशकारी घटना" भन्दै पत्रकार सम्मेलनमा बोलेका थिए। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कर्तव्य पालनका क्रममा ज्यान गुमाएका क्वीन्सल्यान्डका प्रहरी अधिकृतका परिवार र आफन्तका लागि यो "हृदयविदारक दिन" भएको बताए।