इजरेलमा इरानी क्षेप्यास्त्र हमला, तेहरानले 'ठूलो परिणाम भोग्नुपर्ने' नेतन्याहूको चेतावनी

इजरेल
Published
पढ्ने समय: ३ मिनेट

इरानले इजरेल तर्फ प्रहार गरेको झण्डै १८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरेली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिएको इजरेली सेनाले जनाएको छ।

जेरुसेलमस्थित एकजना बीबीसी संवाददाताले केही सैन्य अखडामा प्रहार लागेको बताएका छन्। केही रेस्टुराँ र विद्यालयमा समेत क्षति पुगेको छ।

अधीनस्थ वेस्ट ब्याङ्कको जेरिको क्षेत्रमा एकजना प्यालेस्टिनी पुरुष मारिएको इजरेल डिफेन्स फोर्सेस (आइडिएफ) का एकजना प्रवक्ताले जनाएका छन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही "पूरा गरेको" जनाएका छन्। तर इजरेलले जबाफी कारबाही गरेमा थप हमला गर्ने जनाएका छन्।

इजरेलका अन्तर्राष्ट्रिय साझेदारहरूले उक्त देशका दशौँ लाख मानिसहरूलाई बमबाट सुरक्षित रहन बनाइएका आश्रयस्थलमा पुग्न बाध्य पार्ने गरी भएका प्रहारको निन्दा गरेका छन्।

नेतन्याहूको चेतावनी

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले 'ठूलो गल्ती गरेको' बताए
तस्बिरको क्याप्शन, इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले 'ठूलो गल्ती गरेको' बताए

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले "ठूलो गल्ती गरेको" बताउँदै त्यसको "मूल्य चुकाउनु पर्ने" बताएका छन्।

मन्त्रीपरिषद् बैठक सुरु भए लगत्तै बोल्ने क्रममा नेतन्याहूले इरानले इजरेल र उसका शत्रुविरुद्ध "जबाफ दिने दृढता" आफ्नो देशको दृढतालाई "नबुझेको" बताए।

"उनीहरूले बुझ्नेछन्," उनले भने। "हामीहरू हामीले बनाएका नियममा दृढ छौँ, जसले हामीलाई हमला गर्छ, हामी [उनीहरूलाई] हमला गर्छौँ।"

व्यापक रूपमा इरानी क्षेप्यास्त्र हमला भएका केही घण्टामै इजरेली वायु सेनाले हिज्बुल्लाहलक्षीत निशानामा भन्दै लेबननको राजधानी बेइरुतमा थप प्रहार गरेको छ।

तेहरान के भन्छ?

इरानी राष्ट्रपति मसूद पेजेस्कियान
तस्बिरको क्याप्शन, इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देशले 'वैध अधिकार' प्रयोग गरेको बताए

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मङ्गलवार राती गरिएका हमलालाई आफ्नो देशको "वैध अधिकार" बताउँदै त्यो "इरान र यस क्षेत्रको शान्ति र सुरक्षा"को उद्देश्यसाथ गरिएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमलालाई "इरानी स्वार्थ र नागरिकको प्रतिरक्षा"का लागि इजरेललाई दिइएको एउटा "निर्णायक" जबाफ बताएका छन्।

नेतन्याहूललाई सम्बोधन गर्दै उनले "इरानसँग युद्ध उन्माद नभएको तर जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने" कुरा इजरेली प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए।

उनले ती हमला इरानको क्षमताको केही "झलक" मात्र रहेको भन्दै इरानसँग "द्वन्द्वमा संलग्न" नहुन चेतावनी दिए।

इरानले क्षेप्यास्त्रहरू प्रहार गरेपछि तेहरानका सडकमा खुसीयाली मनाइएको थियो।
तस्बिरको क्याप्शन, इरानले क्षेप्यास्त्रहरू प्रहार गरेपछि तेहरानका सडकमा खुसीयाली मनाइएको थियो।

इरानले क्षेप्यास्त्रहरू प्रहार गरेपछि तेहरानका सडकमा खुसीयाली मनाइएको थियो। उक्त ठूलो भीडमा धेरै मानिसहरूले इरान र हिज्बुल्लाहका झण्डा र शुक्रवार इजरेली हवाई हमलामा मारिएका हिज्बुल्लाहका पूर्वनेता हसन नस्रल्लाहको तस्बिर बोकेका थिए।

केहीले पटका पटकाएको समेत तस्बिरहरूमा देखिन्छ।

ब्रिटिश राजदूतावासबाहिर उक्त भेला भएको थियो। गत एप्रिलमा समेत इरानले इजरेलमा हमला गर्दा सोही ठाउँमा प्रदर्शन भएका थिए।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

इरानी हमलापछि राष्ट्रपति जो बाइडनले इजरेलप्रति अमेरिकी साथ निरन्तर रहेको कुरा दोहोर्‍याएका छन्।

उनले तेहरानको हमलालाई "पराजित र निष्प्रभावी" बताउँदै उक्त हमलालाई निष्फल तुल्याउन इजरेलसँग अमेरिकी सेनाले मिलेर काम गरेको बताएका छन्।

ब्रिटिश प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको एक विज्ञप्तिमा सर किअर स्टार्मरले जर्मन चान्सलर ओलाफ सोल्जसँग कुरा गरेको र दुवैले इरानी हमलाको निन्दा गरेको जनाएका छन्।

इजरेलमा हवाई हमलाको चेतावनीयुक्त साइरस बजेपछि मानिसहरू सुरक्षित स्थानमा आश्रय लिन पुगेका थिए
तस्बिरको क्याप्शन, इजरेलमा हवाई हमलाको चेतावनीयुक्त साइरस बजेपछि मानिसहरू सुरक्षित स्थानमा आश्रय लिन पुगेका थिए

उक्त हमलाको निन्दा गर्नेमा फ्रान्स र जापान समेत रहे पनि उनीहरूले समेत सबै पक्षलाई अवस्था थप चर्काउने काम नगर्न भनेका छन्।

संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घ ईयूले युद्धविरामको माग दोहोर्‍याएका छन्। राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक बुधवारका लागि बोलाइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।