सिक्किमको हिमपहिरोमा मृत्यु भएका सात जनामध्ये तीन नेपाली

तस्बिर स्रोत, Nitesh Pradhan
- Author, उमाकान्त खनाल
- Role, बीबीसी न्यूज नेपाली, झापा
- Published
भारतको हिमाली राज्य सिक्किमको पूर्वोत्तर क्षेत्रमा मङ्गलवार गएको हिमपहिरोमा परेर मृत्यु भएका सात जनामध्ये तीन नेपाली नागरिक रहेको सिक्किम राज्य सरकारले जनाएको छ।
सिक्किमको राजधानी गान्तोकबाट सिक्किम-चीन सीमामा पर्ने नाथुला पास जाने सडकमा उक्त घटना भएको अधिकारीहरूले बताएका छन्।
सिक्किम सरकारद्वारा जारी सूचनामा मृतकहरूमध्ये दुईजना चितवन जिल्लाका र एक जना रूपन्देहीका बासिन्दा भएको उल्लेख छ।
अन्य तीन नेपालीको गान्तोकस्थित एसटीएनएम अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
हिमपहिरोमा परेर केही मानिस अझै पनि हराइरहेको अनुमान उद्धारमा खटिएका सुरक्षाकर्मीले गरेका छन्।


घटनास्थल कहाँ छ?

तस्बिर स्रोत, Nitesh Pradhan
घटनास्थल गान्तोकबाट करिब २४ किलोमिटर पर रहेको सिक्किम पुलिसले जनाएको छ।
प्रहरीका अनुसार मङ्गलवार मृत्यु हुनेहरूमा सबै पर्यटक छन्।
यतिखेर गान्तोक-नाथुला रोड अहिले पर्यटक बोकेका सवारी साधनका कारण व्यस्त रहने गर्छ।
केही दिन भारतको केन्द्रीय राजधानी दिल्लीमा रहेका सिक्किमका मुख्यमन्त्री पीएस गोले मङ्गलवार गान्तोक आइपुग्नेबित्तिकै अस्पताल पुगेर सबै घाइतेहरूको नि:शुल्क उपचार गर्ने बताए।
उनले मृतकका शव उनीहरूका घर पुर्याइदिने समेत जनाएका छन्।
घटना

तस्बिर स्रोत, Nitesh Pradhan
वसन्त यामको सुरुसँगै अहिले सिक्किममा पर्यटकहरूको सङ्ख्या उच्च छ।
उत्तर तथा पूर्व सिक्किममा फेब्रुअरीको अन्तिम सातादेखि एप्रिल महिनाको अन्तिम सातासम्म भारतसहित नेपाल तथा अन्य देशहरूबाट पर्यटकहरू जाने गरेका छन्।
गान्तोक-नाथुला सडक हिउँकै कारण केही दिन पूर्ण रूपमा अवरुद्ध भएको थियो।
उक्त सडकमा अहिले पनि दुईतर्फी सवारी चलाउन निकै गाह्रो हुने गरेको त्यहाँ पुगेर फर्केका पर्यटकहरू बताउँछन् ।
सधैँभन्दा धेरै बाक्लो हिउँ परेको अवस्थामा गाडीबाट ओर्लिएर एउटा खोल्सीमा हिउँमा फोटो खिच्न जाँदा मङ्गलवार धेरै मानिसलाई हिमपहिरोले बगाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
बुधवार पनि हिमपहिरो गएको क्षेत्रमा उद्धारकार्य भइरहेको सिक्किमका अधिकारीहरूले जनाएका छन् ।























