मङ्गलवार विश्वभरका मानिसहरूले किन तीन खर्ब बढी दान गर्छन्

तस्बिर स्रोत, Getty Images
दयालुपन प्रवर्द्धन गर्ने दिनका रूपमा मनाइने मङ्गलवार ‘गिभिङ ट्यूस्डे’ मा यो वर्ष विश्वका ८० देशहरू सहभागी हुने अपेक्षा गरिएको छ।
“प्रतिबद्ध उदारता” लाई प्रवर्धन गरिने मङ्गलवार विश्वभरी नै व्यापक हुँदै गइरहेको छ। अमेरिकामा मनाइने थ्याङ्क्सगिभिङ पछिको पहिलो मङ्गलवार मानिसहरूले दान गर्ने गरेका छन्।
‘गिभिङ ट्यूस्डे’ नामको एउटा गैर नाफामूलक संस्थाले सन् २०१२ मा सुरु गरेको यो अभियानले मानिसहरूले गर्ने हरेक दानको गणना गरिने जनाएको छ।
अमेरिकामा गत वर्षको ‘गिभिङ ट्यूस्डे’मा तीन करोड ५० लाख मानिसहरूले दुई अर्ब ७० करोड अमेरिकी डलर (तीन खर्ब ४८ अर्ब नेपाली रुपैयाँ) दान गरेको यो संस्थाले जनाएको छ। उसका अनुसार यो दान अहिलेसम्मकै सबैभन्दा धेरै थियो।
उक्त परिमाण अघिल्लो वर्षको भन्दा १० प्रतिशत बढी र अनुमान गरिएको भन्दा दोबर थियो।
‘गिभिङ ट्यूस्डे’की सह संस्थापक आशा कुरनले मानिसहरूले गर्नै पैसाको दान मात्र नभएर स्वयंसेवा र कसैप्रति प्रकट गरेको मुस्कान पनि यो दिनमा गणना हुने बताइन्।
“हाम्रोलागि कट्टर भनेको हामीले गर्ने सांसारिक सूक्ष्म कामहरूमा पनि कसरी दयालुपन कायम राख्न सकिन्छ भन्ने हो,” उनले भनिन्।
“दयालुपन भनेको हामीले कारोबारमा अभिव्यक्त गर्ने कुरा मात्रै होइन। वास्तवमा यो भनेको हामीले अरू मानव जातिलाई हाम्रो जीवनको हरेक दिन हुने अन्तरक्रियामा कस्तो व्यवहार गर्छौँ भन्ने पनि हो।”
‘दयालुपन भाइरल बनाउने’ अभियान कसरी व्यापक भयो
कुरनका अनुसार हामीले बेवास्ता गर्न सक्ने मानिसहरूलाई बोलाएर मात्रै पनि दयालुपन व्यक्त गर्न सकिन्छ।
न्यूयोर्कमा सामाजिक प्रभाव पार्न काम गरिरहेकी उनले सन् २०१२ मा हेनरी टिम्ससँग मिलेर ‘गिभिङ ट्यूस्डे’ स्थापना गरेकी हुन्।
उनको प्रारम्भिक जुक्ति चाहिँ सामाजिक सञ्जालको माध्यमबाट “दयालुपन भाइरल बनाउने” थियो।
“तत्कालै त्यो अपेक्षा गरिएभन्दा व्यापक भयो,” कुरनले भनिन्।
“यो अभियानमा एक देशपछि अर्को देश सहभागी भए। अहिले हामीले ८५ भन्दा बढी देशहरूमा यसलाई पुर्याएका छौँ।
धेरै मानिसहरूले गर्ने सहयोग जुटाउने ‘क्राउडफन्डिङ’ सेवा दिँदै आएको ‘लञ्चगुड’की सह संस्थापक अमेनी किलाई आफ्नो संस्थाको माध्यमबाट विगत दुई वर्षमा १० लाख अमेरिकी डलर बढी सहयोग जुटेको र यो वर्ष पनि त्यति नै सहयोग जुट्ने अपेक्षा गरिएको बताउँछिन्।
वर्षको अन्य दिन भन्दा ‘गिभिङ ट्यूस्डे’मा मानिसहरू धेरै दानी भएको उनको बुझाइ छ।
विज्ञहरूले यो वर्षको ‘गिभिङ ट्यूस्डे’मा सहभागिता जनाउन इच्छुकहरूलाई आफूलाई प्रभावित गर्ने सबैभन्दा बलियो पक्षलाई ध्यानमा राख्न भनेका छन्।
यसले पैसा नै दान नदिए पनि अन्य खाले सहयोग गर्न सकिने बाटो खुल्ला गरेको छ। जसमा सहयोग पुर्याउन सकिने संस्थाहरूको सूची पनि छ।
स्वयंसेवक हुन चाहनेहरूका लागि वेबसाइटमा सम्भावित कामहरूको सूची पनि तयार गरिएको छ।
कुरन स्थानीय देखि पाकिस्तानको बाढी जस्ता विश्वव्यापी समस्या सम्ममा सहयोग गर्न सकिने बताउँछिन्।
“तपाईँले त्यस दिन गर्ने कामहरू बारे पनि सोच्नुहोस् र गर्ने धेरै सूक्ष्म कामहरूले अरू कसैको दिन उज्यालो बनायो भन्नेबारे पनि,” कुरन भन्छिन्।




















