इलाम र बझाङको मतपरिणाम कहिलेसम्म आउँछ

    • Author, सीता निरौला र प्रकाश पार्की
    • Role, इलाम र डडेल्धुरा
  • Published

पूर्वी नेपालको इलाम र सुदूरपश्चिमको बझाङ जिल्लामा भएको उपनिर्वाचनको मतपरिणाम 'एक दुई दिनभित्रै' आइसक्ने निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम-२ र प्रदेशसभा सदस्य चयनका लागि बझाङ १ (१) मा शनिवारको मतदान शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता राम दत्त पाण्डेयले एउटा मात्रै मतपत्र भएका कारण मतपरिणाम छिटो आइसक्ने अपेक्षा गरिएको बताए।

“यसअघिजस्तो लामो समय लाग्दैन। मतपेटिका सङ्कलन भएपछि मुचुल्का उठाएर जतिसक्दो मतगणना सक्न आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइसकेको छ,” पाण्डेयले भने।

आयोगका अनुसार इलाममा करिब ५८ प्रतिशत र बझाङमा करिब ५० प्रतिशत मत खसेको छ। इलाममा कुल १,१५,८८९ र बझाङमा ६१,७४८ योग्य मतदाता थिए।

मतगणनास्थलमा तारजाली र सीसीटीभी

इलामका सबै एक सय ४९ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन्।

उनका अनुसार इलामका सबै मतदान केन्द्रबाट शनिवार राती ११ बजेभित्र मतपेटिका सदरमुकामको गौतम बुद्ध सभाहलमा जम्मा गरिसक्ने योजना छ।

"मतपेटिका जम्मा गरिसकेपछि सर्वदलीय बैठक बस्छ। सकभर आजै नभए आइतवार बिहानबाट मतगणना सुरु गर्ने हाम्रो योजना छ,"निर्वाचन अधिकृत घिमिरेले बीबीसी न्यूज नेपालीसँग भने।

निर्वाचन अधिकृतको कार्यालयले छिटो मतगणना सक्न दुई स्थानमा मतगणना गरिने जनाएको छ।

"सबै अनुकूल भए दुई दिनभित्र नतिजा आइसक्छ भन्ने हाम्रो अपेक्षा छ," उनले भने।

मतगणना स्थल गौतम बुद्ध सभाहलमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिसकिएको घिमिरेले जानकारी दिएका छन्।

मतगणनास्थलमा दलका प्रतिनिधिहरूको भीड व्यवस्थापन र मतगणनाको सुरक्षाका लागि तारजाली लगाउने प्रचलन सुरु भएको छ।

विभिन्न स्थानीय तहका ४२ वडा समेटिएको इलाम क्षेत्र नम्बर २ मा ७९ वटा मतदान स्थल र १ सय ४९ मतदान केन्द्र तोकिएको थियो।

मतदानमा सहजीकरण, पारदर्शिता र स्वच्छता कायम गर्न आयोगले ७ सय ४५ जना कर्मचारी खटाएको जनाएको थियो।

बझाङमा मतपेटिका सङ्कलनका लागि हेलिकप्टर

बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार त्यहाँको उपनिर्वाचनको मतगणना केही विकट ठाउँबाट मतपेटिका सङ्कलनमा निर्भर हुने अवस्था छ।

“साइपाल गाउँपालिकाका तीन वटा केन्द्रबाट हेलिकप्टरबाट मतपेटिका ओसार्नुपर्ने अवस्था छ, मौसमले साथ दिए आजै नभए आइतवार मात्रै मतपेटिका त्यहाँबाट ल्याउन सकिन्छ,” उनले भने।

“दुई ठाउँको आइपुगे पनि एक ठाउँको मतपेटिका हेलिकप्टर बस्ने ठाउँसम्म ल्याउन नै तीन घण्टा लाग्ने भएकाले आज आइपुग्न अलि कठिन छ।”

मतपेटिका सङ्कलनका लागि हेलिकप्टर दिउँसैबाट तयारी अवस्थामा राखिएको थियो। मतदान स्थलको सबै तयारी भए पनि मतपेटिका सङ्कलनमा समय लाग्न सक्ने ठानिएको उनले बताए।

“दुई ठाउँमा मतगणना हुन्छ,” लामिछानेले भने।

चुनावी मैदानका उम्मेदवार

इलाम-२ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन्। उनी संविधान सभाका अध्यक्ष सुवास नेम्वाङका छोरा हुन्।

नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार छन्। उनी अघिल्लो निर्वाचनमा सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू,पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह लिम्बु, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरूङ लगायत १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गरेका छन्।

त्यसैगरी बझाङ-१ को प्रदेश सभा १ मा एमालेबाट दमन बहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह लगायत ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

किन भएको हो इलाम र बझाङमा उपनिर्वाचन

इलाम २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र वझाङ १ को प्रदेश सभा १ वाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको निधन पछि रिक्त रहेका ती क्षेत्रमा उप निर्वाचन भएको हो।

संविधानसभाका अध्यक्ष र पटक पटक सभामुख र मन्त्री रहेका नेम्वाङको गत भदौमा हृदयाघातका कारण मृत्यु भएको थियो। उनी नेकपा एमालेका उपाध्यक्ष समेत थिए।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका सिंहको गत असारमा सवारी दुर्घटनामा मृत्यु भएको थियो।

उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले अनुसार इलाममा प्रतिनिधिसभा सदस्य र बझाङमा प्रदेशसभा सदस्य निर्वाचन घोषणा गरेको थियो।

नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम इलाममा प्रतिनिधिसभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम बझाङमा प्रदेश सभा सदस्यका रिक्त स्थानमा उप निर्वाचन सम्पन्न गरिएको निर्वाचन आयोगले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।