पाकिस्तान: हिउँमा रमाउन गएका कम्तीमा २२ जनाको मृत्यु, अलपत्र परेका सयौँ मानिसको उद्धार

Published

उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका कम्तीमा २२ जनाको मृत्यु भएको छ।

मरी नाम गरेको ठाउँमा हिमपात हेर्न जान लागेका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका थिए।

स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका भएको बीबीसी उर्दूले जनाएको छ।

बीबीसी उर्दूका अनुसार २२ वटा शव इस्लामाबाद र रावलपिन्डी लगेर मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ।

अधिकांश मृतकहरू हिउँमा फसेका चारवटा गाडीमा थिए। ज्यान गुमाउनेमा इस्लामाबादमा कार्यरत एक प्रहरी अधिकृत र उनको परिवारका आठ जना छन्।

त्यसैगरी मार्दनबाट आएका चार नातेदार र अर्को परिवारका सात जनाको पनि मृत्यु भएको छ।

के भन्छ सेना?

सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेको छ।

सेनाले ५०० जनाजतिलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको बताएको छ।

सेनाका एक प्रवक्ताका अनुसार सेनाका इन्जिनियर र टोलीहरूले मरीतिर जाने बाटो सफा गर्न गरिरहेका छन्।

शुक्रवार आएको हिमआँधीले रूख ढालेको तथा बाटो बन्द गरेको थियो।

कसरी आइपर्‍यो यस्तो सङ्कट?

गृहमन्त्री शेख रसिदका अनुसार राजधानी इस्लामाबादबाट उत्तरमा रहेको त्यस क्षेत्रमा यात्रा गर्नेहरूको सङ्ख्या उच्च भएकाले सङ्कट सिर्जना भएको हो।

मरी नगरमा केही दिनयता एक लाख वटाभन्दा बढी गाडी पुगेका थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यहाँ हिउँ खेल्दै रमाएको देखिने तस्बिरहरू प्रेषित गरेका थिए।

तर शुक्रवार स्थानीय सञ्चारमाध्यमले त्यहाँ पर्यटकहरू हिउँमा फसेको जानकारी सार्वजनिक गर्‍यो।

शनिवारसम्ममा ठूलो हिमपात भएपछि तथा सवारीसाधनको चाप बढेपछि सरकारी अधिकारीहरूले उक्त नगरलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरे।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडिओमा गाडीहरूको छानासम्मै हिउँ जमेको देखिन्छ।

आकस्मिक सेवामा खटेका निकायका अनुसार मृत्यु हुनेमा १० बालबालिका छन्।

प्रहरीका अनुसार कम्तीमा छ जनाको गाडीमै कठ्याङ्ग्रिएर मृत्यु भएको हो।

धुवाँमा सास फेर्दा अक्सिजन कमी हुनुलाई मृत्युको सम्भावित कारण मानिएको छ।

"मानिसहरूले भयानक अवस्थाको सामना गरिरहेका छन्," उक्त क्षेत्रमा अलपत्र परेका पर्यटक उस्मान अब्बासीले समाचारसंस्था एएफपीसँग फोनमा भने।

उनका अनुसार त्यहाँ ग्यास र पानीको अभाव भएको छ। त्यसैले कारण "पर्यटक मात्रै नभई स्थानीय जनता पनि गम्भीर समस्यामा परेको" उनले बताए।

स्थानीयवासीहरूले त्यहाँ फसेका पर्यटकलाई ओढ्ने र खाना उपलब्ध गराएका छन्।

समुद्र सतहबाट २,३०० मिटरमा रहेको स्थानसम्म पुग्न सकेका मानिसलाई सरकारी भवन र विद्यालयहरूमा आश्रय दिइएको छ।

प्रधानमन्त्री इमरान खानले पर्यटकहरूको "दुःखद मृत्यु" प्रति शोक व्यक्त गरेका छन्।

उनले पर्यटकहरू मौसमको अवस्था विचार नगरी पुगेकाले जिल्ला प्रशासनले तयारी गर्न नसकेको समेत प्रस्ट्याए।

"यस्ता विपद्हरूको रोकथाम सुनिश्चित गर्नका लागि छानबिन र कडा नियमहरू लागु गर्न निर्देशन दिइएको छ," खानले ट्विटरमार्फत् भनेका छन्।

मरीलाई १९ औँ शताब्दीमा बेलायतीहरूले आफ्नो सेनाका लागि चिकित्सकीय केन्द्रका रूपमा निर्माण गरेका थिए।