मिर्गौला प्रत्यारोपणमा ७० प्रतिशत दाता महिला

Published

अप्रिल ८ मा अन्तर्राष्ट्रिय महिला दिवसकै दिन मनाइने विश्व मिर्गौला दिवसको यो वर्षको नारा 'मिर्गौला तथा महिला स्वास्थ्य' छ।

तर नेपालमा आफन्तलाई आवश्यक पर्दा मिर्गौला दिनेमा महिलाहरूको संख्या धेरै रहेको र उनीहरूलाई चाहिँदा भने सहज रूपमा पुरुषहरूबाट पाउने अवस्था नरहेको मानव अंग प्रत्यारोपण केन्द्रले जनाएको छ।

सरकारी अभिलेखअनुसार उक्त केन्द्र र सरकारी स्वामित्वका अन्य अस्पतालमा हालसम्म ५०९ जनामा मृगौला प्रत्यारोपण गरिएको छ।

ग्रहणकर्तामध्ये ८० प्रतिशत पुरुष र दातामध्ये ७० प्रतिशत महिला छन्।

महिलाहरूलाई आवश्यक पर्दा मिर्गौला नपाउने स्थितिलाई न्यून गर्न मृत्युपछि गरिने दानमा आउने मृगौलामा उनीहरूलाई प्राथमिकता दिने व्यवस्था गरिएको बताइन्छ।

दीर्घकालीन मिर्गौला रोगको जोखिममा पुरुषको तुलनामा महिलाहरू बढी रहेको विभिन्न तथ्यांकहरूले देखाएका छन्।

समर्पणभाव

विश्वभरिका १४ प्रतिशत महिला र १२ प्रतिशत पुरुष त्यस्तो जोखिममा रहेको बताइन्छ।

तर नेपालमा रोग लागिसकेपछि पनि एक व्यक्तिबाट अर्कोमा प्रत्यारोपण गर्न सकिने अवस्थामा रहेको मिर्गौला पाउन महिलाहरूले कठिनाइ भोग्नु परेको बताइन्छ।

केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले भने, "मेरो श्रीमान्‌को स्वास्थ्य राम्रो भए पो मेरो जीवनको अर्थ रह्यो भनेर श्रीमतीले श्रीमान्‌लाई, आमाले छोरालाई र छोरीले बाबुलाई मिर्गौला दान दिने गरेका छन्।"

"तर पुरुषहरूमा त्यस्तो समर्पणको भाव एकदमै कम मात्रामा छ। हाम्रो अध्ययनअनुसार मिर्गौलाहरू मिर्गौलादाता र पुरुषहरु ग्रहणकर्ताका रूपमा देखिएको छ।"

प्राथमिकता

महिलालाई मिर्गौला आवश्यक पर्दा परिवारभित्रबाट पाउन नसक्ने अवस्थाको अन्त्य गर्न भन्दै प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।

त्यसका अतिरिक्त मृत्युपछि प्राप्त हुने मृगौला महिलालाई प्राथमिकता दिने व्यवस्था गरिएको डाक्टर श्रेष्ठले बताए।

उनले भने, "नयाँ कानुन महिलामैत्री बनाइएको छ। मिर्गौला आवश्यक पर्दा महिलालाई तीन नम्बर र पुरुषलाई एक नम्बर दिने गरेका छौँ।"

"त्यसले स्वस्थ व्यक्तिको अंगदानमा महिलालाई हुने गरेको भेदभाव मृत्युबाट हुने अंगदानले केही हदसम्म कम गर्ने विश्वास लिएका छौँ।"

मृत्युपछि नष्ट हुने अंगहरू दान दिने संस्कारमा वृद्धि गर्न सकिए महिलाहरूले मिर्गौलालगायत अन्य अंगहरू आवश्यक पर्दा पाउन सहज हुने विश्वास गरिएको छ।