तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
छठ: भोजपुरी र मैथिलीभाषीको यो पर्वको महत्त्व के छ र मनाउने विधि कस्तो छ?
- Author, माधुरी महतो
- Role, वीरगन्ज
- Published
भोजपुरी र मैथिलीभाषी हिन्दूको मुख्य पर्व छठ नेपालको तराई भूभाग र काठमाण्डू उपत्यकामा धुमधामका साथ मनाईँदैछ।
सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा छठ मनाउने गरिन्छ।
तराईको साझा साँस्कृतिक धरोहरको रूपमा मनाइने छठ लक्ष्मी पूजाको ठिक चार दिनपछि कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथिका दिनबाट सुरु हुन्छ।
पूजाका लागि चाहिने सामग्री
दीपावली सकिएसँगै तराईका मानिसहरू छठ पूजाका सामाग्री किनमेलमा व्यस्त हुन्छन्।
हरियो तरकारी र फलफूल छठ पूजाका लागि अनिवार्यजस्तै हो।
विशेषगरि स्याउ, केरा, सुन्तला, पानी सहितको नरिवल, उखु , हरियो बोडी, गागल, मुला, अदुवाको बोट लगायतका फलफूल र हरियो तरकारी छठी मातालाई प्रसादको रुपमा अर्पण गर्ने चलन छ।
पूजाका लागि केही दिन अघिबाटै माटो तथा बाँसका सामग्री खरिद गर्नेको भिडभाड हुनेगर्छ।
छठ पूजाका लागि प्रयोग हुने माटो र बाँसका सामाग्रीसँगै फलफूल र तरकारीको पसल व्यापारीहरूले वीरगन्ज बजारको फुटपाथ र सडक छेउमा थापेका छन्। ती पसलहरूमा बिहानै देखि ग्राहकहरूको भिड देखिन्छ।
दिउँसो छठ घाट नपुगुन्जेलसम्म मानिसहरू सामाग्री किनमेल गर्न बजार पुग्छन्। त्यस्तै छठ पूजामा नयाँ कपडा लगाउने चलनका कारण कपडा पसलहरूमा पनि उतिकै भिडभाड हुने गरेको छ।
छठ पर्व मनाउन पोखरीको डिल र नदीको किनारको सरसफाइ गरेर पूजास्थल बनाउने गरिएको छ।
मध्य तराईका जिल्लामा रहेका छठ घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका कामहरू भएका छन्।
पर्साकै प्रसिद्ध छठ घाटस्थल घडीअर्वा पोखरी छठ घाट सजावटका लागि करिब १६ लाख भन्दा धेरै रुपैयाँ खर्च हुने अनुमान गरिएको व्यवस्थापन समितिका मनोहर साहले जानकारी दिए।
स्थानीय एफएम रेडियोहरू समेत छठका गीतले गुञ्जायमान छन् भने बजार छठका सामग्रीहरूले भरिभराउ छ।
छठ पूजाको महत्त्व
तराईका जिल्लाहरूमा मधेशी समुदायले मात्र नभई अन्य समुदायले पनि आस्थापूर्वक छठ पर्व मनाउने चलन बढेको जानकारहरू बताउँछन्।
आफूले चाहेको कुरा छठी माताले पुरा गरिदिने विश्वासका कारण व्रत बसेको वीरगन्ज कुमालटोलकी शारदा थापाले बताइन्।
व्रतको प्रभावले अभाव र दरिद्रता नहुने तथा परिवारमा सुख हुने जनविश्वास छ।
छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ। सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ।
चार दिनसम्म अन्न र पानी नखाई व्रत गर्ने चलन रहेको वीरगन्जकी भाग्यमनी देवीले बताइन्।
छठको व्रत महिला र पुरुष दुवैले लिने र पूजा गर्ने गरेको सँस्कृतिविद् उमाशंकर द्विवेदीले बताए।
हिन्दूहरूले वर्षभरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिएपनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रूपले पूजा गर्छन्।
मनाउने विधि
कात्तिक शुक्ल पक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाई 'नहाए खाएके' दिन पनि भन्ने गरिन्छ। शुक्रवार देखी विधिवत् रूपमा सुरु भएको छठ पर्वको मुख्य षष्ठीको दिनलाई 'सजिया घाट' भनेर मनाइन्छ।
- पहिलो दिन: नहाए खाएके दिन व्रतालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर लसुन र प्याज नहालेको चोखो शाकाहारी खाना खाने गर्छन्। यस दिन छठ व्रत गर्ने व्रतालुहरूले दतिउनले मुख धुने, हात खुट्टाको नङ काट्ने र नुहाएर मात्र शुद्ध सात्त्विक भोजन ग्रहण गर्छन्।
- दोस्रो दिन: छठको दोस्रो दिन अर्थात् पञ्चमी तिथिको दिनलाई 'खरना' भनिन्छ। शनिवार परेको खरनाका दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बसेर साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजाकोठामा माटोको नयाँ चुलो बनाउँछन्।यस्तो चुलोमा चामल र भेलीको खीर रसिआव तथा गहुँको रोटी प्रसादका रूपमा पकाउँछन्। रसिआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरूले प्रसादको रुपमा लिने चलन छ।
- तेस्रो दिनः छठको तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ। जसलाई 'सँझीया घाटे' पनि भनिन्छ। सँझीया घाटका दिन व्रतालु महिलाहरूले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ।
- चौथो दिन: सप्तमी थितिका दिन झिसमिसेमै व्रतालुहरू फेरि नुहाइ धुवाइ गरी पूजा सामग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्छन्। सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान् वा श्रीमती तथा छोरा छोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग अनुनय गर्छन्।
सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठ घाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठीमातालाई दिन्छन्।
सूर्यलाई अर्घ दिए पछि छठ घाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पा देखि सिउँदो सम्म सिन्दूर लगाइ दिन्छन्। त्यसपछि उनीहरू आ-आफ्नो घर फर्किन्छन्।
उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत् रूपमा समापन हुन्छ। यस दिनलाई 'परना' भन्ने चलन छ।
प्रयोग हुने सामाग्री
छठ पूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ।
छठ पर्व आउनु भन्दा केही दिन पहिलेदेखीनै घरमा माछा मासु वर्जित हुने गरेको व्रतालु महिलाहरू बताउँछन्।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरू सहित पूजा गरिन्छ।
त्यस्तै प्रसादको रूपमा ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई अर्पण गरिन्छ।
उखु, केरा, मुला, गाजर, बेसार, ज्यामिर, नरिवल, सुन्तला जस्ता फलहरू लगायतले भगवानलाई भोग लगाइन्छ।
कतिपय स्थानमा राती छठ घाटमै मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने चलन छ भने कतिपय व्रतालुहरू आफ्ना सामाग्री प्रसाद सहित फर्केर आउने र भोलि पल्ट बिहान फेरी घाट जाने गर्छन्।
छठ पर्वले सामाजिक सद्भाव बढाएको नागरिक समाजका अगुवा डा.दीपक शाक्य बताउँछन्।