तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: लडाइँ सुरु भएपछिको दोस्रो अन्तर्राष्ट्रिय भ्रमणका क्रममा पुटिन इरानमा
- Author, म्याट मर्फी
- Role, बीबीसी न्यूज
- Published
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलवार इरान पुगेका छन्। यो फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेयताको उनको दोस्रो विदेश यात्रा हो।
पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई र टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनसँग भेट्नेछन्।
तेहरानमा अन्न निर्यात, सिरिया र युक्रेनबारे छलफल हुने एकजना टर्कीस अधिकारीले बताएका छन्।
युक्रेनमा युद्ध सुरु गरेयता रुसी नेताले आफ्ना अन्तर्राष्ट्रिय भ्रमणहरू सीमित पारेका छन्।
युद्ध सुरु भएपछिको दोस्रो अन्तर्राष्ट्रिय यात्रा
पुटिनले युद्ध सुरु भएपछिको आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण जुन महिनामा ताजिकिस्तान र तुर्कमेनिस्तानमा गरेका थिए।
ती दुवै पूर्व सोभियत सङ्घबाट छुट्टिएका र रुसका साझेदार देशहरू हुन्। त्यहाँ तानाशाही नेताहरू सत्तामा छन्।
मङ्गलवारको भ्रमणले पुटिनलाई इरानसँग सम्बन्ध बलियो बनाउने अवसर दिनेछ।
पश्चिमा आर्थिक प्रतिबन्धहरूको निसानामा परेको इरान मस्कोको बाँकी रहेका केही अन्तर्राष्ट्रिय साझेदारमध्ये पर्छ।
"निकै महत्त्वपूर्ण"
गत साता अमेरिकी अधिकारीहरूले तेहरानले युक्रेन युद्धका लागि रुसलाई सयौँ ड्रोनहरू उपलब्ध गराउन लागेको आरोप लगाएका थिए।
मङ्गलवार रुसी ऊर्जा कम्पनी ग्याजप्रोपले इरानको सरकारी तेल कम्पनीसँग ४० अर्ब अमेरिकी डलर बराबरको एउटा नयाँ सम्झौता गरेको थियो।
"खामेनेईसँगको सम्पर्क निकै महत्त्वपूर्ण छ," पुटिनका शीर्ष विदेश नीति सल्लाहकार युरी उषाकोभले सोमवारको मिडिया ब्रीफिङमा भने।
"द्विपक्षीय र अन्तर्राष्ट्रिय मामिलाका महत्त्वपूर्ण विषयमा उनीहरूबीच एउटा विश्वासिलो संवाद विकास भएको छ।"
सिरिया मामिला
टर्की र रुसले सिरियाको गृहयुद्धमा आपसमा भिडिरहेका दुई भिन्न पक्षलाई साथ दिएका थिए र पछिल्ला महिनामा हिंसा कम गर्ने उपाय खोजिरहेका थिए।
तर यो बैठक उत्तरी सिरियामा अमेरिकाले सघाइरहेको कुर्दिस लडाकुविरूद्ध नयाँ हमला सुरु गर्ने टर्कीको चेतावनीमा हुन लागेको हो।
उक्त कदमको इरान र रुस दुवैले विरोध गर्छन्।
त्यो सैन्य अभियान टर्कीको सिरियासँगको सीमामा ३० किलोमिटर लामो सुरक्षित क्षेत्र सिर्जना गर्ने एर्दोआनको योजना अन्तर्गतको हो।
टर्कीको प्रयास
२४ फेब्रुअरीमा युक्रेनमा हमला सुरु गरेपछि अङ्कराले मस्कोमाथि प्रतिबन्धहरू लगाउन अस्वीकार गर्दै आएको छ।
एर्दोआनको सरकारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न खोजिरहेको छ।
यो बैठक रुसी र युक्रेनी नेताहरूबीच एउटा सम्भावित सम्झौताको टुङ्गो लगाउँदै अत्यावश्यक मानिएको २ करोड २० लाख टनको निर्यात सुनिश्चित गर्ने अवसर बन्न सक्ने ठानिएको छ।
गत साता टर्कीका विदेशमन्त्रीले दुवै पक्ष खाद्यान्नको पारवहनका लागि सुरक्षा सुनिश्चित गर्न सहमत भएको बताएका थिए।
बीबीसीका रुस सम्पादक स्टिभ रोजनबर्गका अनुसार क्रेमलिन अन्तर्राष्ट्रिय प्रतिबन्धहरू रुसलाई एक्लाउन असफल भएको व्यग्रताका साथ देखाउन टर्की र इरानजस्ता देशहरू आफ्नो पोल्टामा देखाउन चाहेको बताउँछन्।
उनी भन्छन्, "सिरियाबारेको उक्त सम्मेलनलाई रुसले शक्तिशाली गठबन्धन र भूराजनीतिक प्रभाव देखाउन प्रयोग गर्नेछ।"