नेपाल हैजा: के सरकारले रोग फैलिन नदिन खोप ल्याउन खोजेको हो? कहाँबाट आउला ओरल कोलेरा भ्याक्सीन?

Published

काठमाण्डूमा केही मानिसमा हैजा पुष्टि भएपछि यो सरुवा रोगलाई प्रकोप बन्न नदिन सरकारले हैजाविरुद्ध खोपको व्यवस्था गर्ने प्रयास गरेको अधिकारीहरूले बताएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ईडीसीडीका निर्देशक डा. चुमनलाल दासका अनुसार विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओसँग खोपका लागि बुझ्न आग्रह गरिएको छ।

"काठमाण्डूको जनसङ्ख्या धेरै भएकाले थोरै मात्राले पुग्दैन। हैजा देखिएको जानकारीसहित खोप अभियानबारे के गर्न सकिन्छ भनेर सोधेका छौँ। पाउँछौँ कि पाउँदैनौँ, जानकारी आइसकेको छैन," उनले भने।

नेपालको आग्रहप्रति डब्ल्यूएचओ सकारात्मक देखिएको उनले बताए।

डब्ल्यूएचओको समन्वयमा केही महिनाअघि नेपालमा हैजाको खोप आएको थियो। कपिलवस्तु र सप्तरीका विभिन्न स्थानमा उक्त खोप सर्वसाधारणलाई दिइएको थियो।

"हैजाको खोपका लागि अतिरिक्त माग भएमा विश्वव्यापी भण्डारबाट सहयोग गर्न डब्ल्यूएचओ तयार छ," नेपालस्थित डब्ल्यूएचओ कार्यालयले बीबीसीलाई पठाएको एउटा इमेलमा लेखिएको छ।

नेपालले कति खोप र कस्तो सहयोग पाएको थियो?

गत वर्ष असोजमा कपिलवस्तु जिल्लामा हैजा फैलिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) सँग खोप मागेको थियो।

डब्ल्यूएचओमा सचिवालय रहेको आईसीजीले प्रकोपको समयमा देशहरूमा आपत्कालीन खोप आपूर्ति र एन्टिबायोटिकको व्यवस्थापन र समन्वय गर्छ।

त्यतिबेला हैजा फैलिँदा नेपालले गरेको अनुरोध पूर्ण रूपमा स्वीकृत भएको डब्ल्यूएचओको नेपालस्थित कार्यालयले जनाएको छ। उसका अनुसार गत वर्ष नोभेम्बरमा नेपाललाई मुखबाट दिइने हैजाको खोप ओसीभी (ओरल कोलेरा भ्याक्सीन) को ४,८३,४०८ मात्रा प्राप्त भएको थियो।

उक्त खोप कपिलवस्तुमा रहेको जोखिममा परेको समूहलाई प्रदान गरिएको ईडीसीडीका निर्देशक दासले जानकारी दिए।

"त्यतिबेला सामूहिक खोप अभियान सञ्चालन गर्न आईसीजीले नै आर्थिक सहयोग गरेको थियो," डब्ल्यूएचओले बीबीसीसँग उल्लेख गरेको छ।

डब्ल्यूएचओको नेपालस्थित कार्यालयले स्थानीय तहको समन्वयमा खोप अभियानको योजना र कार्यान्वयनमा प्राविधिक सहयोग गरेको थियो। त्यस्तै स्वास्थ्यकर्मीहरूलाई खोप व्यवस्थापन र उचित तापक्रम कायम गरेर आपूर्ति, भण्डारण र वितरणसम्बन्धी तालिम प्रदान गराएको जनाइएको छ।

यस वर्षको आरम्भमा नेपालले कपिलवस्तु जिल्लामा खोप अभियान विस्तार गर्नका लागि थप सात लाख मात्रा खोप प्राप्त गरेको थियो।

कहाँ कति जनाले खोप लगाए?

गत वर्ष कपिलवस्तुमा हैजाका कारण सयौँ मानिस प्रभावित भए र केहीको मृत्यु भयो। प्राप्त खोप वितरण गर्ने अभियान गत फागुनदेखि सुरु भएको जानकारी जनस्वास्थ्य कार्यालय, कपिलवस्तुका खोपसम्बन्धी फोकल पर्सन उमेश घिमिरेले दिएका छन्।

उनका अनुसार यही असार ८ गते सम्पन्न अभियानअन्तर्गत झन्डै चार लाख ८९,००० जनालाई खोप दिइएको छ।

"हामीले पाँच-पाँचवटा पालिकाका लागि दुई चरणमा खोप कार्यक्रम आयोजना गर्‍यौँ। कारणवश छुटेकाबाहेक सबैले दुई मात्रा खोप प्राप्त गरिसकेका छन्," उनले भने।

अहिले बाँकी झन्डै २०० मात्रा खोप छुटेका मानिसलाई दिइने उनको भनाइ छ।

त्यस्तै सप्तरीको रूपनी गाउँपालिकाका केही मानिसमा हैजा देखिएपछि त्यहाँ खोप अभियान सञ्चालन भयो। त्यहाँ करिब २९,००० जनाले खोप लिने अनुमान गरिएको थियो। तर एक महिनाअघि सम्पन्न अभियानको तथ्याङ्कअनुसार २७,००० जनाले खोप लिएका छन्।

"हैजाको जोखिम कम गर्न खोपले महत्त्वपूर्ण भूमिका खेलेको छ। आकलनअनुरूप सबै जनाले खोप नलिए पनि हामीसँग ठूलो मात्रा बाँकी छैन," सप्तरीका जनस्वास्थ्य अधिकृत दुनियाँलाल यादवले बताए।

बाँकेमा यूभिकोल

स्टप कोलेरा नामक संस्थाले सार्वजनिक गरेको विवरणअनुसार रोटरी क्लब अफ सोलको सहयोगमा ५०,००० मात्रा यूभिकोल खोप नेपाललाई उपलब्ध गराइएको थियो।

त्यो औषधि बाँके जिल्लाको दुई ग्रामीण र एक सहरी भेगका मानिसहरूलाई दिइएको थियो।

अट्ठाइस हजार जनालाई लक्ष्य गरिएको अभियानमा ८५ प्रतिशतले पहिलो मात्रा मात्र पाएको र ७४ प्रतिशत मानिसले दुवै मात्रा खोप पाएको बताइन्छ।

कति प्रभावकारी?

हैजाविरुद्धको खोप एक वर्षमाथि उमेर समूहका सबैले लिन सक्ने विज्ञहरू बताउँछन्।

सप्तरीमा खोप लगाउनेमध्ये ४९१ जना गर्भवती थिए।

कपिलवस्तुका खोपसम्बन्धी फोकल पर्सन घिमिरेका अनुसार खोपको दोस्रो मात्रा पहिलो लिएको १४ दिनदेखि र छ महिनाभित्र लिन मिल्छ। दुवै मात्रा लगाएका मानिसमा पाँच वर्षसम्म हैजाको जोखिम कम हुने उनी बताउँछन्।

खोपले हैजाविरुद्ध सुरक्षा प्रदान गर्ने भए पनि खोप मात्रै मानिसलाई सुरक्षित राख्ने उपाय नभएको विज्ञहरू बताउँछन्।

ढल निकास प्रणालीमा सुधार, भूमिगत पानी तथा नगरपालिकाले आपूर्ति गर्ने पानीको स्रोतदेखि ढुवानी बिन्दुसम्मको सुरक्षा नै प्रमुख आवश्यकता भएको उनीहरू औँल्याउँछन्।

त्यस्तै सुरक्षित खानेकुरा, पानी, सरसफाइका अभ्यासहरू र प्रारम्भिक उपचारबारे समुदाय स्तरमा सचेतना बढाउन आवश्यक रहेको बताइन्छ।

"यी विषयलाई समग्र रूपमा सम्बोधन नगरेसम्म हैजाको जोखिम रहन्छ," डब्ल्यूएचओले भनेको छ।

के काठमाण्डूमा खोप चाहिन्छ?

काठमाण्डू उपत्यकाका दुई जिल्लामा हैजाका बिरामी फेला परेपछि रोग नियन्त्रणका लागि सचेतना अभियानदेखि स्वास्थ्य केन्द्र तयारी अवस्थामा राख्ने काम गरिएको अधिकारीहरू बताउँछन्।

उपत्यकामा खोप वितरण गर्ने पहल गरिएको भए पनि तुलनात्मक रूपमा विकट तथा ग्रामीण भेगमा खोप वितरण केन्द्रित हुनुपर्ने विचार केही स्वास्थ्यकर्मी र जनस्वास्थ्यविद्को छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनका अनुसार उच्च जनघनत्वका कारण काठमाण्डूमा हैजा छिटो फैलिने सम्भावना भए पनि यहाँ हैजाकै कारण मृत्यु हुने सम्भावना कम रहन्छ।

स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सहज पहुँच भएकाले काठमाण्डूमा बिरामीको ज्यान जोगाउन सकिने तर्क उनले गरेका छन्।

"सहरी क्षेत्रमा मानिसहरूलाई सतर्क बनाउने सन्देशहरू छिटो प्रवाह हुन्छ। गम्भीर किसिमको झाडापखाला लागे अस्पताल धाउन र उपचार गर्न सहज छ। त्यसैले मृत्युदर कम हुन्छ," उनले भने।

भौगोलिक जटिलता भएका क्षेत्रमा भने अस्पताल पुग्नै ढिला हुने भएकाले हैजाका बिरामीहरूको मृत्युदर बढी हुने उनले बताए।

"त्यसैले जुन क्षेत्रमा तत्काल उपचार सम्भव छैन सरकारले त्यही क्षेत्रमा खोप वितरण गर्नु उचित हुन्छ," उनले भने।

के हो हैजा?

हैजा अर्थात् कोलेरा 'भिब्रिओ कोलेरी' नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ।

सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्। उनका अनुसार उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखा पर्छन्।

हैजा भएका मानिसहरूलाई निरन्तर अधिक पातलो दिसा हुने बताइन्छ।

त्यस्तै बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिने, धेरै तिर्खा लाग्ने, अधिक थकान, बेचैनी वा कमजोरी हुने डा. पुनले जानकारी दिए।

हैजाबारे थप कुराः

  • बिरामीको समयमै उपचार गरिएन भने केही घण्टामै मृत्यु हुन सक्छ
  • अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ
  • हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ
  • हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ
  • गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ
  • अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्
  • विश्वमा हैजाबाट हुने मृत्यु ९० प्रतिशतले घटाउने उद्देश्य राखेर सन् २०१७ मा एउटा रणनीति ल्याइएको छ।

(स्रोत: विश्व स्वास्थ्य सङ्गठन)