तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रवीन्द्र मिश्रः विवेकशील साझा पार्टी अध्यक्षबाट किन राजीनामा दिए, मिलन पाण्डे अब के गर्छन्
स्थानीय तहको निर्वाचनमा अपेक्षित नतिजा नआएकोमा त्यसको जिम्मेवारी लिँदै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्।
बुधवार एउटा वक्तव्य जारी गर्दै मिश्रले नैतिकताका आधारमा राजीनामा दिएको बताएका हुन्।
यद्यपि पार्टीको साधारण सदस्य भने रहिरहने उनले जनाएका छन्।
"हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ," वक्तव्यमा उनले भनेका छन्।
पार्टी संयोजक लगायतका नेतालाई गरिएको कारबाही फिर्ता लिन र राजीनामा दिएका नेताहरूलाई पुनः पार्टीमा फर्किन मिश्रले आग्रह पनि गरेका छन्।
मिश्रका अनुसार उनले प्रस्तुत गरेको "विचारभन्दा माथि देश" दस्तावेज पार्टीको केन्द्रीय समितिको दुईतिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो।
"सो दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै सो दस्तावेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु," वक्तव्यमा भनिएको छ।
पार्टी के भन्छ?
पार्टी प्रवक्ता शरदराज पाठकले नेतृत्वले नैतिकताको सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन्।
"उहाँको नेतृत्वमा विवेकशील साझा पार्टीले स्थापना खोजेको संस्कार र मूल्यमान्यताको राजनीतिक मार्गमा यो राजीनामा एउटा कोसेढुङ्गाको रूपमा दर्ता हुन्छ जस्तो मलाई लाग्छ," बीबीसीसँग उनले भने।
"सफलतामा होओस् अथवा विफलतामा नेतृत्वले सन्देश प्रवाह गर्ने हो। आफैँ उदाहरण बनेर देखाउने हो। रवीन्द्र मिश्रको निर्णयको व्यक्तिगत रूपमा म एकदमै सम्मान गर्छु।"
संयोजक मिलन पाण्डे लगायतका नेतामाथि गरिएको कारबाहीका सम्बन्धमा पार्टीले नै निर्णय लिने प्रवक्ता पाठकले बताए।
"कारबाही गर्ने निर्णय पार्टीको केन्द्रीय समितिले गरेको हो, रवीन्द्र मिश्र व्यक्तिले मात्रै होइन। त्यसैले त्यसबारे पार्टीले नै निर्णय गर्नेछ," उनले भने।
महाधिवेशन कहिले?
कोभिड महामारीका कारण पार्टीले गत वर्ष जेठमा गर्नुपर्ने महाधिवेशन सारेको थियो।
तात्कालिक विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुँदा छ महिनाभित्र महाधिवेशन गर्ने घोषणा भएको थियो।
पार्टी प्रवक्ताका अनुसार आगामी भदौ २ गतेभित्र महाधिवेशन गरिसक्नुपर्ने छ।
"भदौ २ गते आउन अझै पर्याप्त समय छ। त्यसैले निर्वाचन आयोगसँग थप समय नमागीकनै निर्धारित समयभित्रै महाधिवेश हुने छ," पाठकले भने।
महाधिवेशनमा मिश्र फेरि अध्यक्ष पदमा उम्मदेवार बन्ने अनुमान पार्टीभित्र गरिएको छ।
उनको राजीनामा र थप योजनाबारे प्रश्न गर्न बीबीसीले सम्पर्क गर्दा मिश्रले आफू त्यसबारे अहिले केही नबोल्ने बताए।
मिलन पाण्डे के भन्छन्?
संस्थापन पक्षले कारबाही गरेका नेता पाण्डेका अनुसार केही समयअगाडि कुराकानी हुँदा अध्यक्ष पदबाट राजीनामा दिने विषयमा मिश्रले कुनै सङ्केत गरेका थिएनन्।
"पार्टीका विविध विषय छलफल भएको थियो। तर राजीनामाबारे केही कुरा भएको थिएन," पाण्डेले बीबीसीसँग भने।
उनले अगाडि थपेः "मैले पनि उहाँको राजीनामाबारे सुनेँ। यो पनि 'अ पार्ट अफ पोलिटिक्स' [राजनीतिको एउटा हिस्सा] हो।"
"अब के कसरी अगाडि बढ्ने भन्नेबारे साथीहरूबीच हामी छलफल गर्छौँ।"
मिश्रले अगाडि सारेको "विचारभन्दा माथि देश" भन्ने अवधारणाका आधारमा अगाडि बढ्न नसकिने कुरा आफूहरूले पहिल्यै भनेको पाण्डेले जिकिर गरे।
विश्लेषक के भन्छन्?
वरिष्ठ पत्रकार युवराज घिमिरे नैतिकताको खडेरी रहेको नेपाली राजनीतिमा मिश्रको राजीनामा अर्थपूर्ण भएको बताउँछन्।
"पार्टीको आकार सानो भए पनि नैतिकताको सन्देशले ठूलो अर्थ राख्छ। रवीन्द्रजीले एउटा सकारात्मक कदम उठाउनुभयो," बीबीसीसँग उनले भने।
"चुनावमा पराजयपछि नेतृत्वले त्यसको पहिलो जिम्मेवारी लिनुपर्छ भन्ने मान्यतालाई उहाँले स्वीकार गर्नुभयो र मलाई लाग्छ त्यो एउटा स्वागतयोग्य कदम हो।"
पछिल्लो घटनाक्रमले वैकल्पिक राजनीतिको उपादेयता सकिएको रूपमा लिन नहुने उनको तर्क छ।
वैकल्पिक शक्तिको सान्दर्भिकता सकिएको दिन लोकतान्त्रिक व्यवस्था धराशायी हुने घिमिरे बताउँछन्।
"लोकतन्त्र भनेको रोजाइ र विकल्पको राजनीति पनि हो। किनभने राम्रोका लागि जनताको चाहनाअनुसार वैकल्पिक शक्ति उदाउने हुन्," उनले थपे।