तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: नेपाली कांग्रेसलाई विराटनगरमा विरासत गुम्ने डर, एमालेलाई गठबन्धनको भर
- Author, विक्रम निरौला
- Role, विराटनगर
- Published
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रदेश १ को राजधानी रहेको विराटनगर महानगरपालिकाको नेतृत्व लिन सत्तारूढ गठबन्धनका साझा उम्मेदवार र विपक्षी एमालेका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको जानकारहरू बताउँछन्।
यस पटकको चुनावमा सत्तारूढ पाँचदलीय गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादीका अमरेन्द्र यादव चुनावी मैदानमा छन्।
यादव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्। एमालेका तर्फबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्की उम्मेदवार छन्।
वि.सं. २०७४मा भएको स्थानीय तहको निर्वाचन मेयर र उपमेयरसहित धेरै वडामा जित हासिल गरेको नेपाली कांग्रेस यस पटक आफ्नो विरासत जोगाउनुपर्ने दबावमा छ भने उक्त निर्वाचनमा दोस्रो बढी मत पाएको नेकपा एमाले यस पटक कांग्रेसको किल्ला तोड्ने दाउमा छ।
प्रजातन्त्र आएपछि भएका तीन वटा निर्वाचनमा विराटनगरमा कांग्रेस र एमालेले पालैपालो जित्दै आएका छन्।
नेपालको प्रजातान्त्रिक आन्दोलनको उद्गमभूमि मानिने विराटनगर नेपाली कांग्रेस र कोइराला परिवारको पर्यायको रूपमा पनि चिनिँदै आएको छ।
त्यसैले विराटनगरमा कांग्रेसलाई आफ्नो विरासत जोगाउनुपर्ने दबाव रहेको पत्रकार अनन्तराज न्यौपाने बताउँछन्।
अघिल्लो स्थानीय तहको निर्वाचनमा एक्लै चुनाव लड्दा करिब ६,००० मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुली मेयरमा निर्वाचित भएका थिए।
उपमेयरमा पनि कांग्रेसकै इन्दिरा कार्कीले जितेकी थिइन्।
यस पटक सत्तारूढ पाँच दलबीच तालमेल भएका कारण गठबन्धनका उम्मेदवारहरू थप उत्साहित देखिएको न्यौपाने बताउँछन्।
गठबन्धनभित्रै असन्तुष्टि
तर मेयर र उपमेयरमा मात्र गठबन्धन गरी वडा तहमा तालमेल नहुँदा मुख्यतः माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र असन्तुष्टि चुलिएको बताइएको छ।
गठबन्धनका तर्फबाट कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवार बनाए पनि वडा तहमा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारहरूले गठबन्धनका दलहरुबीच नै प्रतिस्पर्धा गर्नु परिरहेको छ।
अघिल्लो चुनावमा जितेका वडाहरूमा पनि कांग्रेसले आफूलाई सहयोग नगरेको माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको गुनासो छ।
गठबन्धनभित्रकै दल जनता समाजवादी पार्टीबाट उमेश यादवले मेयर र माओवादी केन्द्रकी नमिता न्यौपानेले उपमेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर कारण गठबन्धनका उम्मेदवारलाई चुनौती थपिएको बताइन्छ।
उनीहरूले गठबन्धनभित्रकै धेरै मत काट्ने डर कांग्रेसलाई लागेको देखिन्छ।
आन्तरिक गुटबन्दीका कारण अन्तर्घातको डर पनि कांग्रेसभित्र व्याप्त देखिन्छ।
त्यसैले गठबन्धनभित्र देखिएको असन्तुष्टिको लाभ एमालेले लिन सक्ने कतिपयको भनाइ छ।
विश्लेषक दिनेश श्रेष्ठ भन्छन्, "गठबन्धन भित्रका दलहरूबीचको अन्तरविरोध र विश्वासको सङ्कटले उनीहरूलाई कमजोर पार्ने र त्यसको फाइदा सङ्गठित देखिएको एमालेले लिन सक्छ।"
अघिल्लो निर्वाचनमा एमालेले तात्कालिक लोकतान्त्रिक फोरमसँग तालमेल गरेको थियो।
माओवादीले तात्कालिक सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको थियो।
त्यसबेला सङ्घीय समाजवादी फोरमबाट मेयरमा उमेश यादव र उपमेयरमा माओवादी केन्द्रकी नमिता न्यौपाने चुनाव लडेका थिए।
उक्त चुनावमा न्यौपानेले दोस्रो र यादवले तेस्रो स्थान प्राप्त गरेका थिए।
त्यसबेला उनीहरूको धेरै मत बदर भएको थियो।
उनै यादव र न्यौपाने अहिले आआपनो पार्टीबाट विद्रोह गरी मेयर र उपमेयरमा चुनावी प्रतिस्पर्धामा देखिएका छन्।
त्यसकारण विराटनगरको चुनावी जोडघटाउ निकै रोमाञ्चक देखिएको बताइन्छ।
विराटनगर महानगरको मेयरका लागि विभिन्न पार्टी र स्वतन्त्र गरी १३ जनाले मेयरमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सबैजसो उम्मेदवारहरूले सुशासन, औद्योगिक विकास, डुबान र सुकुम्वासी समस्याको समाधान र समृद्ध विराटनगर बनाउने वाचा गर्दै आएका छन्।
विराटनगरमा एक लाख ३३ हजार मतदाता छन्।