तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: रुसी फौजले गत २४ घण्टामा महत्त्वपूर्ण उपलब्धि गर्न नसकेको यूके गुप्तचर निकायको भनाइ
यूकेको रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर निकायले "विभिन्न गतिविधि बढाइएको भए पनि गत २४ घण्टामा रुसी फौजले युक्रेनमा कुनै ठूलो उपलब्धि हात नपारेको" उसको पछिल्लो रिपोर्टमा जनाएको छ।
उसले भनेको छ, "रुसी हवाई र नौसेनाले युक्रेनको हवाई र समुन्द्री रक्षा प्रणालीको प्रभावकारी प्रतिकारका कारण युक्रेनको हवाई र समुन्द्री रक्षा प्रणाली दुवैतर्फ नियन्त्रण जमाउन सकेको छैन त्यसैले उपलब्धि हात पार्ने क्षमता ह्रास भएको छ।"
र "दक्षिण पूर्वी युक्रेनमा रहेको मारिऊपोलमा नियन्त्रण जमाएको दाबी गरे पनि त्यहाँ सघन लडाइ भइरहेकाले उक्त शहरमाथि नियन्त्रण कायम राख्ने रुसी प्रयत्न निराशाजनक देखिएको छ।"
गुप्तचर निकायले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसले चाहेको जस्तो प्रगति हुन नसकेको बताएको छ।
यो साताको सुरुमा रुसले युक्रेनमा उसको विशेष सैन्य कारबाहीको दोस्रो चरण घोषणा गरेको थियो र अब उसले डोनबासमाथि नियन्त्रण जमाउनमा केन्द्रित रहने भनेको थियो।
रुसले राजधानी किएभसहित मुख्य शहरमा नियन्त्रण जमाउने प्रयत्न विफल भएपछि उत्तर पूर्वी युक्रेनबाट आफ्ना सेना फिर्ता गरेको थियो। त्यसपछि दोस्रो चरणको सैनिक कारवाही सुरु भएको थियो।
दक्षिण युक्रेन र पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रणको लक्ष्य
यस अघि रुसले दक्षिण युक्रेन र पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्ने लक्ष्य लिएको एक जना वरिष्ठ रुसी सैन्य कमान्डरले बताएका थिए।
मेजर जेनरल रुसत्म मिनकायफलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यममा सन् २०१४ मा रुसमा गाभिएको क्राइमियामा जोड्ने 'स्थल पुल' मस्कोले बनाउनसक्ने बाटो खोल्ने लक्ष्य राखिएको भनिएको छ।
उनले त्यसले मस्कोलाई रुसको समर्थन पाएको मोल्डोभाको पृथकतावादी क्षेत्र ट्रान्जनिस्ट्रियासम्म पहुँच उपलब्ध गराउने बताए।
ट्रान्जनिस्ट्रिया युक्रेनसँग सिमाना जोडिएको सानो क्षेत्र हो।
अर्थ के हो?
जेनरल मिनकायफको प्रतिक्रिया क्रेम्लिनले आधिकारिक रूपमा स्वीकृत गरेको हो या होइन प्रस्ट छैन तर इन्टरफ्याक्स र तास समाचार संस्थासहित रुसी सञ्चारमाध्यमहरूमा त्यसलाई व्यापक स्थान दिइएको छ।
रुसी रक्षा अधिकारीहरूले बीबीसीका स्टिभ रोजेनवर्गलाई उनीहरूले मिनकायफको प्रतिक्रियालाई हेरिरहेको बताएका छन्। यदि त्यो धारणा आधिकारिक पुष्टि भए त्यसले आगामी साताहरूका लागि रुसको सम्भावित योजनाबारे सङ्केत दिनेछ।
यसैबीच एक जना वरिष्ठ युरोपेली सङ्घका अधिकारीले रोयटर्स समाचार संस्थासँग रुसले पूर्वी युक्रेन र दक्षिणी तटीय क्षेत्रमा आगामी दिनमा आक्रमणलाई तीव्रता दिनसक्ने बताएका छन्।
उनले जारी लडाइँमा आगामी दुई हप्ता निर्णायक हुनसक्ने पनि बताए।
उता मोल्डोभाले सैनिक जनरलको प्रतिक्रियालाई लिएर मस्कोका राजदूतलाई बोलाएर त्यसबारे सोधेको छ। त्यहाँको विदेशमन्त्रालयले उक्त भनाइलाई 'ज्यादै चिन्ताजनक' भनेको छ।
रुसी भाषा बोल्नेहरू रहेको अलग्गै सानो क्षेत्र ट्रान्जनिस्ट्रिया युक्रेनसँग पश्चिमबाट जोडिन्छ।
सोभियत सङ्घको विघटनपछि रक्तपातपूर्ण द्वन्द्वपछि उक्त क्षेत्रले स्वतन्त्रता पाएको थियो तर त्यसलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिइएको छ। औपचारिक रूपमा त्यो अहिले पनि मोल्डभाकै हिस्सा रहेको छ।
सन् १९९५ मा भएको युद्ध विराम सम्झौता अनुसार अहिले पनि उक्त क्षेत्रमा करिब १५ सय रुसी फौजहरूको सानो इकाई खटिएको छ।
युक्रेनको आपत्ति
जेनरल मिनकायफ रुसी सेनाको केन्द्रीय सैन्य डिस्ट्रिक्टका उपकमान्डर हुन् र उनी शुक्रवार स्भेरलोफ्स्क क्षेत्रमा आयोजित एउटा सैनिक कार्यक्रममा बोलिरहेका थिए।
"दक्षिण युक्रेनमाथिको नियन्त्रण ट्रान्जनिस्ट्रिया, जहाँ रुसी भाषी जनसङ्ख्याले दमन व्योहोरिरहेको छन्, सम्म पुग्ने अर्को मार्ग हो," उनले भने।
राष्ट्रपति पुटिनले पनि फेब्रुअरी २४ मा किएभमा आक्रमण थाल्नुअघि प्रमाण प्रस्तुत नगरी युक्रेनमा रहेका रुसी भाषीमाथि विभेद भएको यस्तै दाबी गरेका थिए।
युक्रेनको रक्षा मन्त्रालयले जेनरल मिनकायफको प्रतिक्रियालाई रुसी 'साम्राज्यवाद' भनेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा त्यसबारे थप धारणा राखेका थिए।
"युक्रेनमाथिको रुसी अतिक्रमण सुरुवात मात्रै थियो र उनीहरू अरू देश पनि कब्जा गर्न सक्छन्।"