तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बीबीसी युक्रेनीकी सम्पादकको डायरी: 'एकताको यति बलियो आभास यसअघि भएको थिएन'
- Author, मार्टा शोकालो
- Role, सम्पादक, बीबीसी युक्रेनी सेवा
- Published
हामीमाथि रुसले आक्रमण सुरु गरेको दोस्रो साता भइसकेको छ। र, अब त मैले रुन पनि छोडिसकेँ।
मेरो दिनको सुरुवात अघिल्लो रात छापिएका समाचारहरू पढेर हुन्छ जहाँ म युक्रेनभर भएका नयाँ विस्फोटको घटना गणना गर्छु। केही दिनअघि म मेरो बुबा बस्ने किभए सहरमा भएको रकेट आक्रमणको घटनासँगै ब्युँझिएकी थिएँ। मलाई त्यति बेला उहाँ र उहाँका साथीहरू सबै सकुशल छन् भन्ने निश्चित गर्न फोन गर्ने साहस जुटाउन १० मिनेट जति लाग्यो।
उहाँहरू सबै सकुशल हुनुहुन्थ्यो। त्यसपछि बल्ल मैले चयनको सास फेरे।
किएभमा विध्वंसको भयावह दृश्य देख्दा, रुसी ट्याङ्कहरू सहर र गाउँका बाहिर राखिएको देख्दा- एक पटक ती शान्त ठाउँहरू सम्झन्छु, जहाँ हाम्रा साथीहरू बसोबास गर्थे वा छुट्टी मनाउन जान्थे। हामी उनीहरूलाई स-परिवार भेट्न जान्थ्यौँ र आरामदायी कुर्सीमा बसेर पिउँदै मासुका परिकारहरूको स्वाद लिन्थ्यौँ।
तीमध्ये केही सहरहरू अहिले ठूला युद्ध अस्त्रहरूले ध्वस्त पारिएका छन्।
यस युद्धको सुरुवाततिर, किएभमा भएको घटनाक्रमबारे एक एपमा आएको जानकारीले मलाई भावविह्वल बनाएको थियो। उक्त सन्देशमा त्यस दिन कन्सर्ट, प्रदर्शनीलगायत कार्यक्रमहरू रद्द गरिएको जानकारी थियो। ती कार्यक्रमहरू अहिले सम्झिँदा हाम्रो अघिल्लो जीवनका अंश थिए भन्ने प्रतित हुन्छ।
यी एपहरूले आजभोलि भिन्न किसिमका जानकारी दिन थालेका छन्। जसअन्तर्गत हवाई आक्रमण बारे सूचना, खाद्यान्न उपलब्ध भएका पसलहरूको सूची र औषधी भएका फार्मेसीहरूको सूची समाविष्ट छन्।
यति बेला मेरी आमा आफ्ना लागिभन्दा बढी आफ्ना कुकुर र बिरालोको लागि कसरी खाना जोहो गर्ने भन्ने चिन्तामा हुनुहुन्छ। केही दिनअघि उहाँले निकै खुसी हुँदै, आफूले दुईवटा पाउरोटी किन्न सफल भएको खबर मलाई सुनाउनु भएको थियो। मेरी आमा त्यही सहरमा हुनुहुन्छ जहाँ खानेकुराको कहिल्यै अभाव भएको थिएन।
मेरा लागि रुसी ट्याङ्कले ध्वस्त गरेको तस्बिरहरूभन्दा त्यस ठाउँमा खाद्य सङ्कट हुनु अधिक चिन्ताको विषय बनेको छ। खानाको अभाव र रित्ता भण्डारहरू अबको यथार्थ हुन्। मानिसहरूले कहाँ, के र कति मात्रामा किन्न पाइन्छ भन्ने जानकारीहरू साझा गरिरहेका छन्। केही पसलहरूमा अभाव देखिसकिएको छ। तर, केही पसलहरूमा अत्यावश्यक भएकाहरूको लागि पुग्दो मौज्दात छ। रेस्टुरेन्टहरूले सेना, घरविहीन मानिस र भोकाहरूलाई निःशुल्क खाना वितरण गरिरहेका छन्।
मेरो १० वर्षीय छोरो विद्यालय गएको छैन। उसको अनलाइन कक्षा समेत सञ्चालन भएको छैन। केही शिक्षकहरू किएभमै छन् र केहीले त्यस सहर छोडिसके। उसका सहपाठीहरू गाउँ वा विदेश पलायन भइसकेका छन्। उनीहरू जूममार्फत सम्पर्कमा छन्। अनलाइन गेम खेल्छन् र आफूहरू युक्रेनको रक्षार्थ खटेको 'आइटी सेना' भएको कल्पनामा रमाइरहेका छन्।
उनीहरूले सन्देश आदान प्रदान गर्ने एक एपमा 'युद्धले अर्थ राख्छ' भन्ने कुरा गरेका छन्।
युक्रेनीहरू हरेक दिन स्वदेशमै बस्ने या पलायन हुने द्विविधाको सामना गरिरहेका छन्। रुसी आक्रमणको पहिलो साता करिब १० लाख जतिले आफ्नो सरसामानसहित युक्रेन छोडेर शरणार्थी बने। र, यो सङ्ख्या तीव्र गतिमा बढ्दै छ।
तत्कालका लागि केहीले स्वदेशमै रहने निर्णय गरेका छन्। प्रसिद्ध गायक, कलाकार र खेलाडीहरू युक्रेनी सेनामा भर्ती भएका छन्। लाखौँको सङ्ख्यामा युक्रेनीहरू अत्यधिक मद्दत आवश्यक परेकाहरूको सेवामा स्वेच्छाले खटेका छन्।
यस्तो अनुभूति भइरहेको छ कि युक्रेन एउटा ठूलो परिवार हो जहाँ हरेक सदस्यले आफूले सक्दो एक अर्काको सहयोग गरिरहेका छन्। लड्न सक्नेहरू लडिरहेका छन्। पकाउन जान्नेहरू पकाइ रहेका छन् र वितरण गर्न सक्षमहरू खाद्यान्न लगायत अन्य उपभोग्य वस्तु वितरण गरिरहेका छन्।
रुसी सेनाले कब्जा गरेको खेर्सनबाट मैले एक हृदयविरादक खबर पाएँ जहाँ खुट्टा र औँलाहरू नभएका एक वृद्ध व्यक्ति स्वयंसेवकको रूपमा खटेका थिए।
हाल हरेक सहर र गाउँमा बालुवाको बोरा, सिमेन्टको संरचना र रुखहरू काटेर सुरक्षा नाका स्थापना गरिएको छ। किएभबाट भागेका युवाहरू, स्थानीय कृषक वा सेवानिवृत्त सशस्त्र नागरिकहरू गृह प्रवेश गर्नेहरूको दस्ताबेज निरीक्षण गरिरहेका छन्।
म बसिरहेको गाउँमा दुई वटा सुरक्षा नाका छन् जसलाई स्थानीयहरूले आलोपालो गरेर २४ घण्टा पहरा दिन्छन्। उनीहरूसँग सिकार खेल्ने बन्दुक, धारिला चक्कु र बन्चरोहरू छन्। उनीहरू आफूसँग भएका हात हतियारले सानो समुदायको रक्षा गर्न तत्पर छन्।
एकताको यस किसिमको आभास युक्रेनीहरू माझ यति बलियो गरी कहिल्यै देखिएको थिएन। महको आशामा मौरीको घारभित्र हुने गतिविधिहरूजस्तै युक्रेनीहरू पनि विजयको आशामा आफूले सक्दो पहल गरिरहेका छन्।