एमसीसी: बुधवार संसद्‌मा पेस गर्नेमा कांग्रेसको जोड, माओवादी विपक्षमा, एमालेले बैठक चल्न नदिने

Published

अमेरिकी अनुदान सम्झौता एमसीसीसम्बन्धी प्रस्ताव पारित गर्न बुधवार संसद्‌मा पेस हुनसक्ने विवरणमाझ नेपालमा राजनीतिक गतिविधिहरू तीव्र रूपमा विकास भइरहेका छन्।

विभिन्न दलहरूले आन्तरिक छलफलमा गरिरहेका छन्।

यस सम्बन्धमा डाकिएको कार्य व्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ।

विभिन्न सञ्चारमाध्यमहरूमा बुधवारै एमसीसीसम्बन्धी प्रस्ताव संसद्‌मा पेस हुने विवरणहरू आएका छन्।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीमा भने बुधवार एमसीसीबारे प्रस्ताव पेस गर्ने कुरा राखिएको छैन।

उता आठवटा साना कम्युनिस्ट दलहरूले एमसीसीको विरोधमा बुधवार नेपाल बन्दको घोषणा गरेका छन् र त्यसको विभिन्न स्थानमा प्रभाव पनि परेको खबर छ।

'जुनसुकै परिस्थितिका लागि तयार रहनू'

बुधवार सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले "जुनसुकै परिस्थितिका लागि तयार रहन" भनेको एकजना नेताले बताएका छन्।

माओवादी नेता गिरिराजमणि पोखरेलका अनुसार उक्त बैठकमा प्रचण्डले परिस्थिति जस्तो सुकै बन्न सक्ने बताएका थिए।

"जस्तोसुकै परिस्थितिको सामनाका लागि तयार हुनूस् भन्नुभएको छ अध्यक्षले दलको बैठकमा," उनले भने।

संसद् अवरोध भएको अवस्थामा बजेटसम्बन्धी विधेयकका लागि मात्र संसद्‌मा "हाटहुट गरेर पास गरिएको" उनको भनाइ छ।

तर राष्ट्रिय सहमति भएर अवरोध नहटी एमसीसीसम्बन्धी प्रस्ताव पेस गर्न नहुने माओवादीको निर्णय रहेको पोखरेलले बताए।

उनले प्रचण्डलाई उद्धृत गर्दै भने, "जबरजस्ती गरियो भने सरकारबाट बाहिरिने अवस्था आउने परिस्थिति बनेमा पनि तयार हुनू भन्नु भएको छ।"

उनका भनाइमा एमसीसी संसद्‌मा पेस गरिए पनि सबै सांसदले बोल्न पाउने सार्वभौमिक अधिकार प्रयोग गर्न पाउनुपर्ने माओवादीले मत रहेको छ।

र, त्यसका लागि राष्ट्रिय सहमति वा त्यो सम्भव नभए गठबन्धन दलभित्र मात्र भए पनि सहमति आवश्यक पर्नेछ।

संसद्‌मा पेस गर्नेमा कांग्रेसको जोड

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले बुधवारै एमसीसी प्रतिनिधिसभामा पेस गराउनका निम्ति जोड दिने बताइन्।

उनले बीबीसीसँग भनिन्, "हाम्रो जोड आजै पेस गर्ने भन्नेमा हुनेछ र सरकारले त्यसबारे प्रस्ताव पनि ल्याउनेछ।"

तर सत्ताधारी गठबन्धनकै एउटा दल राष्ट्रिय जनमोर्चा नेपाल एमसीसीको विरोधमा अन्य साना दलहरूसँग नेपाल बन्दसम्मको विरोध कार्यक्रममा सहभागी भइरहेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विरोध गर्ने विवरण आएका छन्।

ती पार्टीहरूका जनवर्गीय सङ्गठनहरूले त विरोध नै थालिसकेका छन्।

कांग्रेसको निर्णय

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी सम्झौता अनुमोदनका निम्ति प्रतिनिधिसभामा अघि बढाउने मङ्गलवार निर्णय गरेको हो।

उक्त पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव अघि बढाउन आफूले सभामुखलाई आग्रह गरिसकेको जानकारी दिएका थिए।

कांग्रेस महामन्त्री गगन थापाले बैठकपछि उक्त प्रस्ताव तत्काल पारित गराउने संसदीय दलको बैठकले निर्णय गरेको जानकारी दिएका थिए।

सोही निर्णय अनुसार कांग्रेस र सरकार अघि बढ्ने सचेतक भुसालले जानकारी दिइन्।

माओवादीको भनाइ

सत्ता साझेदार दल नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङले चाहिँ एमसीसीबारेको प्रस्ताव पेस गर्नेबारे गठबन्धनमा सहमति नभएको बताएका छन्।

बुधवार सिंहदरबारमा भएको पार्टी संसदीय दलको बैठकपछि उनले त्यस्तो बताएका हुन्।

उनले सरकारले एकलौटी ढङ्गले संसद्‌मा पेस गरेमा "गठबन्धन तोडिने" चेतावनी दिए।

गुरुङले राष्ट्रिय सहमति नभइकन एमसीसी अघि बढ्न नसक्ने बताए।

"यथास्थितिमा एमसीसी सदनमा टेबल हुन सम्भव छैन," उनले भने।

पाँच दलीय गठबन्धनको सरकार भएकाले ती सबै दलहरूबीच सहमति नभइकन सरकारले संसद्‌मा प्रस्ताव पेस गर्न नहुने गुरुङको भनाइ छ।

एमाले के गर्छ?

एमसीसीको प्रस्तावबारे सत्ता गठबन्धनका दलबीच नै एक मत नदेखिएका बेला प्रमुख प्रतिपक्षी दल एमालेले चाहिँ संसद् बैठक अवरुद्ध पार्ने काम जारी राख्ने बताएको छ।

"हामीले उठाएका माग सम्बोधन नभएकाले हाम्रो नाराबाजी जारी रहन्छ," एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने।

उनले सभामुखले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले सहभागी नहुने जानकारी दिए।

एमालेले माधवकुमार नेपालसहित आफूले कारबाही गरेका सांसद्‌लाई पदबाट हटाउने निर्णय नगरेको भन्दै सभामुख अग्नि सापकोटा नै पदबाट हट्नुपर्ने माग राख्दै आएको छ।

तर एमसीसीको पक्षमा रहेको एमालेले उक्त प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत भए के गर्छ भन्नेबारे धेरैले चासो राखिरहेका छन्।

यद्यपि भट्टराईले सत्ताधारी दलहरूबीच नै सहमति नबनेकाले उक्त प्रस्ताव बुधवार पेस हुन्छ भन्ने आफूलाई नलागेको बताए।

'सभामुखले पेस गर्ने वचन दिएका छन्'

सरकारको नेतृत्व गरेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनभित्र प्रक्रिया अघि बढाउने सहमति भएको बताए।

त्यसै अनुसार प्रस्ताव अघि बढ्ने उनको दाबी छ।

"प्रक्रिया अघि बढ्छ पास हुन्छ भन्ने विश्वास यो गठबन्धनभित्र समझदारी बनेको हो," उनले बीबीसीसँग भने।

सभामुखले एमसीसी प्रस्ताव पेस गर्ने वचन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको उनको दाबी छ।

मङ्गलवार साँझ बीबीसीसँगको कुराकानीमा उनले भने, "उहाँले टेबुल गर्ने वचन दिनु भएको हो।"

त्यसैले गर्दा प्रस्ताव पेस हुने उनको दाबी छ।