तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपालः थप १,३८६ जनामा कोरोना भाइरस, सङ्क्रमण ओरालो लाग्ने क्रम जारी
नेपालमा विगत २४ घण्टामा १,३८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार थप ११ जनाको कोभिडका कारण मृत्यु भएको छ।
सो अवधिमा ८,७०४ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभरि निको हुन बाँकी सङ्क्रमितको सङ्ख्या ४५,२४८ छ।
तीमध्ये अधिकांश अधिकांश काठमाण्डू उपत्यकाका तीन जिल्लामा भए पनि विभिन्न प्रदेशका केही जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या उल्लेख्य भएको तथ्याङ्कले देखाउँछ।
उपत्यकाका काठमाण्डूमा ९,८५८, ललितपुरमा ८,८६१ र भक्तपुरमा ३,१६० जना सक्रिय सङ्क्रमित रहेका छन्।
विज्ञहरूका अनुसार नेपालमा अहिले अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो।
चाँडै फैलिने भए पनि अधिकांश सङ्क्रमित व्यक्तिमा मध्यम खालका लक्षण देखिने गरेका छन्।
कहाँ छन् सङ्क्रमित?
अहिले उपत्यकाबाहिर झापा, मोरङ, सुनसरी, धनुषा, काभ्रेपलान्चोक, कास्की, बाँके, रूपन्देही र कैलाली जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
विगत २४ घण्टामा ६,४४३ पीसीआर र २,८०८ एन्टिजन विधिबाट गरी कुल ९,२५१ वटा परीक्षण भएका थिए।
तीमध्ये १८.४ प्रतिशत नमुनामा सङ्क्रमण देखिएको हो।
कोभिड सङ्क्रमणको तेस्रो लहर उच्चबिन्दुमा पुग्दा गत माघ ८ गते परीक्षण गरिएका मध्ये ५०.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो।
पुसको अन्तिम सातादेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्या गत सातादेखि ओरालो लाग्न थालेको देखिन्छ।
एक साताअघि देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो।