तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शेरबहादुर देउवाः 'एक वर्षभित्रै तीनै तहका चुनाव गराउनु सरकारको दायित्व, ५ देखि ११ वर्षका बालबालिकाका लागि छिट्टै खोप'
प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीनै तहका निर्वाचन सम्पन्न हुने भन्दै त्यसको तयारी गर्न अनुरोध गरेका छन्।
शुक्रवार अपराह्ण राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले कोरोनाभाइरस महामारी नियन्त्रणको प्रयास र आफ्नो सरकारले विगत छ महिनामा हात पारेका उपलब्धिबारे चर्चा गरेका थिए।
"एक वर्षभित्रै तीन तहका चुनाव गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ। निर्वाचनका पूर्वतयारी सम्पन्न गर्न म सबैसँग अनुरोध गर्दछु," उनले भने।
सत्ताधारी दलहरूबीच अर्को वर्षको प्रारम्भमा गर्नुपर्ने भनिएको स्थानीय तहका चुनावको मितिबारे मतभेदहरू बाहिर आउँदा देउवाको यस्तो भनाइ आएको हो।
यसै साता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद्मा गतिरोध जारी रहेकाले सुरुमा सङ्घीय संसद्को निर्वाचन गराएर त्यसपछि अर्को वर्षको मध्यतिर स्थानीय चुनाव गराउनु उपयुक्त हुने धारणा राखेको भन्ने विवरणहरू आएका थिए।
नेपाली कांग्रेसका कैयौँ नेताहरू र प्रमुख विपक्षी दल एमालेका नेताहरूले आगामी वैशाखमा नै स्थानीय तहको चुनाव गराउनुपर्ने माग गर्दै आएका छन्।
देउवाले सत्ता सम्हालेयता प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध बनाउँदै आएको छ।
देउवाले व्यवस्थापिकामा रहेका सबै दलहरूसँग छलफल गरेर संसद्को गतिरोध चाँडै अन्त्य गर्ने पनि धारणा राखेका छन्।
देउवाले आफ्नो नेतृत्वको सरकारले अङ्गीकार गरेका नीतिप्रति जनताको समर्थन रहेको भन्दै संविधान र संवैधानिक प्रणालीको रक्षा भएको दाबी गरेका छन्।
"जनतामा त्रास र भय एवं राजनीतिक स्थायित्व प्रतिको संशयको अन्त्य भएको छ," उनले भने।
बालबालिकालाई खोपको प्रतिबद्धता
आफ्नो सरकार सही दिशामा अघि बढिरहेको भन्दै उनले कोभिड-१९ महामारीको पछिल्लो लहरले नागरिकको जीवनमा चुनौती थपेको बताए।
उनले कोभिड तीव्र गतिमा फैलिरहेकाले जनस्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्न र सुरक्षित रहन पनि नागरिकहरूसँग अपील गरेका छन्।
अहिलेको कोभिडको लहरसँग जुझ्न स्रोत साधनको अभाव हुन नदिने भन्दै उनले खोप कार्यक्रमको प्रगतिबारे पनि जानकारी गराएका थिए।
त्यस क्रममा देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि छिट्टै खोप कार्यक्रम प्रारम्भ गर्ने पनि बताए।
सङ्क्रमणको रोकथाम, उपचार र निदान आफ्नो सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै देउवाले सकेसम्म आर्थिक र सामाजिक क्षेत्रमा कम प्रभाव परोस् भन्ने सरकारले चाहेको उल्लेख गरे।
"कोभिड-१९ को नयाँ स्वरूपको ओमिक्रोन भाइरसको सङ्क्रमण हुन नदिनका लागि रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थालाई भरपर्दो बनाइएको छ। अक्सिजनको पर्याप्त र भरपर्दो आपूर्ति तथा भण्डारण,स्वास्थ्य पूर्वाधारको विस्तार र जनशक्तिको व्यवस्थापनमा सुधार गरिएको छ," उनले भने।
यसअघि यसै साता प्रधानमन्त्री देउवाले सरकारी प्रयोगशालाका लागि पीसीआर शुल्क घटाएर ८०० रुपैयाँ बनाउन र निजी प्रयोगशालाको शुल्क १,५०० रुपैयाँ कायम राख्न निर्देशन दिएका थिए।
सिटामोलजस्ता अत्यावश्यक औषधिको अभाव भएका भन्ने विवरणप्रति चासो व्यक्त गर्दै उनले औषधि र अन्य जीवनरक्षक सामग्रीको अभाव हुन नदिन काम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूलाई भनेका थिए।
सङ्क्रमण बढ्दै जाँदा महामारीका माझ परीक्षाहरू सञ्चालन गरेको भन्दै विद्यार्थीहरूले असन्तुष्टि जनाएपछि त्यसबारे पनि प्रधानमन्त्रीले चासो दिएका थिए।
कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) अन्तर्गतको निर्देशक समितिको बैठकको अध्यक्षता प्रधानमन्त्रीले गर्ने गरेका छन्।
कोभिड-१९ का बिरामी वृद्धि हुने लक्षण देखा परिरहेका बेला गएको पुस २३ गते अन्तिम पटक उक्त संयन्त्रको बैठक बसेको थियो।
त्यसमा प्रधानमन्त्रीले खोप अभियानलाई तीव्रता दिन, अक्सिजन र उपचार सामग्री तयारी अवस्थामा राख्न र होल्डिङ सेन्टरहरूको निर्माण सम्पन्न गर्न निर्देशन दिएको सीसीएमसीले जनाएको थियो।
देशमा कोरोनाभाइरस सङ्क्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने दिशातर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले बताइरहँदा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।