तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: कहाँ कति खोप लगाइयो, प्रदेश नं २ किन पछाडि
जनकपुरका पत्रकार सञ्जीवकुमार झाले हालसम्म कोरोनाभाइरस विरुद्धको खोप लगाएका छैनन्।
उनको जिल्ला धनुषामा खोप लगाउनुपर्ने समूहमा राखिएका झन्डै ५ लाख ६० हजार मानिसमध्ये एक तिहाइभन्दा बढीले दुवै मात्रा खोप लगाएका छन्।
बीबीसीसँग उनले भने, "म अरूलाई सहयोग गर्दा गर्दै आफैँ खोप लगाउन छुटेको हुँ। सुरुमा वृद्धहरूलाई लगाउन दिनुपर्यो भन्ने कुरा आयो। खोप पनि कम आएको थियो। आफ्नो स्वास्थ्य पनि राम्रो भएकाले मैले खोप लगाइनँ।"
पैतीस वर्षका झा अहिले खोपको आपूर्ति सहज भएकोले एकाध दिनमै खोप लगाउने आफूले सोचिरहेको बताउँछन्।
नेपालमा हालसम्म १८ वर्षभन्दा माथिको उमेरका ४९ प्रतिशत नागरिकले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।
खोप अभियान
स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले पुस महिनाभित्र लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य राखेर अभियान चलाइराखिएको बताए।
तर उक्त लक्ष्य भेटाउन हालसम्म लक्षित जनसङ्ख्याको ४३ प्रतिशतले पहिलो मात्रा लगाएको र जम्मा ३४ प्रतिशतले पूर्ण मात्रा लगाएको प्रदेश नं २ मा चुनौतीहरू देखा पर्नसक्ने भन्दै विशेष अभियान अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
मङ्गलवारसम्मको आँकडा अनुसार वागमती प्रदेशमा लक्षित जनसङ्ख्याको ७१ प्रतिशत र गण्डकी प्रदेशमा ६८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।
प्रदेश नं १ मा ४६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत र लुम्बिनी प्रदेशमा ४१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।
कर्णाली प्रदेशमा पनि जम्मा ३५ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन्।
प्रदेश नं २ किन पछाडि
प्रदेश नं २ को आँकडाले आफूहरूलाई चिन्तित बनाएको र त्यहाँको खोप अभियानलाई सुस्त हुन नदिन पहलकदमी लिन आफूहरूले स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. जीडी ठाकुरले बताए।
उनले भने, "प्रदेश र केन्द्र सरकारबीच समन्वयनको अभाव देखिएको र जनस्वास्थ्य निकायहरूबीच जिम्मेवारीलाई लिएर स्पष्टता नहुँदा पनि समस्या देखिएको हो। हामीले प्रशासन, राजनीतिक र स्वास्थ्य तीनवटै संयन्त्रबीच समन्वयन गरेर त्यहाँको खोप अभियानलाई तीव्र बनाउन सकिन्छ भन्ने सुझाव दिएका छौँ।"
यो बीचमा खोप अभियानलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेका छन्।
प्रदेश नं २ को प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विजय झा सुरुमा कम सङ्ख्यामा खोप आएको र त्यसका कारण खोप लगाउनेको सङ्ख्या कम भएको बताउँछन्।
तर पछिल्ला सातामा खोपको आपूर्तिमा कुनै समस्या नरहेको भन्दै उनले यो महिनाभित्र ६६ प्रतिशत लक्षित वर्गलाई खोप पुर्याउन आफूहरू जोडतोडले काम गरिरहेको बताए।
उनी भन्छन्, "अहिले खोप प्रशस्तै छ र हामीले प्रचारप्रसार पनि गरेका छौँ। ६६ प्रतिशत प्रगति गर्नलाई हामीले प्रत्येक वडा र टोलहरूमा अभियान चलाइरहेका छौँ।"
उनले खोप लगाएपछि त्यसलाई सरकारी प्रणालीमा अभिलेखीकरण गर्नलाई अझै पनि चुनौती बेहोरिरहेको बताए।
उनी भन्छन्, "हाम्रोमा अहिले पनि पालिकाहरूबाट कतिले खोप लगाए भनेर सही विवरण अझै पनि आउन सकिरहेको छैन। हामीले स्थानीय तहहरूलाई राम्रोसँग अभिलेख दर्ता गर्न अनुरोध गरिरहेका छौँ।"
पर्याप्त खोप उपलब्ध
सरकारको तथ्याङ्कअनुसार विभिन्न स्रोतहरूबाट नेपालले हालसम्म ३ करोड साढे ५४ लाख मात्राभन्दा बढी खोप प्राप्त गरेको छ।
त्यसमध्ये २ करोड १७ लाख ४० हजार भन्दा बढी खोपको मात्रा प्रयोग गरिसकिएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
खोप शाखा प्रमुख दाहालले खोप अभियानमा पछाडि परिरहेका विभिन्न ठाउँमा प्रगति सुनिश्चित गर्न सरकारको सबैभन्दा माथिल्लो निकायबाटै निर्देशन दिइएको बताए।
उनले भने, "हामीले खोप अभियान चलाउनूस्, हामी जति पनि खोप दिन्छौँ। अरू प्रदेशको तुलनामा तपाईँहरूकोमा कम खोप लगाइएको छ भनेर हामीले स्थानीय तहका प्रमुखहरूदेखि स्वास्थ्य कार्यालयका प्रमुखहरू सबैलाई भनेका छौँ।"
उनले प्रदेश नं २ मा १० दिनको अवधिमा सात लाख खोप खपत भएको भन्दै त्यो सकारात्मक भएको पनि उल्लेख गरे।
उनी थप्छन्, "त्यहाँ सोमवारसम्म १४ लाख खोप थियो। हामीले अभियानलाई द्रुत गतिमा अघि बढाउनुपर्छ भनेर हाम्रो तर्फबाट गरिरहेका छौँ।"
नेपालमा हालसम्म कोभिशील्ड/आस्ट्राजेनेका, भेरोसेल, जेन्सेन, फाइजर र मोडेर्ना खोप उपलब्ध गराइएको छ।
हाल ५७ जिल्लाका १२ देखि १७ वर्षको उमेर सम्मका बालबालिकालाई पहिलो मात्रा मोडर्ना खोप वितरणको अभियान अघि बढाइएको छ।
त्यसबाहेक २४ वटा अस्पतालबाट भेरोसेल, कोभिशील्ड/आस्ट्राजेनेका र फाइजर खोप वितरण भइरहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।