कोभिड खोप: माग नै नआएपछि उत्पादन आधा घटाउँदै भारतीय कम्पनी

Published

विश्वको सबैभन्दा ठूलो कोभिड खोप उत्पादक कम्पनीले माग कम भएको भन्दै खोपको उत्पादन आधा घटाउने बताएको छ।

भारतीय कम्पनी सीरम इन्स्टिट्यूटसँग अहिले कोभिशील्ड खोपको ५० करोड मात्रा भण्डारमा रहेको प्रमुख कार्यकारी अधिकृत अदार पूनावालाले सीएबीसी-टीभी१८ लाई बताएका छन्।

कोभिशील्ड आस्ट्राजेनेका खोपको भारतीय नाम हो र भारतमा हालसम्म दिइएका एक अर्ब ३० करोड मात्रा खोपमा ९० प्रतिशत सोही खोप दिइएको छ।

भारतले आफ्नो जनसङ्ख्याको ५१ प्रतिशत वयस्कलाई गत ज्यानुअरीयता पूर्ण मात्रा खोप दिइसकेको छ। करिब ८५ प्रतिशत भारतीयहरूले कम्तीमा एक मात्रा पाएका छन्।

तर अझै पनि भारतमा करोडौँ मानिसहरूले खोप पाउन बाँकी रहेको बताइएको छ।

"मैले सोच्दै नसोचेको दोधारमा छु। म अहिले प्रतिमहिना २५ करोड मात्रा खोप उत्पादन गरिरहेको छु र खुसीको कुरा भारतले आफ्नो जनसङ्ख्याको ठूलो भागलाई खोप दिएको छ र हामीले एक हप्तामा स्वास्थ्य मन्त्रालयको माग पूर्ति गरिसक्ने छौँ," पूनावालाले भने।

"अब हामीले पूर्ति गर्नुपर्ने थप माग छैन। त्यसैले भारत र विश्वबाट थप माग नभएसम्म म मासिक रूपमा आधा उत्पादन घटाउँदै छु।"

सीरमले गत एप्रिलमा भारतमा सङ्क्रमण बढेपछि निर्यात रोकेको थियो। भारतले अक्टोबरमा निर्यात फेरि खोलेको थियो।

विश्वभर खोपको समान पहुँचका लागि स्थापित कोभ्याक्स कार्यक्रमका लागि सबैभन्दा ठूलो उत्पादन पनि सीरम नै रहेको छ। 

भारतले अहिले भण्डारणमा रहेका खोपहरू प्रयोग गर्ने एउटा तरिका भनेको दुई मात्राबीचको समयावधिलाई १२ साताबाट आठ सातामा घटाउनु हुनसक्ने सेन्टर फर पोलिसी रिसर्च दिल्लीका अध्ययनकर्ता पार्थ मुखोपाध्यायले बताएका छन्।

"त्यसै भारतले अहिलेसम्म ६० वर्षमाथिका १३ करोडमध्ये आठ करोड ३० लाखलाई मात्रै खोप दिएको छ," उनले भने।

बुस्टर मात्राका बारेमा पनि भारत सरकारले अहिलेसम्म निर्णय नगरेको उनले बताए।

पूनावालाले कोभ्याक्सको माग आएको तर त्यो निकै सुस्त गतिमा भएको र सन् २०२२ को दोस्रो त्रैमासिकमा मात्रै बढ्ने बताएका छन्।

उनले खोप नपुगेका देशहरूका नेताहरूसँग सम्पर्क गरे पनि उनीहरूसँग भारतबाट खोप लिएर जानका लागि यथेष्ट पूर्वाधार नभएको बताएका छन्।

"भारतले जस्तो सबै देश एकै दिनमा ७०-८० लाख मानिसलाई खोप लगाउन सक्दैनन्। उनीहरूसँग त्यसका लागि आवश्यक पूर्वाधार नै छैन। अर्को वर्ष यो समयसम्म उनीहरू ६०-७० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिने अवस्थामा पुग्छन् भन्ने आशा गरौँ," पूनावालाले भने।

अक्टोबरमा विश्वभरका १६० पूर्वनेता र चर्चित व्यक्तित्वहरूले यूके र अन्य धनी राष्ट्रहरूलाई त्यहाँ बढी भएका खोपहरूलाई तुरुन्तै गरिब देशहरूमा पुर्‍याउन आग्रह गरेका थिए।