तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ओमिक्रोन कोभिडः झन्डै ४० राष्ट्र पुग्यो कोरोना भाइरसको नयाँ भेरिअन्ट, नआत्तिन बरु सतर्क रहन विश्व स्वास्थ्य सङ्गठनको सुझाव
कोभिड-१९ को नयाँ भेरिअन्ट ओमिक्रोनका कारण नआत्तिन बरु सर्तक भएर आवश्यक तयारी गर्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ।
एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन्।
प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ।
भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। तर नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको जानकारी छैन।
कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप ओमिक्रोन बढी सङ्क्रामक छ वा यसले खोपलाई छल्न सक्छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले प्रस्तुत गरेका प्रारम्भिक विवरणअनुसार ओमिक्रोनले कोभिड-१९ विरुद्धको प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने सम्भावना छ। तर यो विश्लेषण शत प्रतिशत सही नहुन सक्ने बताइएको छ।
रोएटर्स नेक्स्ट कन्फरेन्समा बोल्ने क्रममा डा. स्वामीनाथनले दक्षिण अफ्रिकाको तथ्याङ्कलाई उद्धृत गर्दै यो भेरिअन्ट "अत्यन्तै सङ्क्रामक" रहेको र यो विश्वभरि प्रभाव पार्न सक्ने 'स्ट्रेन' बन्न सक्ने सम्भावना रहेको बताइन्।
तर यस्तो पूर्वानुमान गर्न भने कठिन रहेको उनको भनाइ छ।
उनका अनुसार अहिले विश्वमा फेला परेका कोभिड बिरामीमध्ये ९९ प्रतिशत डेल्टा भेरिअन्टबाट सङ्क्रमति रहेका छन्।
"हामी कति चिन्तित हुनुपर्छ? हामी तयार अनि सतर्क रहनुपर्छ, आत्तिने होइन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौँ," उनले भनिन्।
डब्ल्यूएचकोका आपत्कालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा अहिले कोभिड-१९ विरुद्ध "निकै प्रभावकारी खोपहरू" उपलब्ध भएका र व्यापक रूपमा खोप वितरण गर्ने विषयमा ध्यान केन्द्रित गरिनुपर्ने बताए।
कोभिडको नयाँ भेरिअन्टलाई ओमिक्रोन नाम दिइएको एक साता हुँदा कोभिडको यो स्वरूपले पार्न सक्ने खतराबारे बुझ्न विश्व सङ्घर्षरत छ।
तर यो जटिल विषयबारे केही जानकारीहरू भने प्राप्त हुन थालेको छ।
यो भेरिअन्ट धेरै उत्परिवर्तन पश्चात् विकासित भएको छ भन्ने कुरा हामीले थाहा पाइसकेका छौँ। दक्षिण अफ्रिकाका अधिकारीहरूले कोभिड सङ्क्रमण बढ्नुमा यो कारक रहेको बताएका छन्।
एक पटक कोभिड भइसकेका व्यक्ति ओमिक्रोनबाट सङ्क्रमित हुन सक्ने सम्भावना कति छ भन्ने कुराबारे थप थाहा पाउन आवश्यक छ।
ओमिक्रोन भेरिअन्टबारे हामीलाई के थाहा छ?
विश्व स्वास्थ्य सङ्गठनले पहिला यो भेरिअन्टलाई बी.१.१.१५९ को सङ्केतबाट चिनाएको थियो। पछि यसको नाम ओमिक्रोन राखियो।
यो भेरिअन्ट आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित छ।
दक्षिण अफ्रिकास्थित सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनभेशनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टभन्दा यो "धेरै भिन्न" भएको र "उत्परिवर्तनको अस्वाभाविक सङ्ग्रह" देखिएको बताएका थिए।
सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० वटाभन्दा बढी स्पाइक प्रोटीन भएको बताए।
धेरै खोपले भाइरसको तहमा हुने काँडाजस्तो देखिने स्पाइक प्रोटीन भनिने अवयवलाई तारो बनाएका हुन्छन्। स्पाइक प्रोटीन मानिसको कोषमा टाँसिने र भित्र छिर्न सघाउने अवयव हो।
उत्परिवर्तनहरू हानिकारक नहुन पनि सक्छन्। ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो।
तर यो भेरिअन्ट चीनको वुहानमा देखिएको भाइरसभन्दा निकै फरक बनिसकेकाले चिन्ताजनक मानिएको छ। पहिलो प्रकारको भाइरसका आधारमा बनाइएका खोपहरू प्रभावकारी नहोलान् कि भन्ने चिन्ता वैज्ञानिकहरूमा देखिएको छ।
नयाँ भेरिअन्टहरू किन फेला परिरहेका छन्?
भाइरसहरूले प्रजननका लागि आफ्नो प्रतिलिपि बनाउन सक्छन्। तर यसमा उनीहरू राम्ररी गर्न भने जान्दैनन्।
यो कार्यमा त्रुटि हुँदा आनुवंशिक संरचनामा परिवर्तन हुन्छ र नयाँ भेरिअन्टको उत्पत्ति हुन्छ।
यसले भाइरसलाई जीवित रहने अवस्था सिर्जना गरिदिए नयाँ भेरिअन्ट मौलाउँछ।
कोरोनाभाइरसले जति धेरै आफ्नो प्रतिलिपि बनाउन पाउँछ, त्यति नै उत्परिवर्तन हुने अवसर प्राप्त हुन्छ।
त्यसकारण सङ्क्रमण दर कम राख्नु महत्त्वपूर्ण हुन्छ।
यो पनि हेर्नुहोस्