एमाले महाधिवेशन: भीम रावल र केपी शर्मा ओलीले गरे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

    • Author, ईश्वर जोशी
    • Role, चितवन
  • Published

नेकपा एमालेको केन्द्रीय पदाधिकारीका लागि मतदान हुने भएपछि मनोनयन कार्य पूरा भएको जनाइएको छ।

सोमवार राति साढे नौ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको तालिका सार्वजनिक भएको छ।

मतदानका लागि विद्युतीय उपकरण प्रयोग गर्ने बताइएको छ।

आइतवार दिनभरि सहमतिको प्रयास भए पनि अध्यक्षको पदमा नेता भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि निर्वाचन हुने निश्चित भएको हो ।

नेता भुसालले सञ्चारकर्मीसँग भने, "केपी ओलीको गलत निर्णयका कारण मैले उम्मेदवारी दिएको हुँ।"

सोमवार बिहान भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि पदासीन अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराएका हुन्।

आइतवार राति अध्यक्ष ओलीले ३०१ जनाको केन्द्रीय समिति सदस्यको नामावली सार्वजनिक गरेका थिए।

अध्यक्ष ओलीले सार्वजनिक गरेको १९ जना पदाधिकारीमा आफ्नो नाम नपरेपछि असहमति जनाउँदै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले उम्मेदवारी दिएका छन् ।

तर वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलविरुद्ध कसैको पनि उम्मेदवारी नपरेको बताइएको छ।

केन्द्रीय सदस्यमा सार्वजनिक गरिएका नामावलीभन्दा बाहिरका केही प्रतिनिधिहरूले पनि उम्मेदवारी दिएपछि मतदान हुने पक्का भएको हो ।

ओलीको प्रस्तावमा को-को?

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा विष्णु पौडेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई प्रस्ताव गरेका थिए।

त्यस्तै महासचिवमा शङ्कर पोखेरललाई र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको थियो।

ओलीले सातजना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्याललाई प्रस्ताव गरेका थिए।

रामबहादुर थापा, टोपबहादुर रायमाझी र लेखराज भट्ट माओवादी छोडेर एमालेमा बसेका नेता हुन्।