तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एमाले महाधिवेशन: केन्द्रीय समितिमा '७५ नयाँ महिला थपिने', आज अरू के हुँदैछ?
- Author, माधव नेपाल
- Role, चितवन
- Published
नेकपा एमालेको दशौँ महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा महाधिवेशनमा आमन्त्रण गरिएका केही विदेशी पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन्।
रिजालका अनुसार सम्बोधन पछि हिजो राति केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरू अनुमोदनका लागि महाधिवेशन हलमा प्रस्तुत गरिने छ ।
हिजोको बैठकले केन्द्रीय समितिको सङ्ख्या २२५ बाट बढाएर ३०१ बनाउने निर्णय गरेको थियो ।
त्यस्तै काठमाण्डूमा सम्पन्न विधान अधिवेशनले खारेज गरेको पोलिटब्युरो संरचना ब्युँताएको छ भने पदाधिकारी सङ्ख्या पनि १५ बाट बढाएर १९ पुर्याइएको छ।
अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव सहित ६ जना उपाध्यक्ष, ३ जना उपमहासचिव र ७ जना सचिव रहने छन् ।
आकाङ्क्षी धेरै भए पछि मिलाउनका लागि सदस्य तथा पदाधिकारी थपिएको बताइएको छ।
अब उम्मेदवारी दर्ता भए पनि चुनाव हुने सम्भावना घट्दै गएको एमालेका नेताहरूले बताउन थालेका छन् ।
आज साँझ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम राखिएको बताइएको छ तर निर्वाचन सम्बन्धी आधिकारिक सूचि भने प्रकाशित गरिएको छैन ।
महिला प्रतिनिधित्व बढ्ने
एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय समितिमा करिब ७५ जना नयाँ महिला सदस्यहरू चुनिएर आउने अनुमान गरिएको छ।
यसअघि काठमाण्डूमा सम्पन्न विधान अधिवेशनले २ सय २५ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेकोमा शुक्रवार राती सौराहामा बसेको केन्द्रीय समितिको बैठकले सो सङ्ख्यालाई बढाएर ३ सय १ जनाको केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ।
यसअघि १सय ९६ जनाको केन्द्रीय समितिमा ३० जना महिला रहेका थिए।
सबै संरचनामा महिला
"३० जना पुराना सदस्य बाहेक अब थपिने महिला सबै नयाँ अनुहारहरू हुनेछन्, नयाँ महिला सदस्यहरूको प्रतिनिधित्वले आउँदो महाधिवेशनमा पार्टीमा नयाँ उमङ्ग थपिने देखिएको छ," नेतृ बिन्दा पाण्डेले भनिन्।
पछिल्लो केन्द्रीय कमिटीको बैठकले यसअघिको विधान अधिवेशनले खारेज गरेको पोलिटव्युरोको संरचना पनि ब्युँताउने निर्णय गरेको छ।
९९ सदस्यीय पोलीटव्युरोमा पनि एक तिहाइ महिलालाई प्रतिनिधित्व गराउनु पर्ने दबाब एमालेमा रहेको बताइएको छ।
संवैधानिक व्यवस्था
महिला नेतृ राधा ज्ञवाली केन्द्रीय सदस्यदेखि पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीमा पनि संविधानले गरेको व्यवस्था अनुसार नै महिलाहरूको सहभागिता हुनुपर्ने बताउँछिन्।
अहिले एमालेमा १९ सदस्यीय पदाधिकारी र ४५ सदस्यीय स्थायी समितिको व्यवस्था छ।
नेपालको संविधानले पार्टीको केन्द्रीय समिति समावेशी बनाउनु पर्ने व्यवस्था गरेको छ।
संविधान अनुसार बनेको राजनीतिक दल सम्बन्धी एन २०७३ले कुनै पनि समितिमा एक तिहाइ महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ।
'हामी उत्साहित छौँ'
स्याङ्जा फेदिखोला गाउँपालिकाकी उपाध्यक्ष देवी थापाले पार्टीमा महिला प्रतिनिधित्वको सुनिश्चितताले आधा जनसङ्ख्या ओगटेका महिलाहरूलाई अगाडि बढ्न एक प्रकारले उत्साह थपेको बताउँदै यो व्यवस्थाले समाज परिवर्तनमा पनि महत्त्वपूर्ण सन्देश गएको बताउँछिन्।
त्यस्तै पर्वत फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले पार्टीमा समावेशी हिसाबमा हुने महिला सहभागिताले महिलाहरूलाई खुलेर अगाडि बढ्ने बाटो खोलेको बताउँछिन्।