तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एपले काम नगरेपछि टेस्ला कारधनीले कार चलाउन सकेनन्
आधुनिक प्रविधियुक्त चर्चित विद्युतीय कार टेस्लाका चालकहरूले कार निर्माता कम्पनीको एपमा आएको समस्याका कारण आफूहरू कार बाहिरै पर्नुपरेको बताएका छन्।
टेस्ला कारका दर्जनौँ मालिकहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा मोबाइल एपले आफूहरूलाई कारभित्र पस्न नदिएको सन्देश पोस्ट गरेका थिए।
टेस्लाका प्रमुख कार्यकारी इलोन मस्क आफैले दक्षिण कोरियाका एक चालकको गुनासोको जवाफ दिँदै ट्विटरमा भनेका थिए, "के भएको हो पत्ता लगाउँदै छौँ।"
पछि मस्कले उक्त एप अनलाइन आएको बताएका थिए।
चालकहरूले आफ्नो कार खोल्न र स्टार्ट गर्न टेस्ला एप प्रयोग गर्ने गर्छन्।
कारधनीहरूले आफ्नो कार प्रयोग गर्न नपाएकोमा विभिन्न किसिमका गुनासो पोस्ट गरेका थिए।
एकजना कारधनीले ट्वीट गर्दै भने, "म घरबाट एकघण्टा टाढ अडकिएको छु किनभने म मेरो फोनले नै कार स्टार्ट गर्ने गर्छु (अहिले त्यो भइरहेको छैन।)"
त्यस्तो समस्या आएको पत्ता लगाउने डाउनडीटेक्टर भन्ने साइटले २१:४० जीएमटीमा करिब ५०० कार प्रयोग कर्ताले समस्या रिपोर्ट गरेको जनाएको छ।
पाँच घण्टापछि त्यस्तो रिपोर्ट गर्नेको सङ्ख्या ६० भन्दा केही बढी थियो।
मस्कले क्षमा माग्दै ट्वीट गरेका थिए, "हामी फेरि यस्तो नहोस् भन्ने निश्चित गर्ने उपाय अपनाउने छौँ।"
कारभित्र छिर्न एप बाहेक पनि उपाय भएको द कार एक्सपर्ट वेबसाइटका स्टुआर्ट म्यासनले बीबीसीलाई भने।
"कारभित्र छिर्ने दोस्रो उपाय पनि छ तर चालकहरूले त्यो उपाय आफूसँग ल्याएका छैनन् भने समस्या पर्छ," उनले भने।
"प्रविधिले कुराहरू सजिलो बनाइदिन्छ तर त्यो जहिले पनि शतप्रतिशत काम गरिरहने सर्भरमा भर परेको हुन्छ। यो घरमै क्रेडिट कार्ड छोडेर जहाँ पनि स्मार्टफोनबाट पैसा तिर्न खोज्नु जस्तै हो। यदि एउटा मात्र तरिकामा भर पर्ने हो भने कुनै बेला हामी समस्यामा पर्न सक्छौँ
बर्मिङ्घम बिजनेस स्कूलका प्रोफेशर डेभिड बेलीले सवारीसाधनबारे धेरै लेखहरू लेखेका छन्। आफू पनि टेस्ला चलाउने गरेका उनले पनि शुक्रवार समस्या झेले।
उनले बीबीसीलाई भने "केही हदसम्म टेस्ला आफ्नै सफलताबाट पीडित बनेको छ। उसले आफ्ना उपभोक्तालाई आफूले बनाएका नयाँ र भरपर्दो प्रविधि प्रयोग गर्न भन्छ तर ती कहिलेकाहीँ बिग्रन्छन्। "
"तपाईँले कार खोल्न साँचो पनि प्रयोग गर्न सक्नुहुन्छ तर जसले बजारमा भएको सबभन्दा उच्च प्रविधियुक्त कार किन्छन् उनीहरू स्वाभाविक रूपमा प्रविधिमा नै भर पर्न चाहन्छन्।"