तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा अफगान शरणार्थीः सामाजिक सञ्जालमा दुई भिन्न कोण, नेपाल-भारत सीमामा निगरानी कायम
केही दिनअघि भारतबाट सुनौली हुँदै अफगान नागरिकहरू नेपाल प्रवेश गरेको पाइएपछि अहिले रूपन्देहीको बेलहिया सीमामा नेपाली पक्षले कडा निगरानी गरिरहेको अधिकारीहरूले बताएका छन्। शरणार्थी पक्राउ गरेको विषयमा सर्वसाधारण मानिसहरूको भिन्न मत पनि देखिएको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अफगान नागरिकहरू "अवैध रूपमा" प्रवेश गरेपछि सीमामा थप कडाइका साथ व्यवस्थापन भइरहेको छ।
उनले बीबीसीसँग भने,"स्वास्थ्य मापदण्ड पालनासँगै मौजुदा ऐन कानुनबमोजिम नै जाँच गरिरहेका छौँ।"
आफूहरू गैरकानुनी ढङ्गबाट हुने आवतजावतबारे सचेत रहेको उनले बताए। तर समान वेशभूषाका कारण अवैध रूपमा नेपाल छिर्ने तेस्रो देशका मानिस ठम्याउन गाह्रो भएको उनको कथन छ।
कार्तिक ८ गते भारतको दिल्लीबाट सुनौली हुँदै बेलहिया नाकामार्फत् प्रवेश गरेका ११ जना अफगान नागरिक पक्राउ परेका थिए।
उक्त नाकाबाट स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने गरेको बताइन्छ।
घटना सार्वजनिक भएपछि नेपालगन्जको जमुनाह नाकामा पनि सुरक्षा जाँच कडा गरिएको छ। अवैध आगमन रोक्नका लागि उच्च सतर्कता अपनाएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।
"देशभरिकै सीमानाकामा कडाइ गरिएको छ। हालसम्म कोही पाइएको छैन। तर कुनै पनि अफगान नागरिक भिसाबिना प्रवेश नगरून् भनेर निगरानी बढाइएको हो," खत्रीले भने।
नेपालमा विभिन्न देशका नागरिक नाका छलेर आउनु चुनौतीको विषय भएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए। उनले त्यसरी आउनेहरूलाई नेपालको वर्तमान कानुन र अन्तर्राष्ट्रिय सन्धि-सम्झौताअनुसार कारबाही गरिने जानकारी दिए।
"विगतदेखि नै विभिन्न देशका नागरिक शरण खोज्दै आउने गरेका छन्। कतिलाई हामीले शरणार्थीका रूपमा व्यवस्थापन गर्यौँ। केहीलाई गर्न बाँकी छ। नेपालको सामर्थ्यअनुसार ठूलो सङ्ख्यालाई शरणार्थीका रूपमा व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले सङ्ख्या थपिन नदिने मनसाय छ," उनले भने।
उनले यस्ता विषयमा विभागले विधिसम्मत तयारी गर्ने र गृह मन्त्रालयको नीतिगत निर्णय पर्खिने बताए।
पक्राउ परेका व्यक्ति कहाँ छन्?
एक साताअघि सिनामङ्गलस्थित एउटा होटलबाट अफगान नागरिकहरू पक्राउ परेका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुईवटा समूहका कुल ११ जना पक्राउ गरेको हो।
तीमध्ये पाँच जना आमा, बुबा, दुई छोरी र एक छोरा गरी एकै परिवारका थिए। बाँकी छ जनाल भारतको दिल्लीमा भेटी योजनाबद्ध रूपमा नेपाल भित्रिएको ब्यूरोका प्रवक्ता एसपी श्याम महतोले बीबीसीलाई बताए।
अफगानिस्तानमा तालिबान सत्तामा आएपछि त्यहाँका नागरिक शरणार्थीको रूपमा विभिन्न देशमा शरण लिँदै आएका छन्।
"पक्राउ परेकाहरू अफगानिस्तानमा अवस्था प्रतिकूल बनेपछि शरण खोज्दै नेपाल आइपुगेको देखियो," महतोले भने,"समूहका कोही गत जुन र कोही जुलाईमा भारत आएका रहेछन्, विमानमार्फत्। उनीहरूले आफूहरू तत्काल देश फर्किन नचाहेको बताएका थिए। नेपालबाट तेस्रो मुलुक पुनर्वासका लागि बाटो सहज हुन्छ भनेर यता आएको देखियो।"
उनीहरू भारतसम्म वैध तरिकाले आए पनि नेपाल आगमनलाई कानुनी पुष्टि गर्ने कागजपत्र नदेखिएपछि पक्राउ परेका सबैलाई थप सोधपुछका लागि अध्यागमन विभाग पठाएको महतोले बताए।
सीमाक्षेत्रमा रहने अध्यागमनको कुनै पनि एकाइमा उनीहरूको आगमन दर्ता भएको पाइएन।
गैरकानुनी रूपमा नेपाल भित्रिएका पाँच अफगान नागरिकलाई अध्यागमन विभागले देश निष्कासन गरेको विभागका महानिर्देशक भट्टराईले पुष्टि गरे। उनीहरूसँग भएको वैध राहदानीमा मेक्सिकोको भिसा भएका कारण सोही देश प्रस्थान गराइएको हो।
"उहाँहरूको प्रवेश गैरकानुनी थियो। बसाइ चाहिँ कानुनीसम्मत हिसाबले वैध बनाइयो। त्यसपछि उहाँहरूको राहदानीमा जुन देशको भिसा छ त्यही देशतर्फ प्रस्थान सहजीकरण गरेका हौँ।"
तीन बालबालिकासहित एकै परिवारका पाँच जनाले प्रस्थान अनुमति पाएका हुन्। बाँकी छ जना भने हाल अनुसन्धानको दायरामा रहेको महानिर्देशकले जिकिर गरे। उनीहरू प्रहरी हिरासतमा छन्।
उनले भने,"अध्यागमनले गृह मन्त्रालयसँगको समन्वयनमा अनुसन्धान गरिरहेको छ। राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राखेर निर्णय होला।"
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने अनुसन्धान भइरहेको र उनीहरूलाई कसरी पठाउने भन्नेबारे छलफल भइरहेकाले उक्त विषयमाथि तत्काल आफूले केही बोल्न नमिल्ने बताए।
सामाजिक सञ्जालमा घटनालाई हेर्ने मानवीय कोण
अफगानिस्तानमा तालिबानको कब्जापछि बढेको द्वन्द्व, असुरक्षा साथै सामाजिक, राजनीतिक र आर्थिक अस्थिरताका कारण अफगान नागरिक आफ्नो देश छाड्दै शरण खोजिरहेका छन्।
यस्तो अवस्थामा उनीहरूको नेपाल आगमनलाई कानुनी र मानवीय दुवै कोणबाट हेर्नेहरूको मत सामाजिक सञ्जालमा देख्न सकिन्छ। केहीले उनीहरूको निष्कासन र कारबाहीको पक्षमा लेखेका छन् भने केहीले उनीहरूलाई आश्रय दिनुपर्नेबारे आफ्नो तर्क अघि सारेका छन्।
म्यागासेसे पुरस्कार विजेता महावीर पुनले पक्राउ परेका अफगान नागरिकहरूलाई हतारहतारमा लखेट्नु नहुने टिप्पणी गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्,"नेपालीहरू पनि संसारको धेरै देशमा शरणार्थीको रूपमा बसेका छन् र बदमासी नगरेसम्म उक्त देशको सरकारले एकाध घटना बाहेक खोजिखोजी लखेटेको थाहा पाइएको छैन।"
"ती अफगानीहरूको बाध्यता त हामी सबैले थाहा पाएका छौँ। हालै तालिबानले सत्ता कब्जा गरे पछि भागेका रहेछन्। देशमा बसेपछि पक्कै मार्छन् भन्ने डरले उनीहरू भागेको प्रष्ट नै देखिन्छ। त्यसैले यो अवस्थामा तुरुन्तै नलखेटेको भए हुन्थ्यो।"
त्यस्तै ट्विटरमा सोम निरौला लेख्छन्: अफगानी नागरिक जो आफ्नो ज्यान जोगाउन भागेर नेपाल आएका छन्, उनीहरूलाई शरण पाउने अधिकारबाट वञ्चित नगरौँ। सम्मानपूर्ण रूपमा शरणार्थी जीवन जिउने वातावरण बनाउन सरकारलाई अपील गरौँ।
केही मानिसले भने फरक धारणा व्यक्त गरेका छन्।
खड्ग आचार्यले अफगान नागरिक अवैध ढङ्गमा नेपाल प्रवेश गर्नुलाई सीमा सुरक्षाबलको कमजोरी भएको तर्क गरेका छन्।
उनको प्रश्न छः अस्ति भुटानबाट भुटानी नेपाल आए। हिजो म्यान्मार बर्माबाट रोहिन्ज्या शरणार्थीका रूपमा आए। आज अफगानिस्तानबाट अफगानी नेपाल छिरिसके। के सीमामा काम गर्ने सीमा सुरक्षाबल नै नभएको हो? कि सधैँ शरणार्थी पाल्नुपर्ने? कि आर्थिक चलखेलमा यस्ता गैरकानुनी कामले निरन्तरता पाउँछ?
अवैध आगमन रोक्न कस्तो छ तयारी?
अफगान नागरिकको गैरकानुनी आगमन देखिएपछि गृह मन्त्रालयले आधिकारिक परिचयपत्र नभएका मानिसलाई कोठा भाडामा नदिन आग्रह गरेको छ।
विदेशी नागरिकको घुसपैठ र गैरकानुनी प्रवेश निरुत्साहित गर्न सीमामा यात्रुले देखाउने परिचयपत्रमाथि पनि सूक्ष्म अध्ययन गर्न भन्दै उसले विज्ञप्ति जारी गरेको हो।
हरेक सीमानाकामा अध्यागमन विभागका एकाइहरू छन्। हाल ती एकाइमा आगमन गर्नेहरूलाई कडाइ गरिएको विभागका महानिर्देशकको दाबी छ।
साथै अहिले दक्षिणी नाकाहरूमा सुरक्षा जाँचमा समेत कडाइ गरिएको अधिकारीहरूले बताएका छन्।
विश्वभरि कति छन् अफगान शरणार्थी?
विश्वभरि यूएनएचसीआरले दर्ता गरेका शरणार्थीमध्ये २७ लाख अफगान छन्। त्यो एउटै राष्ट्रियता भएका शरणार्थीमध्ये विश्वकै तेस्रो ठूलो सङ्ख्या हो।
सन् २००१ मा अफगानिस्तानमा भएको अमेरिकी अतिक्रमणसँगै देखा परेको असुरक्षा, राजनीतिक र आर्थिक अस्थिरताले यस्तो अवस्था निम्त्याएको हो।
यूएनएचसीआर इन्डोनेशियासँग सन् २०२० डिसेम्बरसम्म झन्डै ८,००० अफगान शरणार्थी र शरण खोजिरहेका व्यक्तिहरू दर्ता भएका छन्।