तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यू-२३ एशियन कप फुटबल: नेपाल इरानसँग चार गोलले पराजित
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
- Published
एशियाली फुटबल महासङ्घ एएफसीको उमेर समूहको बलियो मानिने प्रतियोगिता एएफसी यू-२३ एशियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग ४-० गोलले पराजित भएको छ।
खेलको अधिकांश समय गोल बचाउनमा व्यस्त खेलाडीहरूले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। तर दोस्रो हाफमा टोली सम्हालिन सकेन।
ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलको १७ औँ मिनेटमा इरानले पेनाल्टीको अवसर पाएको थियो।
नेपालका अभिषेक लिम्बुले पेनाल्टी एरियामा फल गरेपछि इरानले पेनाल्टी अवसर पाएको थियो।
तर टोलीका कप्तानले त्यसलाई गोलमा परिणत गर्न सकेनन्। उनको प्रहार बाहिरिएको थियो।
तर दोस्रो हाफमा भने इरानी खेलाडीहरू आक्रामक देखिए।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै नेपालले गोल खायो।
खेलको ७७ औँ मिनेटमा इरानले अग्रता दोब्बर पार्यो भने ७९ औँ मिनेटमा पुनः अर्को गोल गर्यो। खेल सकिनु एक मिनेटअगाडि अर्को गोल थपेपछि इरानको गोल सङ्ख्या चार पुगेको थियो।
नेपाली गोलकिपर अर्पण कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीका आधा दर्जनभन्दा बढी प्रहारलाई असफल पारिदिएका थिए।
यू-२३ एशियन कप छनोटमा नेपालले इरानसँग खेलेको यो दोस्रो पटक हो।
यसअघि सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेल्दा नेपाल ५-० गोलले पराजित गरेको थियो।
इरान एशियाली वरीयताको २२ औँ तथा नेपाल १६९ औँ स्थानमा छ।
चुनौतीपूर्ण प्रतियोगिता
नेपाली टोलीमा भर्खरै मालदिभ्समा सम्पन्न साफ च्याम्पियनसिप खेलेको टोलीका ६ जना खेलाडी मनिष डाँगी, आयुष घलान, सुमन अर्याल, गौतम श्रेष्ठ, सुरजज्यू ठकुरी, नितिन थापा सहभागी छन्।
त्यस्तै दुई वर्षअगाडि नेपालले १३ औँ सागमा नेपालले स्वर्ण जित्दा फाइनलमा गोल गर्ने स्ट्राइकर अभिषेक रिजाल पनि छन्।
सागमा २३ वर्षमुनिका खेलाडीहरू खेल्ने भए पनि त्यसमा चारजना सिनियर खेलाडीहरू समावेश गर्न पाउँछ।
यू-२३ एशियन कपमा भने विशुद्ध २३ वर्षमुनिका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका थिए।
खेलअघि उनले भनेका थिए -"हामी एशियाका राम्रा विपक्षीहरूसँग खेल्दैछौँ। यो वास्तविकतालाई स्विकार्दै हामी राम्रो नतिजाका लागि भिड्छौँ "।
प्रतियोगिता खेल्नुअगाडि नेपालले खेलेको मैत्रीपूर्ण खेलमा इन्डोनेशियासँग २-० ले पराजित हुन पुगेको थियो।
एशियन कप छनोट नेपाली फुटबलले सामना गर्ने चुनौतीपूर्ण प्रतियोगितामध्ये एक मानिन्छ।
छनोटको समूह 'बी' मा रहेको नेपालले अब दोस्रो खेल ताजकिस्तानसँग अक्टोबर २८ मा र लीगको अन्तिम खेल लेबननसँग अक्टोबर ३१ मा खेल्नेछ।
ताजकिस्तान फिफा वरीयताको ११४ औँ तथा लेबनन ९२ औँ स्थानमा छ।
छनोटमा एशियाका ४२ राष्ट्रले भाग लिइरहेको छ। जसबाट १६ टोली एशियन कपका लागि छानिनेछन्।
त्यसमा ११ समूहको शीर्ष स्थान हात पार्ने टोलीहरू तथा दोस्रो स्थान पाउनेहरूमध्ये उत्कृष्ट चार टोली अन्तिम चरणमा छनोट हुनेछन्।
आयोजक राष्ट्रको हैसियतले उज्बेकिस्तान सिधै फाइनल चरणमा पुगिसकेको छ।
फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुनेछ।
इतिहास
नेपाल एएफसी यू-२३ प्रतियोगिताको सबै चार संस्करणको छनोट खेल्ने सदस्य राष्ट्र हो।
एएफसी यू-२३ एशियन कपको पहिलो संस्करण सन् २०१३ मा ओमानमा भएको थियो।
त्यसपछि सन् २०१६मा कतारले, सन् २०१८ मा चीनले र सन् २०२० मा थाइल्यान्डले आयोजना गरेको थियो।
तर एशियाको उत्कृष्ट राष्ट्रहरूले खेल्ने यो प्रतियोगितामा नेपालको नतिजा भने सुखद हुन सकेको छैन।
नेपालले हालसम्मको चार संस्करणमा १४ वटा खेल खेलेको छ। जसमध्ये नेपालले एक मात्र खेल जितेको छ।
नेपालले आयोजना गरेको सन् २०१२ को पहिलो संस्करणको छनोटमा बङ्गलादेशलाई ४-१ ले हराएको थियो।
बाँकी १३ खेल नेपालले हार बेहोर्दै आएको छ।