तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिडः नेपालमा कोरोनाभाइरस निषेधाज्ञा प्रभावित लगभग सबै क्षेत्र खुला हुँदा सिनेमा हल नखुल्नुको कारण के
काठमाण्डू उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले भदौ १७ गतेबाट सुरक्षाका मापदण्ड अपनाएर सिनेमा हल खोल्नका लागि बाटो खुला गरिदिएसँगै देशका अन्य कैयौँ जिल्लामा पनि क्रमशः यस्ता निर्णय भइरहेका छन्।
तर त्यस्तो निर्णयको झन्डै २० दिन बितिसक्दा पनि सिनेमा हलहरू खुलेका छैनन्।
दर्शक आउने वा नआउने आशङ्ककाबीच सिनेमा हल खोल्नका लागि तयार रहेको बताउने व्यवसायीहरूसँग अहिले प्रदर्शन गर्नका लागि चलचित्र नै नभएको बताइन्छ।
खासगरी नेपाली चलचित्र निर्माताहरूले जोखिम उठाउन नचाहेको र हिन्दी तथा अङ्ग्रेजी चलचित्र समेत उपलब्ध हुन नसक्दा पर्ख र हेरको रणनीति अपनाउनु परेको उनीहरू बताउँछन्।
के छ अवस्था?
''यो अरू क्षेत्र जस्तो होइन खोल् भन्ने बित्तिकै खोल्नलाई। सिनेमा खोल्नलाई फिल्म चाहियो। एउटा फिल्म मिलेर भएन, फिल्मको लाइन अप नै चाहियो,'' क्यूएफएक्स सिनेमाघरहरू सञ्चालन गर्दै आएको कम्पनी टिम क्वेस्टका निर्देशक नकिम उद्दिनले भने।
''अङ्ग्रेजी, हिन्दी, नेपाली तीनवटै फिल्म चाहियो।''
भारतमा महाराष्ट्र राज्यमा अझै सिनेमा हल खुल्न नदिइएका कारण पर्याप्त मात्रामा हिन्दी चलचित्र उपलब्ध हुन नसकेको र अङ्ग्रेजी चलचित्रको हकमा आफूहरूले पहल गरिरहेको उनले जानकारी दिए।
नेपाली चलचित्र उत्पादकहरूले चलचित्र चलाउनका लागि सुरक्षाको प्रत्याभूतिको माग गरिरहेका कारण निर्माण सम्पन्न भएर प्रदर्शनको मिति कुरिरहेका कैयौँ चलचित्र प्रदर्शनमा आउन नसकेका बताइएको छ।
यद्यपि अङ्ग्रेजी भाषाका चलचित्रहरू अक्टोबर १ तारिखबाट "फास्ट एन्ड द फ्युरीअस" र अक्टोबर ८ बाट "जेम्स बोन्ड" चलचित्रका नयाँ भाग प्रदर्शनमा आउने सम्भावना रहेको नकीम उद्दिनले बताए।
नेपाली सिनेमाले राम्रै योगदान गर्ने भए पनि ती चलचित्र उपलब्ध नभएको अवस्थामा पनि काठमाण्डू उपत्यका भित्रका मल्टिपलेक्सहरू राम्रो विदेशी चलचित्र उपलब्ध भएको अवस्थामा टिक्न सक्ने अवस्था रहेको उनले जानकारी दिए।
तर नेपाली वा हिन्दी चलचित्र मात्रै प्रदर्शन गर्ने सिनेमा हलहरू पनि रहेका कारण समग्र क्षेत्रमा भने प्रभाव पर्ने उनको भनाइ छ।
''हल चल्ने होइन। सिनेमा चल्ने हो,'' आफूहरूसँग नयाँ सिनेमा उपलब्ध नरहेको सङ्केत गर्दै अष्ट नारायण पिक्चर्सका सञ्चालक रामवीर मानन्धरले भने।
तर आगामी शुक्रवारबाट कुनै एउटा हिन्दी चलचित्र प्रदर्शनमा आउन सक्ने उनले सङ्केत गरे।
नयाँ सिनेमा प्रदर्शनमा आएको अवस्थामा १-२ प्रतिशतबाट दर्शक हलसम्म आउने क्रम सुरु हुने पूर्व सहरी विकास राज्यमन्त्री समेत रहेका व्यवसायी मानन्धरले जानकारी दिए।
राम्रो चलचित्र प्रदर्शनमा आए जुनसुकै भाषाको फिल्म चल्ने अवस्था पछिल्ला वर्षहरूमा रहेको उनी बताउँछन्।
कारण के हो?
सरकारले सिनेमा हल खोल्न दिने निर्णय गरेको भए पनि सिट क्षमताको ५० प्रतिशतभन्दा माथि दर्शक राख्न नपाइने निर्णय गरेको छ।
जसको अर्थ हल खुले पनि खचाखच दर्शक भरिने गरी सञ्चालन गर्न नियमले दिँदैन।
यसअघि पनि महामारीकै बीचमा सिनेमा हलहरू खुलेका थिए। तर नयाँ चलचित्र उपलब्ध नहुँदा दर्शक हलसम्म पुगेनन्।
''त्यै पाठले गर्दा हामी हल खोल्न हतारमा छैनौँ। किनभने त्यसै घाटा खोल्यो भने झन् बढी घाटा हुन्छ,'' नकीम उद्दिनले भने।
मानन्धर पनि यसअघि ''नाम मात्रैको हल खुलेको'' बताउँछन्।
नेपाल चलचित्र निर्माता सङ्घका अनुसार अहिले ३५ वटा स्वदेशी चलचित्र प्रदर्शनको पर्खाइमा छन्।
त्यस्तै ७५ वटा सिनेमा तयार हुने क्रममा छन्।
''१ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी भएर बसेको छ। एउटा सिनेमा डेढदेखि चार करोडसम्मको लगानीमा बनेका छन्,'' नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले भने।
कुनै एक चलचित्र प्रदर्शनमा आइसकेपछि फेरि प्रदर्शनमा ल्याउन नपाइने हुँदा पछिल्लो अवस्थामा चलचित्र प्रदर्शनमा ल्याउन जोखिम रहेको उनी बताउँछन्।
के छ माग?
महामारीको मार खेपिरहेको चलचित्र क्षेत्रलाई लयमा फर्काउन सहयोग गर्नका लागि आफूहरूले सरकारसँग कम्तीमा तीनदेखि ६ महिनासम्मका लागि चलचित्रको बजेटको कम्तीमा ५० प्रतिशत अनुदान दिन माग गरेको अधिकारी बताउँछन्।
''त्यसपछि ५० प्रतिशतको जोखिम निर्माताले लिन्छ भनेका छौँ,'' उनले थपे।
सरकारी निर्णय अनुसार काठमाण्डू उपत्यकासहित केही जिल्लामा मात्रै सिनेमा हल खोल्न बाटो खुलेको र अन्यत्र क्रमशः खुल्ने क्रममा रहेको उनी बताउँछन्।
त्यस्तै महामारीकै बीचमा निर्माणमा जाने चलचित्रका हकमा भविष्य सुनिश्चित नरहेको र निर्माणकै लागि लामो समय लाग्ने अवस्थामा बजेटको २५ प्रतिशत लगानि सुनिश्चितताको जिम्मा लिइदिन सरकार सम्क्ष माग उनीहरूले गरेका छन्।
दशैँमा नयाँ स्वदेशी चलचित्र प्रदर्शनमा आउलान्?
सामान्यतया नेपालमा दशैका बेला सबै व्यावसायिक क्षेत्रमा वृद्धि देखिन्छ।
तुलनात्मक रूपमा मानिसहरूको खर्च गर्ने शक्ति पनि बढ्ने यो बेलाको लाभ नेपाली चलचित्र निर्माताहरूले विगतका वर्षहरूमा उठाउँदै आएका थिए।
कोभिड महामारीका बीच त्यो अवस्थामा परिवर्तन आएको छ।
र, दर्शकहरूले यो वर्ष पनि दशैँका बेला नयाँ स्वदेशी चलचित्र हेर्न पाउने सम्भावना कम रहेको निर्माता र हल सञ्चालकहरूको भनाइले सङ्केत गर्छ।
तथापि निर्माताहरूले जोखिम उठाउन चाहेको अवस्थामा सङ्घले सहयोगी भूमिका निर्वाह गर्ने अधिकारी बताउँछन्।
''कोही जोखिम उठाउन तयार हुनुहुन्छ भने उहाँहरूलाई हामी स्वागत गर्छौँ र सहयोग पनि गर्छौँ,'' उनले भने।