सङ्खुवासभा सामूहिक हत्याकाण्ड: सन्दिग्धबारे एक साताभित्रै आएका फरक खाले विवरण, विज्ञ भन्छन्- 'प्रहरीप्रति विश्वसनीयता घट्छ'

Published

सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डबारे प्रहरीले पटकपटक गरी सार्वजनिक गरेका अनुसन्धानसम्बन्धी फरकफरक विवरणले प्रहरीमाथि "विश्वसनीयतामा कमी आउन सक्ने" पूर्वप्रहरी अधिकृत र फौजदारी कानुनका जानकारले बताएका छन्।

उनीहरूका भनाइमा पछिल्ला दिनमा विभिन्न फौजदारी अपराधको अनुसन्धानबारे प्रहरीले "हतार गरेर प्रचार गर्न थालेको जस्तो" देखिन थालेको छ।

त्यसको कारण समाजका सबै पक्षबाट प्रहरीमाथि परेको "दबाव" वा प्रहरी अधिकारीबीच "जस लिने होड" हुन सक्ने एक पूर्वप्रहरी अधिकारी बताउँछन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताले चाहिँ "अनुसन्धानका क्रममा विभिन्न पाटा खुल्दै जाँदा विवरण फरक पर्न सक्ने" बताउँदै प्रहरीका गतिविधिको प्रतिरक्षा गरेका छन्।

सङ्खुवासभा घटना

गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका-१ खोला गाउँमा एकै परिवारका ६ जना व्यक्ति फरकफरक स्थानमा मृत फेला परेका थिए।

उक्त घटनामा आठ वर्षका बालक र पाँच वर्षकी बालिकाको समेत हत्या भएको पाइएको थियो।

प्रहरीका अनुसार घटनापछि जिल्ला प्रहरी कार्यालयसहित प्रदेश र केन्द्रबाट समेत प्रहरी टोली पुगेर उक्त घटनाको अनुसन्धान गरेको थियो।

घटना भएको एक सातापछि भदौ २७ गते प्रहरीले एक २५ वर्षीय युवकलाई घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गर्‍यो।

त्यस बेला प्रहरीले ती युवा एक्लैले चिर्पटले हिर्काएर पालैपालो ६ जनाको हत्या गरेको अनुसन्धानबाट खुलेको बताएको थियो।

तर सोमवार प्रहरीले उक्त घटनामा थप चारजना संलग्न रहेको बताउँदै अर्को विवरण सार्वजनिक गरेको छ।

सोमवार प्रहरीले घटनाका मुख्य योजनाकार ४७ वर्षीय अर्कै व्यक्ति भएको बताएको छ।

त्यस्तै उक्त घटनामा चिर्पटका साथै चक्कु पनि प्रहार भएको प्रहरीको भनाइ छ।

प्रहरीमाथि प्रश्न

उक्त घटनाबारे प्रहरीका फरक खाले विवरण सार्वजनिक भएपछि कतिपयले सामाजिक सञ्जालमा प्रश्न पनि उठाएका छन्।

तर नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर प्रहरीले फरक खाले विवरण सार्वजनिक गरेको नभई "अनुसन्धान हुँदै जाँदा थप तथ्यहरू आएको" बताउँछन्।

प्रहरी प्रधान कार्यालयले उक्त घटनाको अनुसन्धानमा खटिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहितका अधिकृतहरूलाई भदौ महिनाका उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत समेत गरिसकेको छ।

त्यसबारे पनि कतिपयले प्रश्न उठाइरहेका बेला प्रवक्ता कुँवरले भने, "कुनै पनि अनुसन्धान भएपछि त्यस बेला पुरस्कृत गरिएन भने त्यसको के अर्थ हुन्छ र? त्यसैले सबैलाई अनुसन्धानमा प्रेरणा मिलोस् भनेर पुरस्कृत गर्ने गरिएको हो।"

'प्रहरी दबामा र रक्षात्मक'

सङ्खुवासभाको घटना मात्र नभई पछिल्ला कैयौँ फौजदारी घटनाहरूमा प्रहरी दबावमा रहेको जस्तो देखिएको कतिपय जानकारको भनाइ छ।

त्यस्तै मध्येका एक पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल भन्छन्, "मैले कुनै घटना हुनासाथ प्रहरीमा एक किसिमको दबाव देखिरहेको छु। ... त्यसले कताकता प्रहरीलाई रक्षात्मक बनाइरहेको छ। यो राम्रो हो जस्तो लाग्दैन।"

उनले प्रहरीले एकदमै दबावको सामना गर्नुपर्‍यो भने "एकातिर जानुपर्ने अनुसन्धान अर्कोतिर जाने खतरा हुने" बताए।

उनी कुनै एउटा घटना हुनासाथ केन्द्रीय अनुसन्धान ब्यूरोदेखि प्रदेश प्रहरी र उच्च अधिकारीहरू पनि जाने क्रम बढेको देखिएको बताउँछन्।

त्यसले प्रहरी गम्भीर छ भन्ने देखाए पनि "चार/पाँच टोलीले अनुसन्धान गर्दा" राम्रो नगर्ने उनको बुझाइ छ।

कतिपय अवस्थामा प्रहरी चरम दबावमा हुने र दोषी देखाउनुपर्ने वातावरण बन्दा अनुसन्धान गलत दिशामा जान सक्ने मल्ल बताउँछन्।

उनी पछिल्ला कतिपय घटनामा "सेलिब्रेटी सिन्ड्रोम" अर्थात् "आफूले गरेर अनुसन्धान सफल भएको देखाउने प्रवृत्ति" पनि देखिएको ठान्छन्।

त्यसको कारणबारे उनी भन्छन्, "कार्यक्षमता मूल्याङ्कनका स्पष्ट आधारहरू छैनन्। त्यसले गर्दा सबैलाई भिडबाट टाउको बाहिर निकाल्नैपर्ने हुन्छ- 'मैले गरेँ, मैले गरेँ, मैले गरेँ' भन्ने र कति स-साना घटनामा त्यो तह (उच्च तह) ले टाउको निकाल्न जरुरी हुँदैन, त्यो पनि निकालेको देखिन्छ।"

यस्ता कुराले कहिलेकाहीँ प्रहरी र उच्च प्रहरी अधिकारीहरू नै "मजाकको पात्र" समेत बन्न सक्ने उनी ठान्छन्।

त्यस्तै कुनै घटनाको अनुसन्धानका लागि समय तोकेरै आदेश दिने कुराले पनि अनुसन्धान अर्कै दिशामा जान सक्ने भएकाले प्रहरी सचेत बन्नुपर्ने उनको ठम्याइ छ।

'विश्वसनीयता गुम्छ'

फौजदारी कानुनका जानकार वरिष्ठ अधिवक्ता एवम् प्राध्यापक रजितभक्त प्रधानाङ्ग प्रहरीले पछिल्ला कैयौँ फौजदारी घटनामा "प्रचार गर्न हतार गरेको" ठान्छन्।

प्रधानाङ्ग कुनै पनि अनुसन्धान पूरा नै नभई कसैलाई दोषी भनेर सार्वजनिक गर्नु नै गलत र कानुनविपरीत कार्य भन्छन्।

"यस्तो गर्न त पाइँदैन। तर प्रहरीले गरिरहेको छ," उनी भन्छन्।

कुनै पनि व्यक्तिलाई दोषी भनेर सार्वजनिक गर्नुअघि प्रहरीले ऊ पछि अदालतबाट निर्दोष साबित हुँदा पनि समाजले दोषी नै देख्न सक्छ भन्ने हेक्का राख्नुपर्ने उनको सुझाव छ।

सङ्खुवासभाको घटनामा सुरुमा एक जनालाई मुख्य योजनाकार र एक्लैले घटना गराएको भनेर सार्वजनिक गर्ने अनि फेरि अर्कै मुख्य योजनाकार र पाँच जनाले घटना गराएको भन्दा प्रहरीप्रति विश्वास घटेको उनको बुझाइ छ।

प्रधानाङ्ग भन्छन्, "हिजोसम्म एकजना मात्र भन्ने आज पाँचजना चाहिँ कुन मुखले भन्ने? यसले प्रहरीको विश्वसनीयता (क्रेडिबिलिटी) कहाँ जान्छ? यसबारे प्रहरी प्रधान कार्यालयले धेरै विचार गर्नुपर्छ।"

उनी उक्त घटनाको अनुसन्धानमा प्रहरीको लापरबाही पनि देखिएको बताउँछन्।

घटनामा एकजना मात्र संलग्न भनेर सार्वजनिक गरेपछि अन्य सन्दिग्धहरू भाग्न पनि सक्थे भन्ने कुरा नसोची प्रहरीले सुरुमा एक जनालाई सार्वजनिक गर्नु गलत भएको उनको भनाइ छ।

प्रहरी प्रवक्ता के भन्छन्?

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले चाहिँ प्रहरीको निर्णयको बचाउ गरेका छन्।

बीबीसी नेपालीसँग कुरा गर्दै उनले सङ्खुवासभाको घटनलाई जोडेर कतिपय उठाउनै नपर्ने प्रश्नहरू उठाइएको बताए।

उनले भने, "सुरुमा प्रारम्भिक अनुसन्धान गरेका बेला पाइएका तथ्यहरू सार्वजनिक गरिएको हो। पछि त्यसबारे थप जानकारी आएपछि अरू कुरा सार्वजनिक भएको हो।"

"अनुसन्धान त त्यहीँ बाटोमै गएको छ नि। अनुसन्धान अर्कोतिर गएको भए पो प्रश्न उठाउनु?"

उनले प्रारम्भिक अनुसन्धानमा सक्रिय रूपमा लागेर सफल बनाउनेलाई पुरस्कृत गरिएको र त्यो यस्तै अनुसन्धानलाई प्रेरणा मिलोस् भन्नका लागि भएको बताए।

प्रवक्ता कुँवर प्रहरीले प्रचार गर्न नखोजेको र सत्य तथ्य आएपछि सबैलाई जानकारी गराउन मात्र खोजेको बताउँछन्।