कोभिड नेपाल: थप १८ सयमा सङ्क्रमण; २७ जनाको मृत्यु

Published

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको गति स्थिर हुँदै केही घटेको देखिएको छ।

दोस्रो लहर मेको दोस्रो साता उच्च बिन्दुमा पुगेर कम हुन थालेको सङ्क्रमण जुलाईको दोस्रो सातादेखि फेरि माथि उक्लिएको थियो।

अगस्टको दोस्रो सातादेखि भने निरन्तर सङ्क्रमण दर कम हुँदै गएको तथ्याङ्कले देखाउँछ।

विगत १२ दिनको तथ्याङ्क हेर्दा परीक्षणबाट सङ्क्रमण पुष्टि हुने दर ओरालो लागेको र एकबाट अर्कोमा सर्ने आर-सङ्ख्या भारतको भन्दा कम भएको छ।

यद्यपि सङ्क्रमणका कारण मृत्यु हुने दर भने बढी नै छ। भारतमा हाल सो दर प्रति ३० लाखमा एक जना रहेको छ भने नेपालमा प्रति १० लाखमा एक जना रहेको तथ्याङ्कले देखाउँछ।

शनिवार नेपालमा थप थप १,८५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,१७६ वटा नमुना परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ३,७६७ वटाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर १४ प्रतिशत देखिन्छ।

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४० हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,६९० पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,२२२ जना सङ्क्रमणमुक्त भएका छन्।

कहाँ र कति छन् सङ्क्रमित?

अहिले देशभरि ३६,८६६ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ।

तीमध्ये ३३,८३५ जना घरमा र बाँकी संस्थागत आइसोलेसनमा छन्।

सङ्क्रमण भएर गम्भीर बिरामी भएका ६१५ जना अहिले देशभरिका विभिन्न अस्पतालका आईसीयूमा छन्। तीमध्ये १७४ जना भेन्टिलेटरमा छन्।

अहिले २० वटा जिल्ला प्रत्येकमा ५०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ।

कतिले लगाए खोप?

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शनिवार अपराह्णसम्म ४० लाख नाघेको छ।

त्यसै गरी ५० लाख बढीले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा अक्सफर्ड-आस्ट्राजेनेका, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र प्रयोग भएको छ।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने अक्सफर्ड-आस्ट्राजेनेका र भेरोसेलको दुई मात्रा लगाउनुपर्छ।