तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गण्डकीमा पृथ्वीमान गुरूङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त, यादव र पौडेल पदमुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्।
मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बीबीसीलाई बताएका थिए।
नयाँ सरकार बनेपछिको भागबन्डा अनुसार गुरुङ नेपाली काङ्ग्रेस र शेरचन माओवादी कोटाबाट नियुक्त भएको बताइएको छ।
शेरचन यसअघि गण्डकी प्रदेशमा प्रदेश प्रमुख भइसकेका हुन् भने गुरुङ कांग्रेसका चितवन जिल्ला सभापति भइसकेका व्यक्ति हुन्।
बर्खास्त र नियुक्तिको शृङ्खला
ओली सरकार गठन र तत्कालिन नेकपाको आन्तरिक विवाददेखि फेरिएको नयाँ सत्ता समिकरणसम्मको छाया प्रदेश प्रमुखका पदमा परेको विगत छ।
नेकपाको आन्तरिक विवाद चर्किरहेका बेला गत वर्ष फागुनमा नेकपा नाम विवादसम्बन्धी सर्वोच्च अदालतको एक फैसलासँगै एमाले र माओवादी एकतापूर्वको अवस्थामा फर्केका थिए।
त्यसपछि प्रदेश दुईमा तिलक परियारलाई हटाएर राजेश झालाई प्रदेश प्रमुख नियुक्त गरिएका थिए।
बैशाखमा गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मीला त्रिपाठी प्रदेश प्रमुखबाट पदमुक्त गरिए।
उनीहरूको ठाउँमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त भएका थिए।
परियार, शेरचन र त्रिपाठी तिनैजना माओवादी पृष्ठभूमिका हुन्।
पछिल्लो आमनिर्वाचन गराएको शेरबहादुर देउवाको सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रमुखहरूलाई केपी शर्मा ओलीको सरकारले २०७६ कार्तिकमा बर्खास्त गर्दै नयाँ नियुक्ति गरेको थियो।
कांग्रेसले नियुक्ति गरेका प्रमुखहरूमा गोविन्दबहादुर तुम्बाहाङ, रत्नेश्वर लाल कायस्थ, अनुराधा कोइराला, बाबुराम कुँवर, उमाकान्त झा, दुर्गा केशर खनाल र मोहनराज मल्ल थिए।
उनीहरूका ठाउँमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको सिफारिसमा गोविन्द कलौनी, अमिक शेरचन, सोमनाथ प्यासी, तिलक परियार, शर्मिला पाण्डे, विष्णु प्रसाईं र धर्मनाथप्रसाद यादव नियुक्त भएका थिए।
अन्य निर्णय यस्ता छन्
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यहरूमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले बताएका छन्।
त्यसैगरी नेपाली सेनाका रथी प्रभुराम शर्मालाई साउन २६ गतेदेखि कायम रहनेगरी कायममुकायम प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्नेगरी तोक्न समेत सिफारिस भएको उनले बताए।