तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: कुल मृतक सङ्ख्या छ हजार नाघ्यो, थप ८६ सयमा सङ्क्रमण
नेपालमा थप ८,६०७ जनामा कोरोनाभाइरस सङ्क्रमण र १७७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै कुल मृतकको सङ्ख्या छ हजार नाघेको छ। अहिलेसम्म नेपालमा ६,०२४ जनाको कोभिडका कारण मृत्यु भइसकेको छ।
मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २३,२२६ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
सो अवधिमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।
शुक्रवार काठमाण्डू जिल्लामा १,७५२ जनामा तथा भक्तपुरमा २९५ र ललितपुरमा ४०० जनामा कोभिड-१९ पुष्टि भएको हो।
केही दिनदेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ७,८९० जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभरि १,१६,१९२ जनामा सक्रिय सङ्क्रमण छ।
- के भन्छन् विज्ञ? तपाईँका प्रश्नको उत्तर
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कति चिन्ताजनक? नेपालमा भेटिएको नयाँ भेरिअन्ट के हो
- कसरी फैलिँदैछ? महामारीको दोस्रो लहरमा नेपालमा यसरी बढिरहेको छ कोभिड
- को हुन् मृतक? मृत्यु हुने पाँच हजार मानिस को हुन?
कहाँ छन् सङ्क्रमित?
देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७,६९७ जना संस्थागत आइसोलेशनमा र बाँकी जना घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डूमा २२,१९३ जना, ललितपुरमा ६,८५६ जना र भक्तपुरमा ४,८६४ जनामा सक्रिय सङ्क्रमण छ।
गम्भीर समस्या भएका १,७१६ जनालाई आईसीयूमा र ५११ जनालाई भेन्टिलेटरमा राखेर उपचार उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म ४,९७,०५२ जनामा कोभिड पुष्टि भएकोमा ३,७५,८३६ जना निको भएको तथ्याङ्क मन्त्रालयले प्रकाशित गरेको छ।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।