कोभिड नेपालः थप ८३ सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, १९० जनाको मृत्यु

Published

नेपालमा थप ८,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण र १९० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २२,०८७ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

‍अहिले काठमाण्डू जिल्लामा २,६०० जनामा तथा भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा कोभिड-१९ पुष्टि भएको हो।

केही दिनदेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,५४३ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले देशभरि १,१५,८०० जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण छ।

कहाँ छन् सङ्क्रमित?

देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७,८१४ जना संस्थागत आइसोलेशनमा र १,०८,०३८ जना घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डूमा २४,३८९ जना, ललितपुरमा ६,८९५ जना र भक्तपुरमा ४,७८३ जनामा सक्रिय सङ्क्रमण छ।

गम्भीर समस्या भएका १,७४८ जनालाई आईसीयूमा र ४९२ जनालाई भेन्टिलेटरमा राखेर उपचार उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म ४,८८,६४५ जनामा कोभिड पुष्टि भएकोमा ५,८४७ जनाको मृत्यु भइसकेको र ३,६६,९४६ जना निको भएको तथ्याङ्क मन्त्रालयले प्रकाशित गरेको छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।