कोरोना भाइरस नेपाल: थप ५,७२७ जना सङ्क्रमित, ३३ जनाको मृत्यु

Published

गएको २४ घण्टामा नेपालमा थप ५,७२७ जनाको सङ्क्रमण र ३३ जनाको मृत्यु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

यो दुवै सङ्ख्या नेपालमा हालसम्मकै दोस्रो सर्वाधिक सङ्ख्या हुन्।

सबैभन्दा बढी सङ्क्रमण गत वर्ष कार्तिक ५ गते भएको थियो जुन दिन शुक्रवारभन्दा १६ जना बढीमा सङ्क्रमण पुष्टि भएको थियो।

सर्वाधिक मृत्यु भने बिहीवार भएको थियो जुन दिन कोभिडसम्बन्धी कारणबाट ३५ जनाको मृत्यु पुष्टि भएको थियो।

शुक्रवार १५,९१६ जनामा परीक्षण गर्दा झन्डै ३६ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

अहिले नेपालमा कुल सक्रिय सङ्क्रमित ३८,८१३ जना रहेका छन्।

यो अवधिमा ९२८ जना निको भएका छन्।

काठमाण्डू उपत्यकामा मात्रै झन्डै तीन हजार

शुक्रवार सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डूका २,४०४, ललितपुरका ४१९ र भक्तपुरका १३३ जना रहेका छन्।

काठमाण्डू उपत्यकामा कुल २,९५६ जना सङ्क्रमित शुक्रवार बढेका छन्।

रुपन्देहीका ४७३, बाँकेका ४२२ र दाङका २५२ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएका अन्य जिल्लाहरूमा मोरङ (१६१), पर्सा (१५३) र चितवन (१११) रहेका छन्।

शुक्रवार सङ्क्रमण पुष्टि भएकामध्ये १३९ जना नौ वर्षभन्दा मुनिका बालबालिका रहेका छन्।

त्यस्तै ३६७ जना १० देखि १९ वर्षका, २,७६१ जना २० देखि ३९ वर्षका रहेका छन्।