सामाजिक सञ्जालमा सगरमाथा: भारतीय टिभी जी न्यूजको सामग्रीलाई महत्त्व दिनु जरुरी छ?

Published
पढ्ने समय: २ मिनेट

भारतीय टेलिभिजन च्यानल जी न्यूजले स्थलगत रिपोर्टिङ गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथा भारतले दाबी गर्नु पर्ने बताएसँगै सामाजिक सञ्जाल तरङ्गित भएको छ।

नेपालमा प्रतिनिधिसभा विगठन भई तीव्र राजनीतिक ध्रुवीकरण देखा परेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन केही दिन अघि नेपाल आइपुगेको टोली हेलिकोप्टर चार्टर गर्दै सगरमाथा क्षेत्रमा पुगेको थियो।

उक्त स्थानमा लिइएको 'पिस टु क्यामेरा'मा जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको नाम परिवर्तन गरिनुपर्ने र त्यसको अभियान नै चलाउने बताएका थिए।

पत्रकारिताका विज्ञहरूले भने यस विषयलाई महत्त्व दिने कि नदिने भन्ने विषयमा फरक-फरक मत राखेका छन्।

दोहोरिन्छन् यस्ता घटना

यसअघि पनि जी न्यूजले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूतलाई जोडेर तयार पारेको सामग्री आपत्तिजनक रहेको बताउँदै केवल टिभी सञ्चालकहरूले उक्त च्यानल सहित अन्य केहीको प्रसारणमा रोक लगाएका थिए।

पटक-पटक भारतीय सञ्चारमाध्यमहरूले प्रसारण गर्ने यस्ता विषयवस्तुका सन्दर्भमा नेपालका सञ्चारमाध्यमहरूले स्थान दिनु कत्तिको आवश्यक छ त?

त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अध्यापक कुन्दन अर्याल भन्छन्, ''भारतीय सञ्चारमाध्यमले जे गरेका छन् त्यसका विषयमा हामी चुप लागेर बस्नु हुँदैन।"

"किनभने उनीहरूसँग आफ्नो स्वर ठूलो छ भन्ने दम्भ छ। आफूले जे बोले पनि अरू चुप लागेर सुन्छन् र आफूले जे बोल्यो त्यो स्थापित हुन्छ भन्ने दम्भ छ।''

''तर यस अघि पनि भूकम्पका बेला उनीहरूले भारतलाई रक्षकका रूपमा स्थापित गर्दा 'इन्डियन मिडिया गो ब्याक होम' भन्ने अभियानले उनीहरूले आफूहरूले गलत गरेका छौँ भन्ने स्थितिसम्म पुर्‍यायो," अर्यालले भने।

"त्यसकारण यो खाले कुराहरूमा हामीले नबोलेर नजरअन्दाज गरेर हुँदैन। यो कुराको त विरोध गर्नै पर्छ।"

'प्रधानमन्त्रीको खातिरदारी' समस्या

शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल 'पत्रकारीताका लागि कहलिन नसकेको' च्यानललाई देशका प्रधानमन्त्रीले 'सरकारी निवासमा सत्कार गरी' गरिएको काम मानिसहरूलाई पाच्य नभएको र त्यसबारे चिन्ता बढी व्यक्त भएको आफ्नो बुझाइ रहेको बताउँछन्।

जी टेलिभिजनको 'चरित्र अनुसार' आफ्ना भारतीय दर्शकहरूलाई लक्षित गरेर समाचार तयार पारेको दाहालको बुझाइ छ।

''यो धेरै चिन्ताको विषय होइन। चिन्ताको विषय के हो भने ती व्यक्तिलाई त्यसो गर्ने अवसर भने हाम्रै प्रधानमन्त्रीले उपलब्ध गराए। यसमा मानिसहरूले दुख मानेका छन्,'' उनले भने।

जी टिभी आफैले स्वतन्त्र रूपमा यस्ता किसिमका सामग्री उत्पादन गरेको भए सामान्य रूपमा नजरअन्दाज गरिदिन मिल्ने तर प्रधानमन्त्रीको 'खातिरदारी'का कारण मानिसहरूले खबरदारी गर्न पाउनुपर्ने उनको धारणा छ।

"कुनै विवाद नभएको सम्पदा माथि विवाद सृजना गर्ने र त्यसमा प्रधानमन्त्री कार्यालय कारक बन्ने हैरानीको कारण हो," उनले भने।

"नेपाली सञ्चारमाध्यमहरूको मेख मार्ने हिसाबले, नेपाली सञ्चारमाध्यमहरूले प्रधानमन्त्रीलाई जहिले पनि आलोचनात्मक ढङ्गबाट हेर्‍यो भन्ने प्रधानमन्त्री पक्षधरहरूको बुझाइका कारण नेपाली मिडियालाई देखाइदिने हिसाबले भारतीय मिडियालाई ल्याएको भन्ने देखिन्छ,'' दाहालले भने।

'कुरा उठाउनु जरुरी'

भारतीय सञ्चारमाध्यमहरूले सामाग्री प्रस्तुत गर्दा आन्तरिक खपतका लागि हो कि सीमा पारीको कुरा हो भन्ने हेक्का नराख्ने कारण पटक-पटक समस्या उत्पन्न भइरहने अर्याल बताउँछन्।

पछिल्लो सामाग्री प्रसारण हुनुभन्दा केही दिनअघि मात्रै जी न्यूजले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएको थियो।

उक्त अन्तर्वार्तामा भएका कुराकानी पनि अधिकांश सञ्चारमाध्यमहरूले स्थान दिएको अवस्थामा हाल आएर तिनै माध्यमहरूले प्रसारण गरेका अन्य सामग्रीहरूबारे कुरा उठाउन जरुरी रहेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीका भूतपूर्व प्रेस सल्लाहकार समेत रहेका अर्यालले भने, "हाम्रोभन्दा उनीहरूसँग साधनस्रोत बढी भएको र उनीहरूको पहुँच समेत बढी भएको अवस्थामा हामीले विरोध गर्नै पर्छ।"

"अहिलेको संसार 'मिडियाटाइज्ड' भएकाले कहिलेकाहीँ मिडियाको चस्मा लगाएर भ्रमित पार्ने कार्य हुन्छ।"