तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: भारतमा छ जनामा देखियो नयाँ प्रकारको भाइरस
यूकेमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोनाभाइरसबाट ६ जना भारतीय पनि सङ्क्रमित भएको पुष्टि गरिएको छ।
ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए।
भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ।
यूकेसँगको विमानसेवामा रोक
भारतले गत साता नै कैयन् अन्य देशजस्तै यूकेबाट विमानसेवामार्फत् आवतजावतमा रोक लगाएको थियो।
यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्।
एक करोडभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू फेला परिसकेको भारत त्यस मामिलामा विश्वमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ।
यूकेबाट आएका यात्रुहरूलाई सबै विमानस्थलमा पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताउने गरेका छन्।
तिनमा कोरोनाभाइरस पुष्टि भएमा ती नमुनाहरूलाई सरकारी प्रयोगशालामा आनुवंशिक परीक्षण गरेर कुन प्रकारको हो भनेर पत्ता लगाइन्छ।
गत एक महिनामा यूकेबाट ३३,००० मानिस भारत आएको आँकडा छ। तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ।
क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ।
यूकेमा केही समययता सङ्क्रमण निकै तेज गतिमा फैलिरहेको भन्दै त्यहाँका अधिकारीहरूले चिन्ता व्यक्त गरिरहेका छन्
सोमवार त्यहाँ ४१,३८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३५७ जनाको ज्यान गएको थियो।
नयाँसँग डर
"यो नयाँ प्रकारको भाइरसले बरबाद पार्न सक्छ र हाम्रा स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त पारिदिन सक्छ," भारतमा सयौँ कोरोनाभाइरसका बिरामीको हेरचाह गरिसकेका सघन उपचार विशेषज्ञ डा ए फताहुद्दीनले बीबीसीलाई बताए।
नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो। केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ।
नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण अघि सारिएका छन्:
- यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ
- यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ
- प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ।
यिनै कारणहरूले गर्दा भाइरसप्रति चिन्ता र चासो बढिरहेको बीबीसीका स्वास्थ्य एवं विज्ञान संवाददाता जेम्स ग्यालहरले बताएका छन्।
तर यो नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण छैन।
साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन्।।