तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपालः महामारीका बेला आन्दोलन - होस नपुर्याए भयावह अवस्था आउने चेतावनी
अढाई लाख नेपालीलाई सङ्क्रमित गराइसकेको र झन्डै दुई हजार जनाको ज्यान लिइसकेको कोरोनाभाइरसको महामारी कायम नै रहेको बेला भिडभाड र जुलुस गर्नु खतरनाक हुनसक्ने जनस्वास्थ्यविद्हरूले चेतावनी दिएका छन्।
एक सातायता नेपाल फेरि आन्दोलनमय हुन थालेपछि उनीहरूले खबरदारी गरेका हुन्।
सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको एउटा समूह र अधिकांश विपक्षी दलहरू सडकमा ओर्लिएका छन्।
तर अहिलेको समयमा राजनीतिको साथसाथै जनस्वास्थ्यको दृष्टिकोणलाई पनि उत्तिकै ध्यान दिन जनस्वास्थ्यविद्हरूले सुझाव दिएका छन्।
नेकपाको प्रचण्ड-माधव नेपाल समूहले मङ्गलवार देशैभरि विरोध जुलुस गर्ने कार्यक्रम छ। हजारौँ कार्यकर्तालाई राजधानीसहित सबै जिल्लामा ओराल्ने उसको योजना छ।
सोमवार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि देशैभरि हजारौँको सहभागितासहित विरोध कार्यक्रम गरेको थियो।
आन्दोलनमा भौतिक दूरी
कोरोनाभाइरसबाट जोगिने मुख्य उपाय भनेको मास्कको प्रयोग र भौतिक दूरी रहेको छ। तर आन्दोलन गर्दा भौतिक दूरी कायम नहुने चिन्ता जनस्वास्थ्यविद्हरूको छ।
स्वास्थ्य मन्त्रालयका पूर्वनिमित्त सचिव सुशील प्याकुरेलको विचारमा अहिले मुख्य चिन्ता महामारीविरुद्ध आवश्यक राजनीतिक प्रतिबद्धताको कमी हो।
उनी भन्छन्, "मुख्य कुरा कोरोनालाई रोक्ने राजनीतिक प्रतिबद्धता नै भएन। पहिले-पहिले पो मिडियाहरू थिएनन् अनि जे विरोध गर्न पनि सडकमै भेला हुनुपर्थ्यो।"
"अहिले त अरू विकल्प छन् नी आफ्नो कुरा राख्नलाई। फेरि त्यसो भन्दैमा अर्को पक्षले अहिले कोही सडकमा आउँदैनन् यही हो मौका भन्ने पनि गर्नुभएन," प्याकुरेलले बताए।
जनस्वास्थ्यका जानकार समीरमणि दीक्षितले आन्दोलन भनिसकेपछि त्यसमा मानिसहरूको भिडभाड हुने र भौतिक दूरी नहुने खतरा औँल्याउँछन्।
"मैले कुनै राजनीतिक आन्दोलनमा मात्र होइन जात्रा तथा अरू भिडभाड पनि नगरौँ भन्दै आएको छु। भिडमा एक त भौतिक दूरी कायम हुनसक्दैन अर्को चिच्याएर नाराबाजी गर्दा मास्क नै लगाए पनि थुकको छिटा एकअर्कामा सर्ने सम्भावना धेरै हुन्छ," दीक्षितले भने।
के आन्दोलनकारीहरूले यस विषयमा ध्यान दिएका छन् त?
नेकपाको प्रचण्ड-नेपाल समूहका प्रवक्ता नेता नारायणकाजी श्रेष्ठ जनस्वास्थ्यको अवस्थाबारे आफूहरू जानकार रहेको बताउँछन्।
"सामान्य अवस्था हुँदो हो त जनस्वास्थ्यविद्हरूले भनेको कुरा सही छ। तर अहिले संविधानकै हत्या गरेको स्थितिमा हामी सङ्घर्ष गर्न बाध्य हुनुपर्यो," श्रेष्ठले भने।
उनले आन्दोलनमा सहभागी हुनेहरूलाई मास्क प्रयोग गर्न र सकेसम्म भौतिक दूरी कायम गर्न आह्वान गरिएको पनि बताएका छन्।
के छ सुरक्षित रहने सुझाव?
दीक्षित भन्छन्, "यस्तो बेलामा आन्दोलनमा जानु नै हुँदैन। जानै परेको खण्डमा मास्क लगाउने र दूरी कायम गर्नुपर्छ।"
प्याकुरेलको सुझाव पनि उस्तै छ।
उनले खासगरी आन्दोलनका आयोजकहरूलाई जुलुसमा मानिसहरूबीच भौतिक दूरी कायम गराउन सुझाव दिए।
"जुलुस भन्दैमा मानिसहरूको घुइँचो गराउनु पर्दैन। प्रहरी वा सेनाले मार्चपास गरेको बेला जस्तै गरी एकअर्काबीच दूरी कायम गराउन सकिन्छ," उनले भने।
जुलुसमा सहभागी सबैले स्यानिटाइजरको प्रयोग तथा मास्क लगाउनु पर्ने अनि बोल्ने पालो आएका वक्ता बाहेक अरूले मास्क नखोल्ने गरेमा उचित हुने पनि उनले बताए।
परीक्षणको परिमाणसँगसँगै अहिले पुष्टि हुनेहरूको सङ्ख्या पनि घटिरहेको छ। तर परीक्षण गराएकामध्ये अझैपनि १० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइरहेकाले नेपालमा कोरोनाभाइरसको महामारी समुदायमा खतरनाकस्तरमा कायम नै रहेको बुझ्नुपर्ने कतिपयको भनाइ छ।
देशभित्र कोरोनाभाइरसविरुद्धका खोप कहिले आइपुग्लान् भन्ने पनि ठेगान छैन।
त्यसैले जनस्वास्थ्यका दृष्टिकोणले यस्तो जटिल स्थितिमा रहेको नेपालजस्तो मुलुकमा महामारीका माझमा नाराजुलुस गर्दा होश पुर्याउन नसके भयावह अवस्था निम्तिने चेतावनी विज्ञहरूले दिएका छन्।