तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
योजना बनाउँदा कसरी महामारीले निम्त्याउने तनावको व्यवस्थापन हुन्छ
- Author, केट मोरगन
- Role, बीबीसी वर्कलाइफका लागि
- Published
मेरा दुई एकदमै निकट साथीहरूले यो वर्षको अन्तिमतिरका लागि तय गरिएको विवाह औपचारिक रूपमा पछाडिका लागि सारेका छन्।
"मलाई थाहा छ यो भनिएको समयमा हुन सकेन," म र दुलहीका अन्य निकट साथीहरूलाई सन्देश आयो।
त्यसपछि उनले "मिति परिवर्तन" को डिजिटल सन्देश पठाइन्।
वर्षको पहिलो ६ महिनासम्म हामीले कल्पना गरेजस्तै केही होला भन्ने अनुमान गर्न कोरोनाभाइरसको विश्वव्यापी महामारीले निम्त्याएको अनिश्चितताले असम्भवप्राय: थियो।
"मलाई लाग्छ हामी सबै यसबारे राम्रोसँग सचेत छौँ कि नियन्त्रणको कुरा हामीले ठानेभन्दा सायद निकै नाजुक छ," नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटीकी मनोविज्ञानकी प्राध्यापक शेभन न्यूपर्टले भनिन्।
तर भविष्यलाई नै अनिश्चित अवस्थामा राख्नु मानसिक स्वास्थ्यका लागि कठिन हुनसक्छ।
एउटा अस्पष्ट भविष्य, चिन्ता र अनिश्चितता सहन नसक्ने अवस्थाबीच डिप्रेसनसँग सम्बन्ध रहेको अध्ययनहरूले देखाएका छन्।
त्यही कारणले हालै गरिएको एउटा अध्ययन अनुसार योजनाहरू बनाउन आवश्यक छ - चाहे त्यो योजना व्यर्थै किन नहोस्।
त्यसरी योजना बनाउँदा तपाईँलाई सकारात्मक सोचमा बस्न मद्दत गर्छ र तनावबाट आत्तिन दिँदैन।
आखिरमा, योजना बनाउनु हाम्रो स्वभाव नै हो। "मानवका रूपमा भविष्यबारे सोच्ने अनौठो क्षमता हामीसँग छ," न्यूपर्ट भन्छिन्।
"हामीमात्रै त्यस्तो प्राणी हौँ जो भविष्यको योजनाका लागि दिमागको शक्ति खर्चिन्छौँ।"
परिस्थितिसँग जुध्न योजना
आफ्नो अध्ययनमा न्यूपर्टले ९ दिनसम्म २०० भन्दा बढी सहभागीले दैनिक तनाव कसरी पहिल्याउँछन् भनेर अनुगमन गरिन्।
त्यसरी अनुगमन गर्दा केही मानिसहरू तनाव नहोस् भनेर पहिला नै त्यसकालागि व्यवस्थापन गर्न सक्रिय भएको पाइयो।
त्यसको अर्थ उनीहरू भविष्यबारे सोच्छन् र त्यसै अनुसार सम्भाव्य कठिनाइ कसरी सम्हाल्ने भनेर योजना बनाउँछन्। त्यस्ता मानिसहरू तनावमा कम प्रतिक्रिया जनाउँछन्।
उक्त अध्ययन जम्मा एकसाताभन्दा थोरैका लागि मात्रै गरिएको थियो तर न्यूपर्ट भन्छिन् उनको अध्ययनको यो सिद्धान्त लामो समयको तनावका सम्बन्धमा पनि लागु हुन्छ।
भविष्यमा गर्ने कामबारे योजना गर्नु भनेको त्यसले भविष्य छ र त्यो आउँछ भन्ने कुरा स्वीकार गर्नु हो। त्यसरी स्वीकार गर्दा चाहेको कुरा गर्न सकिन्छ।
न्यूपर्ट के कुरा गर्ने भन्नेबारे छनोट गर्न सुझाउँछिन्। त्यो भनेको कपाल काट्ने वा नङ् बनाउने कामको योजना हुनसक्छ।
भित्तेपात्रोमा मितिमा चिन्ह नलगाइ पनि तपाईँले मानसिक वा भावनात्मक फाइदाहरू लिनसक्नुहुन्छ। आफूलाई गर्न मनलागेका कामहरूको सूची तयार गर्नुले मात्रै पनि फाइदा हुन्छ चाहे तपाईँलाई ती काम कहिले गरिन्छन् भन्ने नै किन थाहा नहोस्।
योजना बनाउँदा त्यसले हामीलाई कुनै कुराको पहिला नै अनुमान गर्न पनि सघाउँछ। मानसिक प्रक्रियाबारे बृहत् रूपमा स्वीकारिएको मोडल भनेको 'कगनिटिभ लोड थेरी' हो जुन सन् १९६० को दशकको अन्त्यतिर नामाकरण गरिएको थियो।
उक्त सिद्धान्तअनुसार कुनै पनि समयमा मानिसको दिमागले सीमित सूचनाको मात्रै व्यवस्थापन गर्न सक्छ। जब अनिश्चितताका कारण हामीलाई काम पूरा गर्न कठिन हुन्छ तब हामी सबै कुरा एकैपटक दिमागमा लिन्छौँ।
न्यूपर्ट भन्छिन्, "कामहरू जुन कहिल्यै गरेर सकिन्न त्यसले हामीलाई भारमात्रै थप्छ।"
"पूरा गर्न नसकिएका योजनाहरू मानिसको दिमागमा एकदमै गढेर बसेको हुन्छ," नर्थ क्यारोलाइनास्थित वेक फरेस्ट यनिभर्सिटीका सहप्राध्यापक इ.जे. म्यासिक्याम्पोले भने।
"औसतमा, जब तपाईँले मानिसहरूलाई तत्कालको र भविष्यमा गर्ने योजनाबारे लेख्न लगाउनुहुन्छ, मानिसहरू एउटा कुनै समयमा १५ थरी विभिन्न कामहरू गर्ने सोचिरहेका हुन्छन्। अवचेतन दिमागमा धेरै कुरा खेलिरहेको हुन्छ।"
किनमेल गर्नेदेखि विवाहसम्मका यी सबै समाधान हुन नसकेका उद्देश्य र विचारहरूको भार हाम्रो दिमागमा खात बनेर बस्छ।
र त्यो एकदमै बढेपछि त्यसले हडबडाहट हुने र मानिसमा चिन्ता र अनावश्यक विचारहरू निम्तिने म्यासिक्याम्पोको अध्ययनले देखाएको छ।
यो समस्या समाधानका लागि दुईवटा प्रारम्भिक तरिका छन्।
"तपाईँले गर्न चाहेका कुराहरूको व्यवस्थापन गर्न सक्नुहुन्छ वा अर्को तरिका भनेको खास योजना बनाउन सक्नुहुन्छ।"
म्यासिक्याम्पो र उनलाई अनुसन्धानमा सघाएका अर्का लेखकले काम सक्ने योजना पनि अनावश्यक विचारहरू आउन नदिनका लागि उत्तिनै प्रभावकारी हुन्छन् भनेका छन्, जति वास्तवमा काम सक्दा हुन्छ।
कामहरूलाई योजना बनाएर केवल पछाडि धकेल्नुमात्रै पनि फाइदाजनक हुनसक्छ। "काम पछाडि धकेल्ने योजना आश्चर्यजनक रूपमा प्रभावकारी छ," म्यासिक्याम्पोले भने।
"यो तपाईँका लागि वचनबद्ध एउटा सन्देश हो, जस्तो कि, 'अहिले मैले यसबारे गर्नसक्ने केही छैन त्यसैले म यसबारे अगस्ट १ तारिखसम्म चिन्ता गर्नका लागि कुर्छु'।"
योजना बनाउनुस्, जस्तोसुकै किन नहोस्
सरल भाषामा भन्दा अनिश्चयताले तनाव दिन्छ। त्यसले हामीलाई शक्तिविहीन बनेको अनुभूति गराउने अध्ययनहरूले देखाएका छन्। तर जब हामीसँग कुनै योजना हुन्छ - चाहे त्यो जतिसुकै काम नलाग्ने वा पूरा गर्न नसकिने किन नहोस् - त्यसले हामीलाई मनमा शान्ति मिल्छ।
विवाहजस्ता महत्त्वपूर्ण कामका लागि त यस्ता योजना बनाउनु अति सहायक हुने न्यूपर्टले बताइन्।
"कैयन् मानिसका निम्ति यो नै उनीहरूले योजना बनाउने सबभन्दा महत्त्वपूर्ण अवसर हुन्छ।" तर विवाहका अतिरिक्त अन्य साधारण विषयहरूमा पनि भविष्यबारे योजना बनाउँदा तनावबाट धेरै मुक्ति मिल्छ।
"केही मानिसहरूलाई तीन महिनाका लागि योजना गर्न धेरै तनाव हुन्छ," न्यूपर्ट भन्छिन्। "यदि सक्नुहुन्छ भने भोलिका लागि योजना गर्नुस्। र त्यसले पनि उत्साही बनाउँदैन भने आज अबेरका लागि योजना गर्नुस्। केही मानिसहरू चिन्ता र वितृष्णाले साँच्चै समस्यामा हुन्छन्। यदि उनीहरूले रात्रि खानाका लागि योजना गर्नसक्छन् भने त्यसमा पनि रमाइलो मान्नुपर्छ।"
मेरो साथीले अर्को वर्षको त्यही सप्ताहन्तमा विवाह गर्ने योजना गरेकी छन् र हामीले त्यो मितिमा चिन्ह लगाइसक्यौँ। तर हामीले के पनि ख्याल गरेका छौँ भने अहिले र त्यतिबेलाका बीचमा थुप्रै कुरा हुनसक्छ।
सन् २०२१ का लागि तय गरिएको उनको विवाह त्यही बेला हुनसक्छ वा उनले फेरि पनि त्यसलाई सार्नुपर्ने हुनसक्छ। अहिलेका लागि उनी तनाव मुक्त छिन् किनभने उनले कम्तीमा योजना बनाएकी छन्।