भारतमा बाढी: आसाम राज्यस्थित काजिरङ्गा निकुञ्जमा बाढीले थुप्रै गैँडाको मृत्यु

Published

उत्तरपूर्वी भारतको एक राष्ट्रिय निकुञ्जमा हालैको बाढीका कारण कम्तीमा आठवटा दुर्लभ एकसिङ्गे गैँडा सहित १०० भन्दा बढी जङ्गली जनावरको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

आसामको काजिरङ्गा निकुञ्जमा लोपोन्मुख एकसिङ्गे गैँडाको सङ्ख्या संसारमा नै सबैभन्दा धेरै रहेको छ।

यो शताब्दीको आरम्भतिर एकसिङ्गे गैंडा लोप नै हुने अवस्थामा पुगेको थियो।

तर यो वर्षको मनसुनका कारण उक्त निकुञ्जको ८५ प्रतिशत भूभाग पानीमा डुबेको बताइएको छ।

यो वर्षको बाढीले गर्दा भारत, नेपाल र बाङ्ग्लादेशमा २०० भन्दा बढी मानिसको मृत्यु हुनुको साथै लाखौँ विस्थापित भैसकेका छन्।

कम्तीमा २,४०० एकसिङ्गे गैँडा रहेको काजिरङ्गा निकुञ्ज युनेस्को विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ।

निकुञ्ज अधिकारीहरूले द हिन्दुस्तान टाइम्सलाई यो मनसुनमा आठवटा गैँडा पानीमा डुबेर मरेका र गत महिना प्राकृतिक कारणले एउटा गैँडा मरेको बताएका छन्।

त्यहाँ हरिण, अर्ना, दुम्सीजस्ता दर्जनौँ अन्य जनावरहरू पनि पानीमा डुबेर र पानीबाट बच्न सुरक्षित स्थानतर्फ जानलाग्दा गाडीको ठक्करबाट मरेका छन्।