नेपाल राजनीति: राजपाले महन्थ ठाकुरलाई अध्यक्ष अघि सार्दा 'जटिल बन्यो एकीकरण'

Published

मूल रूपमा तराईमा पकड रहेका दुई पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीचको एकीकरण 'जटिल बन्न पुगेको' एकजना नेताले बताएका छन्।

नाम खुलाउन नचाहने राजपाका ती नेताका अनुसार उनको दलले महन्थ ठाकुरलाई एकीकृत पार्टीको अध्यक्षको रूपमा समाजवादी दलका नेताहरूले स्वीकार गर्न अप्ठेरो मानेपछि त्यस्तो अवस्था बनेको हो।

राजपा अध्यक्ष मण्डलले नेता ठाकुरलाई अध्यक्षको रूपमा अघि सार्ने निर्णय शुक्रवार गरेको थियो।

'अघि बढ्न गाह्रो'

राजपाका ती नेताका भनाइमा त्यो प्रस्ताव राखेपछि समाजवादीका नेताहरूले 'बैठक बसेर छलफल गर्ने' जवाफ दिएको तर अनौपचारिक कुराकानीमा 'त्यसअनुसार अघि बढ्न नसक्ने' प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

'जनता समाजवादी पार्टी नेपाल' विधिवत रूपमा दर्ता हुन दस्तावेजहरू निर्वाचन आयोगमा बुझाउने दिन दुई साता पनि बाँकी नरहेकाले एकीकरण 'जटिल बन्न पुगेको' उनले बताए।

बीबीसीसँगको कुराकानीमा उनले भने, "उता सङ्घीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादवलाई बनाउने यता महन्थ ठाकुरलाई नामको निम्ति संयोजक बनाएर थन्काउने खालको मनस्थिति बुझिन्छ।"

समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठको भनाइबाट पनि उनको पार्टी पनि त्यस्तै किसिमको संरचनाका निम्ति इच्छुक रहेको बुझिन्छ। उनले कुन दलबाट को नेता ती जिम्मेवारीमा रहने भन्ने खुलाएनन्। बरू उनले 'समझदारी विकास हुँदै गएको' बताए।

जिम्मेवारी बाँडफाँट कसरी?

शक्ति बाँडफाँटबारे राजपाको प्रस्ताव अस्वीकार गरेको भन्ने प्रश्नमा नेता श्रेष्ठ भन्छन्, "पार्टीको शीर्षस्थ नेताको रूपमा एकजना संयोजक रहन्छन्। उनी पार्टीको सङ्घीय परिषद्, केन्द्रीय समिति र केन्द्रीय तहका समिति तथा आयोगहरूको संयोजन गर्ने भूमिकामा रहनेछन्। त्यसपछि संघीय परिषद्को अध्यक्ष र पार्टीको कार्यकारी काम गर्ने अध्यक्ष हुन्छन्। यसरी जिम्मेवारी बाडफाँट गरेर मिलाउँछौँ।"

तर उनले सुनाएको खाका अनुसारको सहमति नभइसकेको राजपा नेता शरतसिंह भण्डारीको भनाइबाट बुझिन्छ।

नेता भण्डारीले मर्यादाक्रममा नेता ठाकुर पहिलो नम्बरमा रहने सहमति भए पनि पार्टी नेतृत्वको 'मोडल'बारे सहमति हुन बाँकी रहेको बताए।

उनले भने, "कुनै पार्टी कसैमा बिलय भएको होइन, एकताको सन्देश जाने गरि नेताहरूको व्यवस्थापन गर्ने मोडलहरूमा कुराकानी भइरहेको छ। हाम्रो तर्फबाट महन्थ ठाकुर अध्यक्ष हुनुहुन्छ।"

भट्टराई र यादवको व्यवस्थापन

नेता भण्डारीका अनुसार दुईजना अध्यक्ष राख्ने कि शक्तिशाली समिति बनाएर नेताहरू त्यसमा रहने मोडलमा जाने भन्नेबारे छलफल जारी छ।

उनले दुवै पार्टीको साङ्गठनिक संरचना फरक फरक रहेकाले मिलाएर नयाँ ढाँचामा जान खोजेको जानकारी दिए।

ठाकुरसँगै बाबुराम भट्टराई वा उपेन्द्र यादवमध्ये एकजना अर्को अध्यक्ष बन्न सक्ने राजापको प्रस्ताव रहेको बताइएको छ।

तर त्यसो गर्दा मर्यादाक्रममा पहिलोमा ठाकुर रहेपछि भट्टराई वा यादवको व्यवस्थापन अप्ठेरो पर्न सक्ने समाजवादी पार्टीका नेताहरूको बुझाइ पाइन्छ।

त्यसैले उक्त पार्टीका नेताहरू आफ्नो पार्टीको पुरानै संरचना अनुसार अघि बढ्न चाहेको देखिन्छ।