तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राजपा-समाजवादी पार्टी एकताको राजनीतिक अर्थ
सरकारले राजनीतिक दल फुटाउन मिल्ने कानुनमा संशोधन गर्ने निर्णय गरेको दुई दिनपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच भएको एकीकरणले नेपाली राजनीतिमा अर्को तरङ्ग थपिदिएको छ।
बुधवार अबेर राति एकता वार्तालाई निष्कर्षमा पुर्याउँदै दुई दलले एकीकरण गरी नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति गरेका छन्।
सहमतिपत्रमा राजपा अध्यक्ष मण्डलका दुई नेता राजकिशोर यादव र अनिलकुमार झाले हस्ताक्षर गरेका छैनन्।
एकताप्रति दुई नेताको विमति हुन सक्ने अड्कलबाजी कतिपयले गरिरहँदा वार्ता प्रक्रियामा सहभागी हुँदै आएका नेता केशव झाले त्यसको खण्डन गरे।
बीबीसी नेपालीसँग कुरा गर्दै उनले नेताद्वय यादव र झा काठमाण्डूमा उपलब्ध नभएकाले सहमतिपत्रमा दुई जनाले हस्ताक्षर गर्न नसकेको बताए।
बीबीसी नेपालीका गनी अन्सारीले राजनीतिक विश्लेषक चन्द्रकिशोरसँग पछिल्लो राजनीतिक विकासक्रमबारे कुराकानी गरेका छन्।
समाजवादी पार्टी र राजपा नेपालबीचको एकताको राजनीतिक अर्थ के हो?
यो अचानक हो पनि र होइन पनि। तर अहिले जसरी उहाँहरू एक ठाउँमा आउनुभयो त्यो कसैले फुटाइदिन सक्ने कुराबाट बच्न गरिएको हो।
यो कति आन्तरिक हो र कति शुभेच्छुकहरूको सल्लाहमा भएको हो भन्ने कुरा आउने दिनहरूमा प्रस्ट हुँदै जानेछ।
दुई पार्टीबीच आवश्यकताका आधारमा अथवा बाध्यतामा एकीकरण भएको हो?
बाध्यता थियो किनभने मधेशमा जस्तो विविधता छ, बहुल विचार र समाज छ, एउटै दलले प्रतिनिधित्व गर्न सक्ने अवस्था हुँदैन।
भारतमा पनि क्षेत्रीय दलहरूको त्यो देखिएको हो, तर उनीहरूबीच गठबन्धन हुँदा राम्रो परिणाम देखिन्छ।
पछिल्ला चुनाव र आन्दोलनमा पनि गठबन्धन गरेर गएकोमा जनताले त्यसलाई मन पराएका थिए।
पार्टी एक हुँदा विभिन्न महत्त्वाकाङ्क्षा र स्वार्थहरूलाई उहाँहरूले व्यवस्थापन गर्न सक्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न टड्कारो छ किनभने यो एकताको खिचडी लामो समयदेखि पकाउने कसरत भइरहेको थियो।
त्यो वीरबलको खिचडी भइरहेको थियो तर अचानक बुधवार राति अचानक एकीकरण भएको छ। त्यसैले यो एकताको गाडी कति दिनसम्म चल्ला वा नचल्ला भन्न गाह्रो छ।
तुलनात्मक रूपमा नेपालमा तराईकेन्द्रित दलहरूको टुटफुटको तीतो इतिहास रहेको देखिन्छ। अहिले नै राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादव र अनिलकुमार झाले सहमतिमा हस्ताक्षर नगरेको अवस्था छ नि?
तराई वा मधेशका दलहरू मात्रै होइनन्, नेपालका प्रत्येक पार्टीमा टुटफुट वा विभाजन हुँदै आएको छ।
जुन कारणले विभाजन हुँदै आएको छ वा एकबद्ध हुन नसकिरहेका कारणहरूलाई व्यवस्थापन गर्न सकिएन भने अहिले मधेश धरातल भएको एउटा बलियो राष्ट्रिय दल बनाउने योजना हो त्यो सम्भव हुन सक्दैन।
अहिले नेत्री रेणुकुमारी यादवको नेतृत्वमा समाजवादी पार्टीका सातजना सांसदले छुट्टै पार्टी बनाउने चर्चा चलिरहेको छ। यो चर्चाबीच सबैलाई समेटेर लैजान एकीकृत पार्टीसामु कस्ता चुनौती छन्?
सबैभन्दा पहिलो कुरा मधेशमा रहेको विविधतालाई बुझ्न सक्नुपर्यो। मधेशमा जातिविशेष ठूलो सङ्ख्यामा छन्, तर कम सङ्ख्या भएकाहरू पनि छन्।
उनीहरूको पनि भावना बुझ्न सक्नुपर्यो। यसमा दलितहरू कहाँ छन्? उपल्लो नेतृत्वमा मुस्लिम छैनन्, पिछडा वर्गबाट छैनन्। थारूलाई जोड्न सक्नुपर्यो। महिलाहरू शीर्षस्थ नेतृत्वमा आउनुपर्यो।
भनेपछि भुइँ यथार्थमा बदलिएका अपेक्षाहरू छन् त्यसलाई उहाँहरूले कसरी व्यवस्थापन गर्नुहुन्छ।
अर्को कुरा स्वार्थहरू, वैयक्तिक चाहनाहरू, व्यक्तिगत महत्त्वाकाङ्क्षाहरू जसले गर्दा पछिल्लो एक दशकमा टुटफुटका घटना हुँदै आए। त्यसलाई उहाँहरूले कसरी व्यवस्थापन गर्नुहुन्छ र बृहत्तर हितमा कसरी लग्न सक्नुहुन्छ।
र, राष्ट्रिय गन्तव्यमा यो दलको पनि योगदानलाई उहाँहरूले कसरी स्थापित गर्न सक्नुहुन्छ ती सबै कुरामा निर्भर हुने हो।
त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा अबका दिनमा आन्दोलनका कार्यभारलाई कसरी लिने - सत्ताको राजनीतिमा जाने वा सङ्घर्षको राजनीतिमा जाने? त्यसलाई पनि उहाँहरूले प्रस्ट्याउनुपर्छ।
उसो भए यो एकीकृत पार्टीका लागि आगामी दिनहरू सहज हुनेछैनन्?
निश्चित रूपमा सहज छैनन् किनभने पात्र उही हुन्, प्रवृत्ति उही हुन्।
कुनै अमृतपान गरेर अचानक फेरिन्छन् [वा फेरिँदैनन्] भन्न गाह्रो छ।